+
+

प्रदेश १ मा एकीकृत समाजवादीका १० सांसद, नेताहरु भन्छन् : यो संख्या घट्दैन

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ १५ गते ९:३७

१५ भदौ, विराटनगर । नेकपा विभाजनका कारण नवनियुक्त मुख्यमन्त्री भीम आचार्य नेतृत्वको प्रदेश १ सरकार अल्पमतमा छ । गत बिहीबार गठन भएको सरकार अल्पमतमा परेपछि सरकार टिकाउन र ढाल्नका लागि सांसदहरु तानातानको अवस्थामा छन् ।

सत्ता पक्षले माधव नेपाल पक्षका सांसदलाई आफ्नो पक्षमा ल्याउन मन्त्री बनाउने र पार्टीमा जिम्मेवारी दिने ‘अफर’ गरेको छ । पछिल्लो समय माधव नेपालले नेतृत्व गरेको नेकपा एकीकृत समाजवादी पार्टीको पक्षका १० जना सांसद खुलेका छन् । ती सांसदहरू एमालेमा नफर्किने प्रदेशसभा सदस्य उपेन्द्रप्रसाद घिमिरे बताउँछन् । ‘हामी १० जना मोही पार्दा निस्किएको नौनीको पनि क्रिम जस्तै हौं, दायाँ–बायाँ हुन्नौं’ उनले भने, ‘यो संख्या घट्दैन, बढ्दैछ ।’

एमालेका सांसदहरु राजेन्द्र राई, राजन राई, उपेन्द्र घिमिरे, सावित्रा रेग्मी, खिनु लङ्वा लिम्बु, गणेश काङ्माङ, कृष्णकुमारी राई, पदमकुमारी गुरुङ, सुनिता चौधरी र सरिता थापा नयाँ पार्टीको पक्षमा खुलेका छन् । उनीहरुले बुधबार नयाँ दल रोज्नका लागि निर्वाचन आयोगमा जाने तयारी गरिरहेका छन् । नयाँ संसदीय दल दर्तासँगै नयाँ सरकार गठनको तयारी शुरु गर्ने उनीहरु बताउँछन् ।

सांसद तानातानको प्रयास शुरु भएपछि नेपाल पक्षका सांसद विराटनगरको विग होटलमा बसेका थिए । तीन दिनको छलफलपछि उनीहरु सोमबार आफ्नो जिल्लातर्फ लागेका छन् । दुई दिन विदा भएका कारण बुधबार भेला हुने गरी सांसदहरु आफ्नो गन्तव्यमा लागेको सांसद घिमिरेले बताए ।

‘सम्भवत: बुधबार आयोगको कार्यालय जान्छौं’ उनले भने, ‘एमालेका अन्य माननीयज्यूसँग पनि छलफल जारी छ, उहाँहरुले केही समय माग्नु भएको छ, उहाँहरु आउने हुँदा एक–दुई दिन ढिलो हुनसक्छ ।’

९३ सदस्यीय प्रदेश १ सभामा बहुमतका लागि ४७ मत आवश्यक पर्छ । प्रदेशमा एमालेका सभामुखसहित ५१ जना सांसद छन् । तीमध्ये १० जना सांसदले नयाँ पार्टी रोजेका कारण वर्तमान सरकार ढल्ने समाजवादी पार्टीका नेताहरु बताउँछन् ।

बहुमत जुटाउने प्रयासमा छु : मुख्यमन्त्री

प्रदेश १ का मुख्यमन्त्री आचार्यले आफ्नो पक्षमा बहुमत जुटाउने बताउँछन् । ‘जनतासँग मुख्यमन्त्री कार्यक्रम’मा उनले नेकपा एमालेका सांसदलाई एमालेमै राखेर बहुमत जुटाउने प्रयास भइरहेको बताए ।

नयाँ पार्टी रोज्ने तयारीमा रहेका १० जना सांसदसँग सम्पर्कमै रहेको बताउँदै उनले एमालेकै बहुमत गुम्न नदिने प्रयास भइरहेको बताए ।

रहरले मुख्यमन्त्री नभएको बताउँदै उनले पार्टी विभाजन हुँदा एमालेको क्षति कम गर्न मुख्यमन्त्री बन्न तयार भएको बताए । उनले आफूसँग काम गर्ने दृष्टिकोण भएका कारण विपक्षी दलहरुलाई समर्थन गर्न पनि आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?