+
+

एमाले फुटेको होइन, हामीले विद्रोह गरेका हौं : झलनाथ खनाल

कम्युनिस्ट सरकार ढल्यो भनेर गोहीको आँसु बगाउन जरुरी छैन

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ १४ गते १६:३७
दिल्लीबाट फर्किएपछि त्रिभुवन विमानस्थलमा पूर्वप्रधानमन्त्री झलनाथ खनाल र नेकपा एकीकृत समाजवादीका नेताहरु । तस्वीर : आर्यन धिमाल/अनलाइनखबर

१४ भदौ, काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीका वरिष्ठ नेता झलनाथ खनालले नेकपा एमाले फुटेको नभई आफूहरुले विद्रोह गरेको बताएका छन् ।

एमालेको नवौं महाधिवेशनपछि अहंकारी गुटले नेतृत्व कब्जा गरेको र अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई दक्षिणपन्थी अवसरवाद, अहंकारवाद, व्यक्तिवादमा लगेकाले विद्रोह गर्नुपरेको उनले बताए ।

भारतमा उपचार गरेर सोमबार स्वदेश फर्किएका नेता खनालले त्रिभुवन विमानस्थलमा भने, ‘कम्युनिस्ट आन्दोलन विर्सजनमा जाने खतरा भएकाले विद्रोह गर्नुपरेको हो । यो विद्रोह नवनिर्माणका निम्ति हो ।’

ओलीको चर्को आलोचना गरेका उनले एमालेको नवौं महाधिवेशनसम्म आफूहरुले विकास गरेको क्रन्तिकारी कार्यदिशा, नीति र सिद्धान्तलाई पुनर्स्थापित गर्न जरुरी भएको बताए । त्यसका लागि एमालेमै बसेर अन्तर संघर्ष गरेपनि जब्बर भएर बसेको दक्षिणपन्थी अवसरवाद, गुटवाद र व्यक्तिवादले नदिएको उनले बताए ।

खनालले भने, ‘कम्युनिस्ट पार्टीको सरकार ढल्यो भनेर गोहीको आँसु बगाउन कुनै जरुरी छैन । कम्युनिस्ट पार्टीको नाममा बद्नाम सरकार थियो, त्यो ढल्यो ।’

गोहीको आँसु झार्नुपर्दैन

पूर्वप्रधानमन्त्री खनालले उपचारका लागि भारत जाँदा भारी मन लिएर गएको आफू जोशिलो भएर फर्किएको बताए । आफू उपचारका क्रममा रहँदा सर्वोच्च अदालतले (संसद पुनर्स्थापना र शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने) ऐतिहासिक फैसला गरेको उनले बताए ।

यसले लोकतन्त्र, संसद र संविधानको रक्षा भएको भन्दै उनले भने, ‘केपी ओलीको सरकार आफैंमा निरंकुश थियो । त्यो सरकार ढल्नु भनेको निरंकुशताको पराजय हो । दक्षिणपन्थी अवसरवाद, अहंकार, व्यक्तिवादको पराजय हो ।’

खनालले अघि भने, ‘कम्युनिस्ट पार्टीको सरकार ढल्यो भनेर गोहीको आँसु बगाउन कुनै जरुरी छैन । कम्युनिस्ट पार्टीको नाममा बद्नाम सरकार थियो, त्यो ढल्यो ।’

उनले अब बाम लोकतान्त्रिक शक्तिको गठबन्धनबाट अगाडि बढ्नुपर्नेमा जोड दिएका छन् ।

यो नाफाको जीवन हो

स्वास्थ्यमा समस्या भएपछि २ असारमा भारत गएका खनालको एपोलो अस्पतालमा मिर्गौला प्रत्यारोपण गरिएको थियो । खनाललाई उनकी पत्नीकी दिदीकी छोरी मेरिना चित्रकारले मिर्गौला दिएकी थिइन् । मिर्गौला प्रत्यारोपणपछि आफूले पहिले भन्दा पनि ताजा महसुस गरेको खनालले बताए ।

एकीकृत समाजवादीका वरिष्ठ नेता खनालले भने, ‘पछिल्लो सर्जरीपछि विल्कुलै नयाँ जीवन प्राप्त गरेको छु, यो मेरो जीवन नाफाको जीवन हो, बोनसको जीवन हो । सास रहुन्जेल, देश, राष्ट्रियता, कम्युनिस्ट आन्दोलनको विकास, विस्तार र सुदृढिकरणमा लगाउँछु ।’ उनले कार्यकारी पदमा भने कुनै दाबी नगर्ने बताएका छन् ।

एमालेमा ७० वर्षको उमेर हद ल्याउने मुख्य नेता आफू भएको स्मरण गर्दै खनालले भने, ‘७१ वर्ष पार गरिसकेँ । अब कुनै पनि कार्यकारी पदमा मेरो दाबी रहँदैन ।’

स्वागतमा को को पुगे विमानस्थल ?

सोमबार अपरान्ह काठमाडौंको त्रिभुवन विमानस्थलमा अवतरण गरेका पूर्वप्रधानमन्त्री खनाललाई स्वागत गर्न नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, बेदुराम भुसाल, मुकुन्द न्यौपाने, प्रमेश हमाल, राजेन्द्र पाण्डेलगायतका नेताहरु पुगेका थिए ।

विमानस्थलबाट बाहिरिँदा खनाल ह्वील चेयरमा बसेका थिए । विमानस्थलमा खनालका तर्फबाट एकीकृत समाजवादीका स्थायी कमिटी सदस्य प्रमेश हमालले विज्ञप्ति वाचन गरेका थिए । पछि खनालले ह्वीलचेयरमै बसेर सम्बोधन गरेका थिए ।

खनालले आफ्नो उपचारमा सहयोग गरेकामा तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओली र अर्थमन्त्री विष्णु पौडेल, हालका प्रधानमन्त्री शेरबहादुर देउवा, माधवकुमार नेपाल र सत्तारुढ गठबन्धनका नेताहरुलाई धन्यवाद दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?