Comments Add Comment

भारतबाट आयातित फूल जलाउनेहरुविरुद्ध मुद्दा, पुष्प व्यवसायीले थाले आन्दोलन

२० साउन, काठमाडौं । भारतबाट आयातित फूल जफत गरी जलाएको घटनामा संलग्नहरुविरुद्ध मुद्दा चलाइएपछि नेपाली पुष्प व्यवसायीहरुले आन्दोलन सुरु गरेका छन् ।

नेपाली पुष्प व्यवसायीहरुमाथि अन्याय भएको भन्दै फ्लोरिकल्चर एशोसिएसन नेपाल र नर्सरी तथा पुष्प उत्पादक किसान संघले आन्दोलनका कार्यक्रम घोषणा गरेका छन् ।

आन्दोलनको कार्यक्रम अन्तर्गत बुधबार जिल्ला प्रशासन कार्यालय ललितपुरमा ज्ञापन पत्र बुझाउने र त्यसपछि काठमाडौं प्रहरी परिसर टेकुमा धर्ना दिइने संघका अध्यक्ष मोहन सिलवालले जानकारी दिए ।

भारतबाट अवैध रुपमा पुष्प आयात गरी नेपाली व्यवसायीहरुलाई अप्ठेरो पारेको भन्दै व्यवसायीहरु आक्रोशित छन् । यही साउन १६ गते भारतबाट आयात भएको फूल नेपाली व्यवसायीहरुले नष्ट गरिदिएका थिए ।

मुद्दा फिर्ताको माग

भारतबाट आयातित फूल जलाएको घटनाको विषयमा सरकारले नेपाली पुष्प व्यवसायीहरुलाई मुद्दा चलाएकाले त्यो मुद्दा फिर्ता लिन माग गर्दै काठमाडौं प्रहरी परिसरमा धर्ना दिइने अध्यक्ष सिलवाले बताए ।

‘हामी १२ बजे जावलाखेलमा जम्मा भएर र्‍यालीसहित सीडीयो कार्यालयमा ज्ञापन पत्र बुझाउँछौं, त्यसपछि पुनः जुलुस सहित महानगरीय प्रहरी कार्यालय टेकुमा गएर धर्ना दिन्छौं’ अध्यक्ष सिलवालले भने ।

व्यवसायीहरुमाथि क्षतिपूर्ति माग गर्दै लगाइएको मुद्दा फिर्ता हुनुपर्ने, भारतबाट पुष्प आयात भए पनि नेपाली किसानलाई असर नपर्ने गरी ल्याउनु पर्ने र भारतबाट आयात गर्ने व्यवसायीहरुले अवैध रुपमा कारोबार गर्ने गरेको भन्दै त्यसविरुद्ध छानबिनसमेत हुनुपर्ने उनीहरुको माग छ ।

अहिले प्यान बिलबाटै अवैध रुपमा करोडौंको कारोबार हुनसक्ने व्यवसायीहरुको आशंका छ । अर्कोतर्फ भारतबाट आयत भएको पुष्पको रकम वैधानिक च्यानलमार्फत नभई गैरकानूनी मानिएको हुण्डीमार्फत हुने गरेको आशंका समेत व्यवसायीहरुको छ । यो विषयमा समेत छानबिन हुनुपर्ने अध्यक्ष सिलवालले बताए । आफूहरुका माग पूरा गर्न सरकार तयार नभए थप संघर्षका कार्यक्रमहरु घोषणा हुने उनले बताए ।

गत १६ गते सजावटमा प्रयोग हुने कपडा, सयपत्री फूलमाला, गुलाबको ताजा फूल र जरासहितको लक्की ब्याम्बो काठमाडौंबाट गाडि सहित जफत गरी केही सामान नष्ट गरिएको थियो । केही सामान भने राष्ट्रिय प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्र पुल्चोकलाई बुझाइएको थियो ।

आगामी दिनमा अनियन्त्रित तथा अवैध रुपमा आयात नगर्न र ताजा फूलको नाममा अन्य सामान समेत आयात नगरी नेपाली किसानका उत्पादनलाई बजार सहजीकरणमा सहयोग गर्न सम्बन्धित सबैलाई संघले आग्रह पनि गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment