+
+

विराटनगरको खटयात्रा आज, प्रदेशका तीन जिल्लामा सार्वजनिक विदा

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ १५ गते ९:१९

१५ भदौ, विराटनगर । कृष्ण जन्माष्टमीको भोलिपल्ट निकालिने राधाकृष्ण खटयात्रा आज विराटनगरमा निकालिंदैछ । खटयात्रा मनाउनका लागि प्रदेश १ सरकारले झापा, मोरङ र सुनसरी जिल्लामा सार्वजनिक विदा दिएको छ ।

विराटनगरको पानीटंकी चोकस्थित राधाकृष्ण मन्दिर परिसरबाट वि.सं. १९८८ बाट खटयात्रा सुरु गरिएको थियो । २०२४ सालबाट भने रथयात्रा सुरु गरिएको थियो । रथसँगै खटलाई पनि बजार परिक्रमा गराउने परम्परा छ । तर कोरोना महामारीका कारण यो वर्ष खटयात्रा मात्रै गरिने आयोजक समितिका अध्यक्ष बाबुराजा ओझाले जानकारी दिए ।

कोरोना महामारीका कारण गत वर्ष पनि खटयात्रा मात्रै गरिएको थियो । यो वर्ष पनि रथयात्रा गर्दा जोखिम हुने भएकाले खटयात्रा निकाल्ने निर्णय भएको ओझाले बताए ।

राधाकृष्ण युगल जोडीको मूर्तिलाई खटमा राखेर तीनपैनी चोक, ट्राफिक चोक, रोडशेष चोक, महेन्द्र चोक, बरगाछी र राजवंशी चोकबाट पुष्पलाल चोक हुँदै मन्दिरमा फर्किएर यात्रा समापन हुनेछ । यसअघि मन्दिर परिसरबाट निस्कने रथ ट्राफिक चोक, महेन्द्र चोकबाट बरगाछी, पानीटङ्की हुँदै मन्दिर परिसरमा पुगेर समापन हुने गरेको थियो  ।

रथयात्रामा नेपालसहित भारतका विभिन्न स्थानबाट पनि दर्शनार्थी आउने गरेका थिए । विराटनगरको इतिहास र धार्मिक एवं सांस्कृतिक परिवेशसँग जोडिएको रथयात्रा कोरोना महामारीका कारण परम्पराको निरन्तरताका लागि खटयात्रामा सीमित गर्नु परेको ओझाले बताए  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?