
१४ भदौ, काठमाडौं । विश्वकै दोश्रो अग्लो बन्जी सञ्चालन गरिरहेको द क्लिफ प्रालिले आफ्नै रिसोर्ट परिसरमा निर्माण गरेको पिङ सञ्चालनमा ल्याएको छ । यसलाई कम्पनीले ‘पारिवारिक पिङ’ नाम दिएको छ । बन्जीका लागि कालीगण्डकी नदिको खोँचमा निर्माण भएको पर्वतको कुश्मा र बाग्लुङको बलेवा जोड्ने पुलको उचाइ २ सय २८ मिटर छ । सोभन्दा माथि पिङ बनाइएको हो । जमिनबाट १६ मिटर अग्लो बनाइएको पिङमा परिवार एकसाथ बसेर मज्जा लिन सकिन्छ ।
अधिकतम ३ सय ५० किलो क्षमता रहेको पिङ खेल्न प्रति व्यक्ति २ सय ५० रुपैयाँ तिर्नुपर्ने गरी तोकिएको छ । पिङ सञ्चालनमा सुरक्षा सावधानीको उच्च सतर्कता अपनाइने द क्लिफ प्रालिका अध्यक्ष राजु कार्कीले बताए । स्टिल कोर केबलको प्रयोग गरिएको र दक्ष प्राविधिकबाट डिजाइन गरी निर्माण गरिएको पिङ नेपालकै नमुना पिङ बनेको कार्कीको दाबी छ ।
बिश्वकै अग्लो स्विङ र स्काई साइक्लीङ समेत निर्माण गरेको कम्पनीले नेपालमै पहिलोपटक स्काइ चियर समेत सञ्चालनमा ल्याएको हो । द क्लिफको गुलेली पिङ र हाइ रोप स्टेसन पनि अहिले युवापुस्ता माझ लोकप्रिय छन् । उक्त क्षेत्रलाई एड्भेन्चर हबका रुपमा विकास गर्ने योजना भएको र भविष्यमा अन्य गतिविधि समेत थपिने कार्कीले बताए ।
प्रतिक्रिया 4