+
+

‘गरिखानलाई सीपमूलक पढ्नु’– डा. विद्यानाथ कोइराला, शिक्षाविद्

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ १० गते ११:०६
तस्वीर : सिटिइभिटी

केही वर्ष अघिसम्म एसईई सकिएपछि विद्यार्थीहरु उच्च मावि कहाँ र के विषय पढ्ने भन्ने हुन्थ्यो । प्लस टुलाई विद्यार्थीहरुको करियरको प्रवेश विन्दुको रुपमा मानिन्थ्यो । त्यही अनुसार ११ कक्षादेखि नै उनीहरु संकाय अनुसार विषय लिएर पढ्थे ।

तर नेपाल सरकारले कक्षा ११ र १२ लाई पनि माध्यमिक तह बनाएपछि गत वर्षदेखि नयाँ पाठ्यक्रम लागू गरेको छ । पाठ्यक्रम अहिले अनिवार्य विषयहरुमा नेपाली, अंग्रेजी, गणित, सामाजिक अध्ययन तथा जीवनोपयोगी शिक्षा अरु सबै विषयहरु ऐच्छिक प्रथम, ऐच्छिक द्वितीय र ऐच्छिक तृतीय छनौट गरेर पढ्न सक्ने छन् ।

अब विद्यार्थीले कसरी पढाइ रोज्न सक्नेछन् भनेर शिक्षाविद् डा.विद्यानाथ कोइरालासँग अनलाइनखबरका लागि नुनुता राईले  गरेकाे कुराकानी :

विद्यार्थीले संकाय रोजेर जान पाउने अवस्था छैन अब कसरी पढ्दा ठीक होला ?

हो । तर शिक्षा मन्त्रालयले भने जस्तो अहिले पनि साहुजीहरुले मानेका छन् जस्तो मलाई लागेको छैन । पुरानै शैली अर्थात् संकाय अनुसार नै पढाइरहेका छन् जस्तो लागेको छ ।

अब विद्यार्थीले जे पढ्दा पनि खासै फरक पर्छ जस्तो लाग्दैन । एक त जागिरको कटौती भयो । अर्को कोरोनाको कुरा भयो । त्यसले गर्दा जागिरसँग पढाइको सोझो सम्बन्ध हुन्छ भन्ने हिजोको संकथन अब काम नलाग्ने भयो । त्यसले गर्दा विद्यार्थीले आफूले इच्छाएको विषय पढ्दा हुन्छ । त्यसैले अब जे पढे पनि फरक पर्ने देखिएन ।

फेरि पनि ऐच्छिक विषय रोज्नको लागि सुझाव त दिन सकिन्छ होला नि ?

विद्यालयले दिएको अंकलाई आधार मानेर उनीहरुको क्षमता यकिन गर्न सक्ने अवस्था छैन । कतिपय विद्यालयले अभिभावकको दबाबमा, कतिपय विद्यालयले विद्यार्थीको दबाबमा र कतिपय विद्यालयले आफ्नै रहरमा अंक दिएको पाइन्छ । त्यस कारण त्यहाँ विश्वसनीयताको प्रश्न आयो । त्यसैले तपाईंको यत्ति अंक आएको छ त्यसको आधारमा तपाईं यो विषय पढ्नुहोस् भन्न सकिने अवस्था छैन ।

त्यसो भए अब विद्यार्थीले आफूलाई रहर लागेको विषय छनौट गर्नुपर्यो ?

हो । अब विद्यार्थी आफैंले रहर लागेको विषय पढ्नुपर्छ । त्यो रहर लागेको विषय अनुसार विद्यार्थीले रोज्न पाउने अवसर छ । किनभने अहिलेको पाठ्यक्रम अनुसार विद्यार्थीले चाहेको विषय पढ्न पाउँछ । दुई वटा मानविकीको दुई वटा व्यवस्थापनको र दुई वटा विज्ञानको विषय पढ्न चाहन्छु कत्ति क्रेडिट आवर लिनुपर्छ त्यत्ति क्रेडिट आवर लिन्छु भन्न पाउँछ । त्यो पाइने भनेपछि विद्यार्थीलाई जे पढे पनि भयो । कुनै विद्यार्थीले अनिवार्य बाहेकको अरु जुन विषय पढ्छु भने पनि पायो । त्यसैले रहर लागेको विषय पढ्नुपर्छ ।

अहिलेको पाठ्यक्रम ठीक छ ?

विद्यार्थीले आफूले चाहेको विषय पढ्न पाउनु राम्रो हो । त्यसले दिने रिजल्ट पनि राम्रो आउँछ । एउटा चाहिं के समस्या आउन सक्छ भने मेडिकल क्षेत्रमा जान नसक्ने समस्या रहन्छ ।

त्यसको लागि विश्वविद्यालयले तिमी मेडिकल क्षेत्रमा जान चाहन्छौ भने विज्ञानको यो विषय पढ्नैपर्छ अथवा यो विषयमा यत्ति क्रेडिट आवर दिनै पर्छ भन्न सक्छन् ।

भनेपछि अहिलेको माध्यमिक शिक्षाले जागिरसँग जोड्दैन ?

अहिले पनि धेरै वटा विद्यालयहरुले संकायको साइनबोर्ड फालेका छैनन् । त्यसकारण उनीहरुले मानविकी, व्यवस्थापन भनेर संकाय अनुसार नै पढाइरहेका छन् । त्यो स्थितिमा रहर लाग्ने विषय पढ भन्ने हो ।

त्यसैले त्यहाँ जागिर छैन जागिरका निम्ति सीप सिक्ने किसिमको पढ भन्ने हो । सीप कता सिक्ने भन्दा एउटा तरिका अनलाइन, युट्युवबाट पनि सिक्न सक्ने अवस्था छ । अन्तर्राष्ट्रिय जगतका सीपमूलक कोर्षहरु अहिले अनलाइनमा छ । सीटीईभीटीका पनि कतिपय कोर्षहरु अनलाइनमा गएको छ ।

त्यसैले गरिखानलाई सीप अनलाइनमा सिक्ने, पढिखानलाई जे रहर लाग्छ त्यही पढ्ने । यो क्याम्पस, त्यो क्याम्पस दौडादौड गरेर भन्दा पनि आफूलाई पायक पर्ने विद्यालयमा जाने ।

के चाहिं भन्न सकिन्छ भने आफ्नो पहुँचमा प्रविधिमा छ भने प्रविधियुक्त स्कूल खोजेर पढ्न सकिन्छ । पहुँचमा छैन भने किन महँगोमा जाने भन्ने हो । अहिलेको सुझाव यही हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?