
१८ साउन, काठमाडौं । कोरोना भाइरसको महामारी बढेपछि आगमन बन्द गरिँदा ठप्पप्राय रहेको पर्यटक आगमन निषेधाज्ञा खुकुलो भएसँगै बढ्न थालेको छ । अध्यागमन विभागलाई उदृत गर्दै नेपाल पर्यटन बोर्डले जनाएअनुसार जुलाई २०२१ को एक महिनाको अवधिमा २९९१ जना विदेशी पर्यटक नेपाल आएका छन् ।
यो संख्या भारतबाट हवाई मार्गबाट आएका यात्रु, कुटनीतिक नियोगमा काम गर्ने कर्मचारी, विभिन्न आयोजना-परियोजनामा काम गर्ने कर्मचारी र गैरआवासीय नेपालीसमेत जोडेर हो । पर्यटन बोर्डका अनुसार सन् २०२० जुलाईको एक महिनाको अवधिमा मात्र १९५ विदेशी नेपाल आएका थिए ।
नेपालमा काठमाडौं उपत्यकासहितका धेरै क्षेत्रमा निषेधाज्ञा जारी रहेको जुन महिनामा ११४३ जना विदेशीले नेपाल भ्रमण गरेका थिए । त्यसअगाडीको मे महिनामा १४६८ जना विदेशी नेपाल आएको तथ्यांक छ । अप्रिल महिनामा भने २२ हजार ४ सय ५० पर्यटक नेपाल आएका थिए ।
नेपालमा पर्वतारोहणको मौसम रहेको र सो समय कोरोना महामारीको दोस्रो लहर समेत नआइसकेका कारण पर्यटक आगमन उत्साहजनक देखिएको थियो । त्यसपछि भने नेपालमा यात्रा प्रतिवन्धहरु शुरु भएका थिए ।
सबैभन्दा बढी भारत र अमेरिकाबाट
एक महिनाको अवधिमा नेपालमा सबैभन्दा बढी पर्यटक भारत र अमेरिकाबाट आएका छन् । तथ्यांक अनुसार जुलाईमा भारतबाट मात्र ११०५ जना विदेशी यात्रु नेपाल आएको देखिएको छ ।
दक्षिण एसियाली मुलुकमध्ये यो महिनामा बंगलादेशबाट ४, भुटानबाट १४, पाकिस्तानबाट ५ र श्रीलंकाबाट ३ जना पर्यटक नेपाल आएका छन् । एक महिनाको अवधिमा भारतपछि अमेरिकाबाट बढी पर्यटक आएका छन् ।
अमेरिकाबाट ८१९ पर्यटक नेपाल आएको तथ्यांक छ । क्यानडाबाट ७८ जना नेपाल आएका छन् । चीनबाट भने मात्र ५० जना नेपाल आएको देखिएको छ ।
युरोपेली मुलुकमध्ये बेलायतबाट सबैभन्दा बढी १८५ जना पर्यटक आएको देखिएको छ । बेल्जियमबाट ४५, फ्रान्सबाट ४१, नेदरल्याण्ड्सबाट २६, रुसबाट १९ जना यात्रु नेपाल आएको देखिएको छ ।
प्रतिक्रिया 4