+
+

अर्बपति मन्त्री : करोडौंको शेयर, जग्गैजग्गा, घरैघर !

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ ९ गते १९:१६

९ भदौ, पोखरा । विश्वप्रसिद्ध पत्रिका फोर्ब्सले सार्वजनिक गर्ने विश्वका डलर अर्बपतिहरुको सूचीमा नेपालका एक जना विनोद चौधरी मात्र छन् । नेपालमा पनि धेरै अर्बपतिहरु भएको चर्चा हुने गर्छ । त्यस्तै अर्बपति राजनीति क्षेत्रमै भेटिएका छन् ।

गण्डकी प्रदेशका मन्त्रीले बुधबार सार्वजनिक गरेको सम्पत्ति विवरण अनुसार कानुन, सञ्चार तथा प्रदेश सभा मामिला मन्त्री विन्दुकुमार थापा पनि अर्बपति हुन् । पोखराका घरजग्गा व्यवसायी थापाको पोखरा महानगरको प्राइम लोकेसन नयाँबजार, लेकसाइड र महेन्द्र पुलमा ६ वटा घर छन् । उनले करोडौं रुपैयाँ खर्चिएर नयाँबजारमै पुरानो शैलीको घर बनाएका छन् ।

थापाको पोखरामा ३ वटा होटल तथा रिसोर्ट र २ वटा ब्यापारिक भवन रहेका छन् । उनले पोखरामा पोखरा बुटिक होटल प्रालि, बगैंचा रिसोर्ट र रोयल हिमालयन रिसोर्ट प्रालि सञ्चालन गर्छन् । त्यस्तै सिटी ट्रेड मल, गण्डकी ट्रेड हाउस, अंशुभरा स्क्वायर प्रालिलगायतका व्यापारिक भवन पनि उनकै नाममा छ । पोखराकै ठूलो मल मध्यमा पर्ने पोखरा ट्रेड मलमा पनि उनको लगानी छ ।

पोखरा उद्योग वाणिज्य संघका पूर्व अध्यक्षसमेत रहेका थापा विभिन्न बैंक तथा वित्तीय संस्थामा लगानी गरेका छन् । मेगा बैंकसँग मर्ज हुनु पहिले थापा पोखराको विश्व विकास बैंकका अध्यक्षसमेत थिए । थापा मेगा बैंकको संस्थापक शेयरधनी पनि हुन् ।

थापाको मेगा बैंकको ४ लाख, ६८ हजार ५६ कित्ता, सेन्चुरी कमर्सियल बैंकको ९१ हजार ३ सय ६७, सिद्धार्थ बैंकको ४३ हजार ७ सय ७८, लुम्बिनी विकास बैंकको ५० हजार ९ सय ९ कित्ता शेयर छ ।

यसैगरी मेगामै श्रीमती मनलक्ष्मी थापाको नाममा ५० हजार, राधा लक्ष्मी थापा क्षेत्रीको नाममा २७ हजार ३ सय ८१ र छोरा सौगात थापाको नाममा २६ हजार १ सय १६ कित्ता विभिन्न बैंकको शेयर छ ।

थापाले अधिकांश कारोबार श्रीमतीको नामबाट गर्ने गरेका छन् । उनको छोरा सौगात थापाको नाममा पनि व्यवसाय तथा जग्गा रहेको छ । सम्पत्ति विवरणमा थापाको पोखराका विभिन्न ठाउँमा १ सय १८ कित्ता जग्गा रहेको देखिएको छ ।

‘अटो मोबाइल र रियल स्टेट मेरो पुरानो व्यवसाय हो,’ मन्त्री थापाले भने, ‘मल बैंक, होटल, रिसोर्टमा लगानी गरेको छु ।’

थापाले सार्वजनिक गरेको सम्पत्ति विवरण अनुसार ९० तोला सुन, १५ तोला हिरा र ५० तोला चाँदी उनीसँग छ । थापासँग २ करोड २५ लाख मूल्यका २ गाडी छन् । थापाले विभिन्न बैंकबाट करिब ३१ करोड रुपैयाँ ऋण लिएका छन् ।

राष्ट्र बैंकको जागिर छाडेर अटो क्षेत्र हुँदै रियल स्टेट र विभिन्न व्यवसायबाट प्रशस्त सम्पत्ति कमाएका थापा उद्योग वाणिज्य संघको अध्यक्षको कार्यकाल सकिएपछि २०७३ सालबाट नेपाली कांग्रेसमा सक्रियता बढाएका थिए । पोखरा महानगरपालिकाको मेयर दाबी गरेका थापाले प्रदेश सभाको टिकट हात पारेका थिए ।

कास्की क्षेत्र नम्बर २ (ख)मा माओवादीका प्रभावशाली नेतामै पर्ने राजकाजी गुरुङ ‘करण’लाई हराउँदै थापा कास्कीमा कांग्रेसबाट जित्ने एकमात्र सांसद बने । त्यसपछि झन् थापाको राजनीतिमा पनि प्रभाव थपिएको थियो ।

तनहुँका पाका कांग्रेस नेता डोबाटे विक मन्त्री बन्ने निश्चित भए पनि उनको सट्टा विन्दुलाई मन्त्री बनाएको भनी कांग्रेसको आलोचना भएको थियो ।

हेर्नुहोस्, थापाको सम्पत्ति विवरण

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?