 
																			१९ साउन, इलाम । इलाममा माइखोला, पूवाखोला, जोगमाई र देउमाई चार खोला छन् । यी खोलाहरुबाट दर्जन बढी जलविद्युत परियोजना सञ्चालन र निर्माणधीन अवस्थामा छन् । तर, यतिबेला इलामका धेरै क्षेत्रमा विद्युत् अनियमित कटौती हुने समस्या चरम अवस्थमा पुगेको छ ।
इलामका ग्रामिण क्षेत्रमा अधिकांश समय बिजुली नआउने स्थानियहरुको गुनासो छ । दिनमा पटक-पटक बिजुली आपूर्ति बन्द हुँदा दैनिक जन-जीविकादेखि उद्योगधन्दामा समेत प्रत्यक्ष असर पुगेको उनीहरु बताउँछन् । इलाममा साना घरेलु उद्योगसहित चीज उत्पादन र चिया उत्पादन गर्ने दर्जनौं कारखाना सञ्चालनमा छन् । चिया उत्पादनको लागि अहिले मूख्य सिजन हो ।
तर, पटक-पटक बिजुली आपूर्ति अवरोध हुँदा चिया प्रसोधनमा समस्या भएको जसबीरे चिया प्रशोधनका सञ्चालक शरद सुब्बा बताउँछन् ।
‘कुनै सूचना बिना नै पटक पटक बत्ती जाँदा एकदमै समस्या भएको छ’ सुब्बा भन्छन्, ‘यसले हामी जस्ता उद्योग सञ्चालन गर्नेहरुलाई लाखौं नोक्सान भएको छ ।’
इलामका ग्रामिण भेगमा कुनै कारण बिना नै बत्ती जाने गरेको स्थानियबासीहरु बताउँछन् । सामान्य पानी परेको बेला बत्ती आउँदै नआउने उनीहरुको गुनासो छ । यता विद्युत प्राधिकरण इलामका प्रमूख पंकज गोइत भने विद्युत नियमित रुपमै आपूर्ति भइरहेको दाबी गर्छन् ।
‘हावाहुरी र पानी परेको बेला रुखहरु ढल्ने र ट्रान्सफरमर पड्कने भएकाले कुनै कुनै क्षेत्रमा बत्ती जाने गरेको छ’ गोइत भन्छन्, ‘कुन क्षेत्रमा नियमित बत्ती गएको भन्ने कुरा चाहिँ हामीलाई जानकारी भएन ।’
अहिले लकडाउनको कारण ग्रामिण क्षेत्रमा गएर आवश्यक मर्मतको काम गर्न कठिन भएकाले यदाकदा विद्युत आपूर्तिमा समस्या भएको उनको भनाइ छ । उनी भन्छन्, ‘घण्टौं हिँडेर जानुपर्ने ठाउँमा त्यस्तो समस्या भएको होला, अरु ठाउँमा त्यस्तो छैन ।’
सन्दकपुर गाउँपालिकाका खोमबहादुर गुरुङ भने विगतको लोडसेडिङ कै स्थिती पुनरावृत्ति भएको बताउँछन् । कोरियाको रोजगारी छाडेर गाउँमै पशु फार्म सञ्चालन गरिरहेका गुरुङ भन्छन्, ‘बत्ती आउने कुनै भर हुँदैन । उहिले लोडसेडिङकै बेला जस्तो अन्धकार छ ।’ निरन्तर जस्तो बत्ती गइरहँदा दैनिक कामकाज असहज भएको उनको दुखेको छ ।
‘लोडसेडिङको बेला तालिका सार्वजनिक हुने गरेकाले बत्ती आउने दिन थाहा हुन्थ्यो’ गुरुङ सुनाउँछन्, ‘तर, अहिले त बत्ती आउने र जाने कुनै टुंगो हुँदैन । धेरैजसो समय बत्ती आएकै हुँदैन ।’
पहिलेकै जस्तो टुकी बत्ती जोहो गर्नुपर्ने वा इन्भर्टर खरिद गर्नुपर्ने अवस्था आएको सुम्बेकका घनश्याम घिमिरे बताउँछन् । धेरैजसो समय बत्ती जाने भएकाले रात अन्धकारमै बित्ने गरेको उनी बताउँछन् । ‘कुलमान घिसिङको कार्यकालमा कहिल्यै यस्तो भएको थिएन’ घिमिरे भन्छन्, ‘अहिले त अघोषित लोडसेडिङकै अवस्था छ । अब टुकी बत्ती खोज्नुपर्ने वा इन्र्भटर खोज्नुपर्ने बेला भयो ।’
प्राधिकरणका प्रमूख गोइत भने बेलाबखत प्राविधिक कारणले मात्र बत्ती जाने गरेको बताउँछन् । ‘इलामको धेरै ठाउँमा कच्ची पोल गाडिएको छ । हुरीबतास चल्दा पोल ढल्ने हुँदा विद्युत आपूर्तिमा अवरोध आएको हुनसक्छ ।’
जसबीरे चिया उद्योगका शरद सुब्बा भने यसरी विजुली नियमित नआएको महिनौं भएको बताउँछन् । ‘कुनैपनि यस्तो दिन छैन कि जुन दिन नियमित बत्ती आएको होस्’ सुब्बा भन्छन्, ‘प्राधिकरणले न हाम्रो गुनासो सुन्छ, न नियमित बत्ती दिन्छ । प्राधिकरणको खेलाँचीले गर्दा हाम्रो जस्तो उद्योगहरु ऋणमा डुब्ने अवस्था आइसक्यो ।’
तस्विर : हरि गुरुङ
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4