Comments Add Comment

पारसको ७७ नम्बर जर्सी रिटायरको अर्थ

२५ साउन, काठमाडौं । पारस खड्काले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास घोषणा गरेको पाँच दिनपछि नेपाल क्रिकेट संघ (क्यान)ले उनले लगाउँदै आएको जर्सी नम्बर समेत ‘रिटायर’ गर्ने निर्णय गर्‍यो ।

नेपाली क्रिकेट इतिहासकै उत्कृष्ट खेलाडीमध्ये एक अनि सफल कप्तान पारसले लगाउँदै आएको ७७ नम्बरको जर्सी अब राष्ट्रिय टिममा कसैले लगाउने छैनन् ।

नेपाली क्रिकेट समर्थकहरुले भव्य समारोहमाझ पारसको बिदाइ हेर्न चाहेका थिए । तर पारस भने पहिल्यैदेखि सामान्य रुपमै सन्यास लिने सोचमा थिए । भयो पनि त्यस्तै । पारसले १९ साउनमा सामाजिक सन्जालमार्फत अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएको घोषणा गरे ।

यो पनि पढ्नुहोस अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिएको पारस खड्काको घोषणा

त्यसलगत्तै बसेको क्यानको बैठकले पारसले लगाउँदै आएको ७७ नम्बर जर्सी प्रयोगमा नल्याउने निर्णय गरेको हो । नेपालमा कुनै पनि खेलाडीको जर्सी रिटायर गरिएको यो पहिलो पटक हो ।

सन् २००४ मा राष्ट्रिय टिममा डेब्यु गरेका पारसले ७७ नम्बरको जर्सी लगाउँदै आएका थिए । उनको सन्याससँगै अब उक्त नम्बर अंकित जर्सी नेपाली टिममा खाली हुनेछ । अर्थात् कसैले लगाउने छैनन् । उनले लगाउने गरेको ७७ नम्बर जर्सी प्रयोगमा नल्याउने निर्णयलाई दुई दशकसम्म पारस खड्काले नेपाली क्रिकेटमा गरेको योगदानको ट्रिबुटको रुपमा लिन सकिन्छ ।

क्यानको निर्णयप्रति पारसले आभार व्यक्त गरेका छन् । ‘मलाई सम्मान गर्दै मेरो राष्ट्रिय टिमको जर्सी नम्बर ७७ रिटायर गर्ने निर्णय गरेको नेपाल क्रिकेट संघलाई धन्यवाद दिन चाहन्छु । धन्य र आभारी छु ।’

एउटा खेलाडीले निश्चित समय खेलेपछि खेल छाड्नु सामान्य हो । तर त्यो खेलाडी लगाउने गरेको जर्सीको नम्बर रिटायर बिरलै हुन्छ । विश्व क्रिकेटमा पनि सीमित खेलाडीको नाम मात्र रिटायर भएको छ ।

उमेर समूहमा पवन सर्राफले उक्त नम्बर भएको जर्सी लगाउँदै आएका थिए । तर राष्ट्रिय टिममा पारससँगै हुँदा उनले २२ नम्बरको जर्सी लगाए ।

नेपालको क्रिकेट इतिहासमा जर्सीको प्रयोग

नेपालको अन्तर्राष्ट्रिय क्रिकेट इतिहास धेरै लामो छैन । त्यसमा पनि जर्सी लगाएर खेल्न थालेको धेरै भएको छैन । सन् १९९६ को एसीसी ट्रफीदेखि नेपालले अन्तर्राष्ट्रिय क्रिकेट खेल्न शुरु गरेको हो ।

त्यसमा पनि नेपालले रंगीन जर्सी लगाएर खेल्न थालेको २००८ यता मात्रै हो । नेपालले २००८ मा भएको डिभिजन ५ मा नम्बर अंकित जर्सी लगाएको थियो । त्यही वर्ष भएको एसीसी ट्रफीमा भने नेपालले जर्सी नम्बर र नाम अंकित जर्सी लगाएको थियो ।

नेपाल क्रिकेट संघ (क्यान)का पूर्व अध्यक्ष विनयराज पाण्डेले खेलाडीको आइडेन्टिटी (पहिचान) को लागि जर्सी नम्बर दिन थालिएको बताए । शुरुमा नेपालले पनि सेतो जर्सीमा खेल्दै आएको थियो । सेतो जर्सी र रातो बल प्रयोग गरिन्थ्यो । पछि सेतो बल प्रयोग हुन थालेपछि रंगीन जर्सी लगाएर खेल्न थालिएको उनले बताए ।

‘शुरुमा खेलाडीलाई सिनियरका आधारमा क्रमैसँग जर्सी नम्बर प्रदान गरिन्थ्यो । खेलाडीको पहिचानका लागि नम्बर दिइएको थियो,’ पाण्डेले भने ।

कुनै पनि खेलाडीले गरेको योगदानको लागि सम्मानमा जर्सी रिटायर गरिन्छ । पारसले नेपालको लागि झण्डै दुई दशक खेल्दा राष्ट्रिय टिमबाट करीब १८ वर्ष खेले । उनले एक दशक नेपालको लागि कप्तानी नै गरे ।

पारसकै कप्तानीमा नेपालले डिभिजन ५ को उपाधि जित्दै उपलब्धि हात पार्न शुरु गरेको थियो । पछि टी–२० विश्वकप खेल्यो । डिभिजन वान हुँदै ओडीआई मान्यता पायो । पारसकै कप्तानीमा नेपालले पहिलो ओडीआई र टी–२० आई सिरिज पनि जित्यो । उनी नेपालका लागि ओडीआई र टी–२० आईमा शतक प्रहार गर्ने एक्लो खेलाडी हुन् । पारसले १० ओडीआई र ३३ टी–२० आई खेलेका छन् ।

 

विदेशको उदाहरण

विश्व क्लब फुटबल अनि फ्रेन्चाइज क्रिकेटमा पनि विभिन्न जर्सी नम्बर रिटायर गरिएको छ । तर राष्ट्रिय टिममा भने बिरलै यस्तो भएको छ । क्रिकेट बलले लागेर अष्ट्रेलियन क्रिकेटर फिलिप ह्युजको निधन भएपछि उनले लगाउँदै आएको ६४ नम्बरको जर्सी रिटायर गरिएको थियो ।

यस्तै भारतीय मास्टर ब्लास्टर सचिन तेन्दुलकरको १० नम्बरको जर्सी पनि उनले छाडेपछि कसैले प्रयोग गरेका छैनन् । सचिनले आईपीएलमा मुम्बई इन्डियन्सबाट खेल्दा १० नम्बर जर्सी लगाएका थिए । उनले खेल्न छाडेपछि त्यहाँ पनि उनको जर्सी रिटायर गरिएको छ ।

यस्तै क्लब फुटबलमा एसी मिलानले पाउलो माल्दिनीले लगाएको ३ नम्बर जर्सी र इन्टर मिलानले जाभिएर जानेट्टीको ४ नम्बरको जर्सी रिटायर गरेको छ ।

अर्को रमाइलो घटना पनि छ । विश्वकै उत्कृष्ट खेलाडी डिएगो म्याराडोनाको सन्यासपछि अर्जेन्टिनी फुटबल संघले उनले प्रयोग गरेको १० नम्बरको जर्सी रिटायर गर्ने घोषणा गरेको थियो ।

तर सन् २००२ को फिफा विश्वकपमा फिफाले १ देखि २३ नम्बरसम्मको जर्सी प्रयोग गर्नुपर्ने जनाएपछि पछि अरु खेलाडीले १० नम्बर जर्सी लगाउन थाले । सन् २००२ को विश्वकपमा १० नम्बर जर्सी लगाएका एरिए ओर्टेगाको नम्बर शुरुमा २३ थियो र गोलकिपर रोबर्टो बोनाको २४ थियो । तर फिफाको नियम अनुसार १ दखि २३ सम्मको जर्सी लगाउनुपर्ने भएकाले ओर्टेगाले १० नम्बर लगाए भने बोनाले २३ नम्बर लगाए ।

त्यसपछि हुवाँ रोम रिक्वेल्मले १० नम्बर जर्सी लगाए । पछिल्लो एक दशकदेखि लिओनल मेस्सीले अर्जेन्टिनाको १० नम्बर जर्सी लगाउँदै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment