Comments Add Comment

तालिबानले युद्ध अपराध गरेको अमेरिका र बेलायतको ठहर

१९ साउन, काठमाडौं । अमेरिका र बेलायतले अफगानिस्तानमा लडाइँ गरिरहेको चरमपन्थी संगठन तालिबानले युद्ध अपराध गरेको बताएका छन् ।

अफगानिस्तानको कन्दाहार प्रान्तको स्पिन बोल्डकमा युद्धमा तालिबानले दर्जनभन्दा धेरै सर्वसाधारणको हत्या गरेको उनीहरुको ठहर छ ।

सामाजिक सञ्जाल ट्वीटरमा पोस्ट गर्दै अमेरिका र बेलायतको राजदूतावासले भनेका छन्, ‘तालिबानले प्रतिरोधको रुपमा दर्जनभन्दा धेरै सर्वसाधारणको हत्या गरेको छ । यो हत्या युद्ध अपराध हो । तालिबानको नेतृत्व आफ्ना लडाकुले गरेको युद्ध अपराधप्रति जिम्मेवार हुनुपर्छ । तपाईँ आफ्ना लडाकुलाई नियन्त्रणमा राख्न सक्नुहुन्न भने पछि सत्तामा आउँदा पनि तपाइँहरुको कुनै काम हुँदैन ।’

पछिल्लो समय तालिबानले आफ्नो कब्जा बढाउन थालेसँगै अफगानिस्तानका राष्ट्रपति असर्फ घानीले सुरक्षा योजना अघि सारेका छन् । यद्यपि उक्त योजना भने सार्वजनिक गरिएको छैन । अफगानिस्तानको सेनाले मुलुकको दक्षिणी र पश्चिमी तीन प्रान्तको अवस्था गम्भीर रहेको बताएको छ । उक्त क्षेत्रमा अहिले तालिबानसँग लडाइँ चलिरहेको छ ।

अमेरिकी सेनाले अगष्ट महिनाभित्रै अफगानिस्तान छाड्ने तयारी गरिरहेको अवस्थामा तालिबानले मुलुकमा आफ्नो कब्जा बढाएको छ । तालिबानले प्रान्तीय राजधानी कब्जा गर्ने प्रयास गरिरहेका छन् । यसअघि नै उनीहरुले साना प्रशासकीय जिल्लामा आफ्नो नियन्त्रण कायम गरिसकेका छन् ।

एजेन्सीहरुको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment