+
+

हात्तीको बथान भारत नफकिँदा झापाका बासिन्दा त्रासमा

रासस रासस
२०७८ भदौ १३ गते १४:२२
फाइल तस्वीर

१३ भदौ, झापा । भारतबाट नेपाल पसेका २० जंगली हात्ती एक महिनादेखि नेपालको जंगलमा डुलिरहेका कारण झापाका बासिन्दा त्रासमा छन् । सीमामा लगाइएको विद्युतीय तारबार नाघेर गत साउन १३ गते बाहुनडाँगी गौंडा हुँदै भित्रिएका ती हात्ती लामो समय यहीं रहेकाले स्थानीयबासीमा त्रास सिर्जना भएको हो ।

मानव हात्ती द्वन्द्व न्यूनीकरण अभियानकर्मी शंकर लुइँटेलका अनुसार भारतको सुकुना वन क्षेत्रबाट मेची नदी तरेर हात्तीको बथान आहारको खोजीमा बर्सेनी नेपाल पस्ने गर्दथे । नेपालले बाहुनडाँगीको तिरिङदेखि काँकरभिट्टासम्म १८ किलोमिटर सीमा क्षेत्रमा विद्युतीय तारबार निर्माण गरेको सात वर्षपछि  हात्तीको बथान नेपाल पसेको यो पहिलो पटक हो ।

हात्तीको प्रवेशविन्दु बाहुनडाँगीमा दुई दशकदेखि क्रियाशील लुइँटेलका अनुसार २०७१ सालयता हात्ती नेपाल पसेका थिएनन् । यसअघि नेपाल पसेका हात्ती बढीमा चार दिनमै भारततिरै फर्किन्थे । ‘यसपालि एक महिना भइसक्यो, हात्तीको बथान भारततिर फर्किएको छैन,’ उनी भन्छन्, ‘किन फर्किएनन् भन्ने नयाँ खोजको विषय भएको छ । कतै यिनीहरु नेपालतिरै बस्न लागेका त होइनन् भन्ने प्रश्न पनि उब्जिएको छ ।’

अभियानकर्मी लुइँटेलका अनुसार २० मध्ये १८ एउटै झुण्डमा डुल्ने गरेका र दुई दाह्रेहात्ती भने अलग्गै छन् । बथानबाट लखेटिएका हात्तीलाई ‘मालजोरिया’ भन्ने गरिन्छ । ती दुई हात्ती बथानको छेउछाउ नै डुल्ने गरेका छन् । हाल झापामा १३ रैथाने हात्ती रहेको डिभिजन वन कार्यालयले जनाएको छ । ती हात्ती पनि कुनै बेला यसरी नै भारतबाट पसेर यतै बसेको हुनसक्ने लुइँटेलको अनुमान छ ।

हालै भित्रिएका हात्तीको बथान उत्तरी झापाका मेचीनगर, अर्जुनधारा र कन्काईको वन क्षेत्रमा डुलिरहेका छन् । ती वन क्षेत्रमा हात्तीले रुचाउने जंगली अठिया केरा र बाँसको तामाजस्ता आहारा प्रशस्त मात्रामा छ ।

नयाँ बथानले अहिलेसम्म मानवीय क्षति नगरे पनि कन्काईको सुकेडाँगीमा एउटा घरपालुवा जनावर मरेको थियो ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?