+
+
Shares

कांग्रेसको पौडेल पक्षका जिल्ला सभापतिहरु आजबाट अनशनमा

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ ९ गते ९:२६

९ भदौ, काठमाडौं । नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका जिल्ला सभापतिहरु अनशनमा बस्ने भएका छन् । क्रियाशील सदस्यको नामावली सार्वजनिक गर्नुपर्ने लगायतका तीन बुँदे माग राख्दै बुधबारदेखि जिल्ला सभापतिहरुले २४ घण्टे रिले अनशन सुरु गर्न लागेका हुन् ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा मंगलबार धर्नामा बसेका जिल्ला सभापतिहरुले पार्टीलाई थप दबाब दिन रिले अनशन सुरु गर्न लागेको नुवाकोट जिल्लाका सभापति जगदिश्वर नरसिंह केसीले जानकारी दिए ।

‘हिजो धर्ना दियौं, अब हामी आजदेखि २४ घण्टे रिले अनशनमा बस्छौं,’ केसीले अनलाइनखबरसँग भने, ‘पार्टीले हाम्रा मागको सुनुवाइमा ध्यान दिएको पाएनौं । त्यसैले अनशन बस्ने निर्णय गरेका हौं ।’

केसीका अनुसार बुधबार तीन जिल्ला सभापति अनशनमा बस्नेछन् । नुवाकोट जिल्ला सभापति केसीसहित काभ्रेका मधु आचार्य र धादिङ जिल्ला सभापति रमेश धमला पहिलो दिन रिले अनशनमा बस्ने छन् ।

प्रत्येक दिन नयाँ तीन जिल्ला सभापति अनशनमा बस्ने केसीले जानकारी दिए । ‘जबसम्म हाम्रा मागबारे सम्बोधन हुँदैन, तबसम्म अनशन जारी रहन्छ,’ सभापति केसीले भने, ‘यो जिल्ला सभापतिको माग होइन, देशभरका क्रियाशील सदस्यको भावनाको प्रतिनिधित्व हामीले गरेका हौं ।’

कांग्रेसले १४ औं महाधिवेशन मंसिर ९ देखि १३ सम्म गर्ने गरी कार्यतालिका सार्वजनिक गरिसकेको । वडा अधिवेशन आउन १० दिन पनि बाँकी नरहेका बेला निर्वाचन समितिले क्रियाशील सदस्यताको अन्तिम सूची पाएको छैन । पार्टी सभापति शेरबहादुर देउवाले सदस्यता सूची निर्वाचन समितिलाई बुझाएपछि नामावली सार्वजनिक गर्ने तयारी छ । कांग्रेसले यसपटक वेबसाइटमै सदस्यता इन्ट्री, उजुरी दर्ता गरेको थियो भने नामावली सार्वजनिक पनि वेबसाइटमै गर्ने तयारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?