
पारिवारिक वियोग, सशस्त्र द्वन्द्व, एकल महिलाको संघर्ष र सफलतालाई समेटिएको नेपाली डकुमेन्ट्री फिल्म मायाको संसार युट्युबमार्फत सार्वजनिक भएको छ ।
इलामकी मायादेवी भण्डारी भट्टराईको वास्तविक जीवनकथा समेटिएको ४७ मिनेटको फिल्मको लेखन रामप्रसाद ढुंगेलले गरेका छन् ।
नेपालमा माओवादीले चलाएको सशस्त्र द्वन्द्वले नेपाली जनजीवनमा पारेको असर र त्यसले उत्पन्न गरेको पारिवारिक वियोग, एकल महिलाले गर्नुपरेको संघर्ष र संघर्षपछिको सफलतालाई सिलसिलेबार प्रस्तुत गरिएको मायाको संसारले एउटा पारिवारिक जीवनको करिब १५ वर्षको अन्तरालमा आएका उतारचढावलाई देखाएको छ ।
इलामको सामाजिक, राजनीतिक, व्यावसायिक जीवनमा परिचित व्याक्तित्व माया भट्टराईका वास्तविक जीवनकथालाई ३ वर्षको रिसर्च, ३ दिनको सुटिङ र ३ महिनाको सम्पादनमा सार्वजनिक गर्न सफल भएको यसका परिकल्पनाकार तथा लेखक ढुंगेलले बताएका छन् ।
यसको छायांकन र सम्पादनमा सिनेमाटोग्राफर देवेन्द्र निरौलाले काम गरेका छन् । हरि बस्नेतको निर्देशन रहेको यो डकुमेन्ट्रीकाे सम्पादन रामप्रसाद ढुंगेल, देवेन्द्र निरौला, मिलन संग्रौला, हरि बस्नेत र पुर्णप्रसाद ढुंगेलले गरेका हुन् ।
सन्देश कार्कीले ध्वनि नियन्त्रकका रुपमा काम गरेका छन् भने रिचा उप्रेतीको भोइस ओभर रहेको छ ।
नेपाल पत्रकार महासंघ युएई शाखाका सहसचिव रहेका ढुंगेलले यस अगाडि योगदान राष्ट्रको लागि शीर्षकमा पनि डकुमेन्ट्री तयार पारेका थिए ।
प्रतिक्रिया 4