Comments Add Comment

‘द भ्वाइस अफ नेपाल ३’ले राख्यो रेकर्ड नै रेकर्ड

गत शनिबार मध्यरातमा नेपाली मुलका अमेरिकी नागरिक किरण गजमेरलाई विजेता घोषणा गर्दै देशकै नम्बर १ गायन रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’ समापन भयो ।

‘द भ्वाइस अफ नेपाल ३’को विजेता घोषणा गर्ने बेलामा रातको १२ बजिसकेको थियो । तर, यो समयसम्म पनि दर्शकले व्यग्र प्रतिक्षा भने गरिरहेका थिए । कार्यक्रम संचालक सुशिल नेपालले विजेता घोषणा गर्नु अगाडि युटुबमा यो शोलाई २ लाख ७७ हजार प्रत्यक्ष रुपमा हेरिरहेको जानकारी दिए ।

‘द भ्वाइस अफ नेपाल २’का फाइनललाई युटुबमा डेढ लाख भन्दा बढीले एकैचोटी हेरेका थिए । यसपटक, झन्डै दोश्रो सिजनको भन्दा दोब्बर बढीले एकैसाथ यो शो युटुबमा हेरे । यो नेपाली कार्यक्रम वा इभेन्ट्सको रियलटाइम भ्यूको नयाँ रेकर्ड हो ।

यो शोले नेपालको टेलिभिजन भ्यूअरसीपमा पनि नयाँ रेकर्ड राखेको टेलिभिजनले जनाएको छ । यो शोको फाइनललाई २४ घन्टा नपुग्दै ३० लाख भन्दा बढी पटक हेरिएको छ । यो पनि दैनिक भ्यूअरसीपमा नयाँ रेकर्ड नै हो ।

यो रियालिटी शोको हरेक भागको औषत भ्यूअरसीप ४० लाख भन्दा बढी रहेको बताइएको छ । टेलिभिजनमा पनि निक्कै ठूलो संख्यामा दर्शकले हेरेको यो शोमा पहिलो पटक नेपाली मुलका विदेशी नागरिकले उपाधि जितेका छन् । यस्तै, उत्कृष्ट ८ भित्र एक जना सिक्किम, एक जना दार्जिलिङ र एक जना अमेरिकाका गरी तिन जनाले प्रतिस्पर्धा गरेका थिए । यसलेपनि, विश्व बजारमा यो शोको लोकप्रियता र प्रभावकारिता कती छ भन्ने प्रष्ट हुन्छ ।

कोभिडको दोश्रो लहरका कारण विभिन्न वाधा अड्चन पनि शोले भोग्नु पर्यो । शोका ४ जना मध्ये ३ जना कोच कोभिडको चपेटमा परे । कोच दीप श्रेष्ठ करिब ३ साता अस्पतालमा उपचार गराएर फर्किएका थिए । यस्तै, प्रतिस्पर्धीहरु पनि कोभिडको संक्रमणमा परेका थिए । कोच नै संक्रमित भएपछि अतिथी कोच राखेर कार्यक्रम अगाडि बढाइएको थियो । विभिन्न वाधाका बाबजुत पनि यो शो सफलतापूर्वक सम्पन्न भएको छ ।

नेपाली टेलिभिजनमा रियालिटी शोको माग बढ्दै गएको र दर्शक पनि आकर्षित हुँदै गएको अवस्थामा यसपटक ‘द भ्वाइस अफ नेपाल’ले दर्शकको उल्लेख्य माया पाएको छ ।यो शोलाई लिएर सामाजिक संजालमा हुने गरेका बहस, दर्शकको चासो, सहभागीहरुको लोकप्रियता आदिले पनि यसको लोकप्रियता र गुणस्तरीयताको मापन गर्न सकिन्छ ।

नेपाली टेलिभिजनको इतिहासमै रेकर्ड नै रेकर्ड राखेर लोकप्रिय कार्यक्रम हुन सफल ‘द भ्वाइस अफ नेपाल’को अर्को सिजनको प्रतिक्षा दर्शकहरुले गर्न थालिसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment