
३ भदौ, काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) को संक्रमण उल्लेख्यरुपमा बढेसँगै अष्ट्रेलियामा खोप कार्यक्रमलाई तीव्रता दिइएको छ । बिहीबार अष्ट्रेलियामा कोरोनाका अहिलेसम्मकै धेरै दैनिक नयाँ संक्रमित फेला परेका हुन् । विशेषगरी न्यु साउथ वेल्स राज्यमा कोरोना संक्रमण तीव्र गतिमा फैलिइरहेको छ ।
बिहीबार न्यु साउथ वेल्सकी प्रिमियर ग्लाडिस बेरेजिक्लियानले कोरोना संक्रमण घटाउन खोप अभियानलाई तीव्रता दिनुको विकल्प नभएको बताएकी छिन् । आगामी साता कोरोना संक्रमणको अवस्था झन् खराब हुने उनको भनाइ छ । उनले धेरै मानिसले कोरोना खोप लगाए जनजीवन सहज हुने बताएकी छिन् ।
बिहीबार अष्ट्रेलियामा कोरोनाका ७५४ नयाँ संक्रमित फेला वरेका थिए । जसमध्ये न्यु साउथ वेल्समा मात्र ६८१ नयाँ संक्रमित फेला परेका हुन् । सिड्नीको लकडाउन हटाउने तयारी चलिरहेको अवस्थामा मानिसहरुलाई सुरक्षित बनाउन पनि खोप अभियानलाई तीव्रता दिन लागिएको हो ।
यद्यपि सिड्नीको लकडाउन १६ वर्षभन्दा माथिको उमेर समुहका ७० प्रतिशतले खोप नलगाउँदासम्म लकडाउन जारी रहन सक्ने अधिकारीहरुले बताएका छन् । यो लक्ष्य अक्टोबरको अन्तिममा मात्र हासिल हुन सक्ने अपेक्षा छ ।
अहिलेसम्म न्यु साउथ वेल्सका २८.५ प्रतिशतले पूरा डोज खोप लगाइसकेका छन् । जबकि ५२ प्रतिशतले कम्तीमा एक डोज खोप लगाएका छन् ।
एजेन्सीहरुको सहयोगमा
प्रतिक्रिया 4