
नेकपा एमालेभित्र केपी ओलीको विपक्षमा उभिएका १० नेताहरु पुनः ओली समूहमा फर्किएका छन् । अध्यक्ष ओलीविरुद्ध जानेबुझे जति तर्क गरेर विरोध गर्दै आइरहेका उनीहरु अब विस्तारै माधव नेपालविरुद्ध खनिन थालेका छन् । यस्तो लाग्छ-यी मानिसहरु गाली र आलोचनाले भरिएका छन् ।
आफ्ना गलत कामहरु प्रमाणित गर्न उनीहरु तर्ककै हुर्मत लिन पनि अप्ठ्यारो मानिरहेका छैनन् । सामाजिक सञ्जालमा उनीहरुको आलोचना बढिरहेको छ । तर लोकलाज हराए जस्तै उनीहरु निसंकोच नयाँ नयाँ तर्कहरुको आविष्कार गर्न कनिकुथी गरिरहेका छन् ।
आफैंले ओलीविरुद्ध जान उत्प्रेरित गरेका पात्रहरुलाई घरमा बोलाएर पुनः ओली समूहकै पक्षमा लाग्न सम्झाई–बुझाई गरिरहेका छन् । ‘पार्टी फुटाएर माले पनि बनाइयो, नयाँ पार्टी बनाउन सजिलो छैन । यो उमेरमा आएर अब कति जोखिम मोल्ने रु ओली कति जालान् र रु’ कार्यकर्ताहरुलाई यस्तै तर्कले सम्झाई–बुझाई गर्ने उनीहरुको चेष्टा रहने गरेको छ ।
हालसालै योगेश भट्टराईको तारन्तार फोन आएपछि उनको निवासमा पुगेका पूर्वतिरका एक मित्रले मलाई भन्दै थिए-‘लन्ठ्याङ मन्ठ्याङ कुरा गर्दै हुनुहुन्थ्यो । हामीलाई यो अवस्थामा ल्याइपुर्याउने तपाईंहरु नै हो । हामी राजनीतिक नैतिकता भुलेर आफैंले राजनीतिक भण्डाफोर गरेर अराजनीतिक तत्व भनेको शक्तिसँग आत्मसमर्पण गर्न सकिंदैन भनिदिएँ ।’
उनले केही समय अगाडि सुरेन्द्र पाण्डेले ओलीविरुद्ध लाग्न प्रशिक्षित गरेको सम्झँदै भने( ‘हामी सुदूरपश्चिम र कर्णाली पुगेर पार्टी संगठन बनायौं । तपाईंहरु जस्ता युवाहरु ५-१० वर्ष झोला बोकेर विद्रोह गर्न तयार नहुने हो भने पार्टी कसरी बन्छ रु यो उमेरमा हामी त ओलीविरुद्धको मोर्चामा नेतृत्व गर्न तयार भइसक्यौं ।’
जबजको विकल्प खोज्न शास्त्रीय तर्कहरूको खेतीपाती गर्दै हिंडेका घनश्याम भुसाल अहिले ओलीका अगाडि कक्र्याकक्रुकुक भएर आत्मसमर्पण गर्न तयार भएका छन् । यी सबै कथाव्यथासँग मदन भण्डारी, सूर्य चिन्ह, एमाले ब्राण्ड देखाएर मतदातामाथि मनोवैज्ञानिक शोषण र दोहन गर्ने उद्देश्य जोडिएको छ ।
एमालेका अधिकांश कार्यकर्ता र समर्थकहरू यतिखेर निराश भएका छन् । कुन समूहमा लाग्ने भन्ने निर्णय गर्न उनीहरूलाई गाह्रो भइरहेको छ । ठूला नेताहरू विभाजित भइसक्दा पनि उनीहरूमा कुनै चमत्कार भएर पार्टी एकीकृत भइदिए हुन्थ्यो भन्ने आशा बाँकी नै देखिन्छ ।
धेरैमा अझै सूर्य चिन्हप्रतिको मोह देखिन्छ । यो प्रवृत्तिले नेपाली राजनीतिको वास्तविक मतदान प्रवृत्तिलाई बुझ्न सकिन्छ । कागजमा छापिएको चिन्हले राजनीतिको पक्षधरता निर्माण हुने हैन । राजनीतिक समर्थन वा विरोध विचार, एजेण्डा र प्रवृत्तिका आधारमा हुनुपर्ने हो । राजनीतिक दृष्टिकोण र अडान राजनीतिक ब्राण्डको छायाँमा हराएको छ ।
यहाँनेर एक गम्भीर प्रश्न उठाउन सकिन्छ । यो प्रश्न एमाले कार्यकर्ताका लागि मात्र नभएर सबै पार्टीका समर्थक र मतदाताका लागि हुन सक्दछ । के चुनाव चिन्हलाई भोट दिने हो कि सही विचार, एजेण्डा र नेतृत्वलाई रु मतपत्रमा छापिएको कुनै चिन्हलाई मतदान निर्णयको आधार मान्ने हो भने देशले खोजेको एजेण्डा र रोजेको नेतृत्व कहिले कसरी स्थापित होला ?
एमाले कार्यकर्ताहरू केवल चुनाव चिन्हको पछाडि लाग्नु र राजनीतिक निर्णयको आधार ब्राण्डलाई मात्र बनाउनु लोकतन्त्रका लागि शुभ संकेत हैन । राजनीतिक एजेण्डा र प्रवृत्तिको भिन्नता के हो वा हैन भन्ने प्रश्नमा ध्यान दिनु न्यायोचित हुन्छ ।
समय बदलिएको छ । राजनीतिक आर्थिक अवस्था र आवश्यकता बदलिएको छ । उस्तै छ त राजनीतिक नेतृत्वको सोच र कार्यशैली । संगठन र विचार । बाघको शिकार गर्नु छ, हतियार माछा मार्ने छ ।
मुलुकमा भौतिक समृद्धिकरणको जग हाल्नुछ, नेतृत्व जेलनेलको पुराना कथा बेचिरहेका छन् । अढाइ सय वर्ष पुरानो वाद बोकेर अढाइ दशक अगाडिका नेताको सालिक र सोच बेचेर राजनीतिमा टिकिराख्नुपर्ने सोच विडम्बनापूर्ण छ ।
एमालेका दुवै समूहमा रहेका दोस्रो पुस्ताका नेताहरुले पहिलो पुस्ताका नेताहरुबाट सत्ता लिने वातावरण सिर्जना गर्न सकेको भए अहिलेको संकट टर्न सक्थ्यो । तर यो आँट दुवै पक्षमा देखिएन । उनीहरु किस्तीमा नेतृत्व पाउने आशमा प्रमुख नेतृत्वको चाकरीमा समय बर्बाद बनाइरहेका छन् ।
नेपाल समूह छाडेका नेताहरुको उपस्थिति नेकपा एमालेमा नकारात्मक ऊर्जाको रूपमा रहनेछ । न उनीहरु ओलीसँग आत्मसमर्पण गर्न सजिलै तयार हुन्छन्, न उनीहरुको गतिविधिलाई ओलीले रुचाउँछन् ।
भविष्य नहुनेहरु भर पर्ने भनेको इतिहास र ब्राण्डमा नै रहेछ । ‘हजुरबाले घिउ खानुहुन्थ्यो, हात सुँघ’ भनेर राजनीतिमा टिक्नुपर्ने बाध्यता कसैलाई पनि नपरोस् । राजनीतिमा त भविष्य, भिजन र वर्तमानप्रतिको निष्ठा महत्वपूर्ण हुन्छ ।
चुनाव चिन्हले घिसारेका निरीह नेता कार्यकर्ताको नाममा यति कुरा लेख्न मन लाग्यो । यस्तो निरीह अवस्थामा कोही पनि नपुगोस् ।
(युवा पर्यटन व्यवसायी घले जसपासँग आवद्ध छन्)
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया 4