Comments Add Comment

सेनामा कमाण्ड हस्तान्तरण : शर्मालाई कामु प्रधानसेनापतिको जिम्मा

२५ साउन, काठमाडौं । प्रधानसेनापति पूर्णचन्द्र थापाले बलाधिकृतरथी प्रभुराम शर्मालाई सङ्गठनको कमाण्ड हस्तान्तरण गरेका छन् । सैनिक मुख्यालय जङ्गी अड्डामा सोमबार आयोजित कार्यक्रमा प्रधानसेनापति थापाले बलाधिकृतरथी शर्मालाई नेपाली सेनाको कमाण्ड बुझ-बुझारत गरेका हुन् ।

सरकारको सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीले शर्मालाई मङ्गलबारदेखि लागू हुने गरी कायममुकायम प्रधानसेनापतिको जिम्मेवारी तोकिसकेका छन् । सेनाको परम्पराअनुरुप प्रधानसेनापति थापा आफ्नो तीनवर्षे कार्यकाल सकिनु एक महिनाअघि अर्थात् मङ्गलबारदेखि घरबिदामा रहने भएकाले सेनाको कमाण्ड शर्मालाई हस्तान्तरण गरिएको हो ।

कायममुकायम जिम्मेवारी तोकिएका शर्माले आगामी भदौ २५ गतेदेखि नेपाली सेनाको ४४औँ प्रधानसेनापतिका रुपमा सैनिक नेतृत्व सम्हाल्नेछन् । स्वदेशमा सबै व्यावसायिक तालिम प्राप्त बलाधिकृतरथी शर्मा भारतबाट राष्ट्रिय प्रतिरक्षा, संयुक्त राज्य अमेरिकाबाट आतङ्कवाद तथा सुरक्षा, थाइल्याण्ड र पाकिस्तानबाट प्रतिरक्षा एवं बङ्गलादेशबाट शान्ति सेनासम्बन्धी उच्चस्तरीय तालिम लिएका छन् ।

सेनाको अपरेशनल योजना निर्माण र कार्यान्वयन गर्ने युद्धकार्य महानिर्देशक, बलाधिकृत र बलाध्यक्ष दुवैको जिम्मेवारीमा रहेका शर्मा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सुरक्षासम्बन्धी समसामयिक समस्या तथा चुनौतीबारे पूर्ण जानकार रहेको सैनिक सूचना तथा जनसम्पर्क निर्देशनालयले जनाएको छ ।

यो पनि पढ्नुहोस सेनामा नेतृत्व फेरबदल : पूर्णचन्द्रको उत्तराधिकारी प्रभुराम

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment