Comments Add Comment

चिकित्सा शिक्षा आयोगमा चीनमा अध्ययनरत विद्यार्थीको धर्ना

२२ साउन, काठमाडौं । कोरोना महामारीका बेला चीनबाट फर्केका एमबीबीएस अध्ययनरत विद्यार्थीहरुले नेपालबाटै इन्टर्नसिप गर्न पाउनुपर्ने माग राखेर चिकित्सा शिक्षा आयोगमा धर्ना दिएका छन् ।

‘हाम्रो माग पूरा गर’, ‘हाम्रो इन्टर्नसिप कहिले ?’ लगायतका प्लेकार्ड बोकेर उनीहरुले आयोगको कार्यालय अगाडि नाराबाजी समेत गरेका थिए । यसअघि बिहीबार पनि उनीहरुले नेपाल मेडिकल काउन्सिलमा धर्ना दिएका थिए ।

कोरोना महामारीले बाध्यात्मक परिस्थित सिर्जना गरेको भन्दै उनीहरुले नेपालबाटै इन्टर्नसिप पूरा गर्ने व्यवस्था मिलाइ दिन सरकारसँग माग गर्दै आइरहेका छन् ।

आफूहरुले अध्ययन गरेका सम्बन्धित विश्वविद्यालयले समेत मिलेसम्म आफ्नै देशमा इन्टर्नसिप गर्न सुझाव दिँदा समेत नेपाल सरकारले बेवास्ता गरेको उनीहरुको गुनासो छ ।

उनीहरुले नेपाल सरकार, चिकित्सा शिक्षा आयोग, नेपाल मेडिकल काउन्सिल, शिक्षा मन्त्रालय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय लगायत सरोकार पक्षसँग पटक-पटक ध्यानाकार्षण गराउँदै आएका छन् ।

इन्टर्नसिप पूरा गर्न नपाउँदा आफूहरुको भविष्य अनिश्चित बन्ने अवस्था आउँदा समेत सरकारले माग सम्बोधन गर्न चासो नदेखाकोले बाध्य भएर धर्नामा बस्नु परेको उनीहरुले बताएका छन् ।

चिकित्सा शिक्षा आयोग इन्टर्नसिपसम्बन्धी अध्ययन गर्न बनेको कमिटीका संयोजक डा. दिलीप शर्माले चीनबाट फर्किएका विद्यार्थीको इन्टर्नसिपको विषयमा अध्ययन भइरहेको बताए ।

चीनको वुहान सहरमा कोरोना संक्रमण फैलिएपछि त्यहाँका नेपाली विद्यार्थीहरु स्वदेश फर्किएका थिए ।

यसअघि नेपाली विद्यार्थीहरुको अनुरोधमा चिकित्सा शिक्षा आयोग र नेपाल मेडिकल काउन्सिलले अप्रिल २०२० सम्म अन्तिम परीक्षा दिएकाहरुलाई इन्टर्नसिप दिने व्यवस्था मिलाएको थियो ।

इन्टर्नसिप गर्न पाउनु पर्ने माग राख्नेमा चीनमा सन् २०१५-०१६ मा एमबीबीएस अध्ययन गर्ने विद्यार्थीहरु हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment