
१३ भदौ, विराटनगर । विराटनगरका २३ वर्षका अजय पोदारले पढाइ छाडेर एउटा पसलमा काम गर्दै थिए । तर पसलले बैंक खातामा तलब दिने भनेपछि उनले जागिर छाड्नुपर्यो ।
‘तलब बैंकमा हाल्ने भएपछि जागिर छुट्यो,’ उनले भने, ‘नागरिकता बनेको छैन, नागरिकता नभएपछि बैंकले खाता खोल्दैन ।’ पछिल्लो समय आफू बेरोजगार भएको उनले बताए ।
अजयका बुबाआमाले जन्मका आधारमा नागरिकता लिएका हुन् । त्यसैले अजयको नागरिकता बनेको छैन । उनले भने ‘मोबाइलको सीम पनि आफ्नो नामको चलाउन पाइदैन ।’ उनले चाडो नागरिकता प्राप्त गर्ने बातावरण मिलाइदिन आग्रह गरे ।
विराटनगरका अर्का युवक सागर विश्वास पनि नागरिकता नभएका कारण छटपटाइरहेका छन्। आमाको नामबाट नागरिकता नबनेका कारण दुःख झेल्नुपरेको गुनासो गर्छन ।
जन्मसिद्धका आधारमा नागरिकताका लिएका अभिभावकका छोराछोरीहरुले नागरिकता नपाएपछि नागरिकता पीडित संघर्ष समिति गठन गरेका छन् । समितिका अध्यक्षसमेत रहेका पौद्दार विराटनगरमा जन्मसिद्धका आधारमा नागरिकता पाएका तीन हजार पाँच सय बढी अभिभावकका सन्तानले नागरिकता नपाएको बताउँछन् ।
उनीहरुले नागरिकता माग गर्दै प्रदर्शन गरेका छन् । संसदमा विचाराधीन रहेको नागरिकता विधेयक पारित नहुँदा आफूहरु अनागरिक रहनुपरेको भन्दै आइतबार जिल्ला प्रशासन कार्यालय मोरङ अगाडि प्रदर्शन गरेका हुन् ।
प्रदर्शनपछि मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलालाई ज्ञापन पत्र पनि बुझाएका छन् । ज्ञापनपत्रमा नागरिकता विधेयक तत्काल पारित गर्न पनि माग गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय अगाडि हामीले नागरिकता कहिले पाउने ? हाम्रो बुवाआमा नेपालका नागरिक हामी चैं कहाँको नागरिक ? भन्दै प्रश्न गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया 4