+
+
Shares
ब्लग :

देखिने क्षति, नदेखिने पीडा

विपद्को क्षति प्रायः अङ्कमा गरिन्छ— कति मानिस मरे ? कति घाइते भए ? कति घर भत्किए ? यी तथ्याङ्क आवश्यक छन्। तर एउटा तथ्याङ्क कहिलेकाहीँ कुनै रिपोर्टमा आउँदैन— कति मानिसको मन भाँचियो ? यसको गणना गर्न पनि कठिन हुन्छ।  

रामहरि कार्की रामहरि कार्की
२०८३ भदौ ३० गते १२:४०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • २०७२ को भूकम्पपछि गरिएको अध्ययनमा ३४.३ प्रतिशतमा डिप्रेसन, ३३.८ प्रतिशतमा एन्जाइटी र १०.९ प्रतिशतमा आत्महत्याको सोच देखिएको थियो।
  • भोटेकोसी बाढीमा १ हजार ३८५ जनाको ज्यान गएको, ५ हजार १३० जना बेपत्ता, १३ हजार ६७६ उद्धार र ७ हजार ६५५ घाइते भएका छन्।
  • बाढीबाट रसुवा, नुवाकोट र धादिङका १४ हजारभन्दा बढी बालबालिकाको पठनपाठन अवरुद्ध भएको छ, ३९६ विद्यार्थी र २१ शिक्षक बेपत्ता छन्।

विपद् आएपछि घर भत्किन्छ। सडक भत्किन्छ। पुल बग्छ। मानिस घाइते हुन्छन्। विकासको भौतिक संरचना ध्वस्त हुन्छ। कतिपय मानिसको ज्यान जान्छ। तर विपद्को अर्को क्षति आँखाले देखिँदैन— त्यो मानिसको हृदयमा डेरा जमाउँछ।

भूकम्प होस् वा बाढी। पहिरो होस् वा आगलागी। हावाहुरी होस् वा चट्याङ। विपद्पछि मानिसको मनमा डर, त्रास, बेचैनी र अनिश्चितता बढ्न सक्छ। कतिपय निदाउन सक्दैनन्। निदाउँदा तर्सिन्छन्। कतिपयलाई पटकपटक त्यही घटनाको सम्झना आउँछ।

कतिपय ठूलो आवाज सुन्नासाथ तर्सिन्छन्। यसलाई ‘पोस्ट–ट्रमाटिक स्ट्रेस डिसअर्डर’ (पीटीएसडी) भनिन्छ। विपद्पछि उद्धार र राहतसँगै मनोसामाजिक परामर्श पनि आवश्यक हुन्छ।

भूकम्पले दिएको ठूलो पाठ

२०७२ वैशाख १२ गते गोरखाको बारपाक भएर नेपालमा ७.६ म्याग्निच्युडको विनाशकारी भूकम्प गयो। त्यसपछि आएका परकम्पले पनि ठूलो क्षति गर्‍यो। सो भूकम्पमा ८ हजार ९७० जनाले ज्यान गुमाएका थिए। २२ हजारभन्दा बढी घाइते भएका थिए। भूकम्पबाट ५ लाख ११ हजार ३९० घर पूर्ण रूपमा क्षति भएका थिए। २ लाख ८६ हजार ७६७ घरमा आंशिक क्षति पुर्‍याएको थियो। करिब २८ लाख मानिस विस्थापित भए, ४२ लाख मानिस प्रभावित भए।

त्यो क्षति घर र भौतिक संरचनामा मात्र सीमित थिएन; मानिसको मानसिक स्वास्थ्यमा पनि ठूलो असर परेको थियो। भूकम्प गएको चार महिनापछि ‘नेपालमा भूकम्पपछिको मानसिक स्वास्थ्य तथा मनोसामाजिक समस्याहरू’ विषयमा गरिएको अध्ययनले गम्भीर अवस्था देखाएको थियो।

नेपालमा मानसिक स्वास्थ्यबारे अझै गलत धारणा छ। ‘मनोपरामर्श लिनु भनेको मानसिक रोगी हुनु हो’ भन्ने सोच पाइन्छ। यो सोच बदल्न आवश्यक छ।

अध्ययनमा सहभागीमध्ये ३४.३ प्रतिशतमा ‘डिप्रेसन’ का लक्षण देखिएका थिए। ३३.८ प्रतिशतमा ‘एन्जाइटी’ का लक्षण देखिएका थिए। १०.९ प्रतिशतले ‘आत्महत्याको सोच आएको’ बताएका थिए। २०.४ प्रतिशतमा जोखिमपूर्ण मदिरा सेवन देखिएको थियो। ४२ प्रतिशतले आफ्नो समुदायमा मानसिक तनावलाई गम्भीर समस्या मानेका थिए।

यी तथ्याङ्कले एउटा महत्त्वपूर्ण कुरा देखाउँछन्— विपद् सकिएपछि पनि विपद् सकिँदैन। भत्किएको घर फेरि बनाउन सकिन्छ। सडक बनाउन सकिन्छ। पुल बनाउन सकिन्छ। तर डर र त्रास हटाउन समय लाग्छ।

भूकम्पपछि मनोपरामर्शको आवश्यकता

२०७२ को भूकम्पपछि नेपालमा मनोसामाजिक सहयोगको आवश्यकता व्यापक रूपमा महसुस भयो। ‘सन् २०१५ को नेपाल भूकम्पका पीडितहरूले भोगेका मनोसामाजिक समस्याहरू’ विषयमा एउटा अनुसन्धान भएको थियो। तीन जिल्लाका १ हजार १९५ भूकम्पपीडितले मनोसामाजिक सेवा लिएका थिए। तीमध्ये ६० प्रतिशत महिला र ४० प्रतिशत पुरुष थिए।

उनीहरूमध्ये ८९ प्रतिशतको घर क्षतिग्रस्त वा पूर्ण रूपमा नष्ट भएको थियो। ६९ प्रतिशतले आफू वा नजिकका आफन्त घाइते भएको वा गुमाएको अनुभव गरेका थिए। मनोसामाजिक सेवाका क्रममा ३२ प्रतिशतमा चिन्तासम्बन्धी समस्या देखिएको थियो।

२६ प्रतिशतमा पीटीएसडी (आघातपछिको मानसिक तनावसम्बन्धी विकार) सहित अन्य समस्या देखिएको थियो। १० प्रतिशतमा डिप्रेसन देखिएको थियो। करिब १० प्रतिशतलाई विशेषज्ञ मानसिक स्वास्थ्य उपचार आवश्यक परेको थियो।

अहिले फेरि उस्तै पीडा

२०७२ सालको भूकम्पको घाउ पूर्ण रूपमा निको भइसकेको थिएन, नेपालले फेरि विपद्को सामना गर्दै आएको छ। गत भदौ १० गते भोटेकोसी क्षेत्रमा आएको विनाशकारी बाढीले रसुवा र नुवाकोटसहित आसपासका क्षेत्रमा ठूलो क्षति पुर्‍यायो।

बाढीले घर, बजार, सडक, पुल र जलविद्युत् संरचना बगायो। धेरै परिवार विस्थापित भए। कतिपय परिवारले आफ्ना सदस्य गुमाए। हजारौं मानिस आफ्ना आफन्तको अवस्थाबारे अझै अनिश्चिततामा छन्। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार हालसम्म १ हजार ३८५ को ज्यान गएको र ५ हजार १३० जना बेपत्ता भएका छन्। त्यस्तै १३ हजार ६७६ को उद्धार र ७ हजार ६५५ घाइते भएका छन्।

यो तथ्याङ्क मात्र होइन; यो हजारौं परिवारको पीडा पनि हो। कुनै घरमा आमाबुबा छैनन्। कुनै घरमा छोराछोरी छैनन्। कुनै परिवार अझै आफन्त फर्कने आशामा छ। यस्तो अवस्थामा मानिसलाई खानाले मात्र पुग्दैन। बस्ने ठाउँले मात्र पुग्दैन। औषधिले मात्र पुग्दैन। उसलाई बोल्ने मानिस पनि चाहिन्छ। सुन्ने मानिस चाहिन्छ। आफ्नो पीडा व्यक्त गर्ने ठाउँ चाहिन्छ।

बेपत्ता आफन्तको पीडा झन् गहिरो

विपद्मा मृत्यु भएको पुष्टि हुनु र मानिस बेपत्ता हुनुमा मनोवैज्ञानिक रूपमा ठूलो फरक हुन्छ। मृत्युको खबर पीडादायी हुन्छ, तर त्यसले कम्तीमा एउटा निश्चितता दिन्छ। बेपत्ताको अवस्था फरक हुन्छ। परिवार आशा र निराशाबीच हुन्छ। ‘आज भेटिन्छ कि !’ भन्ने आशा हुन्छ। ‘भोलि खबर आउँछ कि !’ भन्ने प्रतीक्षा हुन्छ। यस्तो अनिश्चितताले मानसिक तनाव अझ बढाउन सक्छ।

भोटेकोसी बाढीपछि पनि यस्ता परिवार धेरै छन्। उनीहरू शवको खोजीमा छन्। उनीहरू आफन्तको खबर खोजिरहेका छन्। उनीहरू सामाजिक सञ्जालमा आएका तस्बिर हेरिरहेका छन्। उनीहरू अस्पताल र उद्धार केन्द्र धाइरहेका छन्। त्यसैले उनीहरूको मानसिक स्वास्थ्यलाई पनि विपद् व्यवस्थापनको प्राथमिकतामा राख्नुपर्छ।

बालबालिका सबैभन्दा संवेदनशील

भोटेकोसी बाढीबाट रसुवा, नुवाकोट र धादिङ जिल्लाका १४ हजारभन्दा बढी बालबालिकाको पठनपाठन अवरुद्ध छ। शिक्षा विभागका सूचना अधिकारी निमप्रकाश राठौरका अनुसार तीन जिल्लाका ६३ विद्यालय बाढीबाट प्रभावित बनेका छन्। बाढीबाट अझै ३९६ विद्यार्थी र २१ शिक्षक बेपत्ता छन् भने २० विद्यार्थी र दुई शिक्षकको शव फेला परेको छ।

विपद्पछि बालबालिकाको व्यवहारमा परिवर्तन आउन सक्छ। उनीहरू एक्लै बस्न डराउन सक्छन्। अँध्यारोदेखि डराउन सक्छन्। आमाबुबाबाट टाढा हुन चाहँदैनन्। विद्यालय जान डराउन सक्छन्। बारम्बार एउटै घटना सम्झिन सक्छन्।

कतिपय बालबालिका चुप लाग्छन्। कतिपय असामान्य रूपमा रिसाउन थाल्छन्। कतिपयले पहिले सिकेका व्यवहार बिर्सन सक्छन्। त्यसैले बालबालिकालाई घटना ‘बिर्सिहाल’ भन्नु पर्याप्त हुँदैन। उनीहरूको कुरा सुन्नुपर्छ। उनीहरूलाई सुरक्षित महसुस गराउनुपर्छ। उनीहरूलाई सामान्य दिनचर्यामा फर्काउनुपर्छ।

विद्यालय पुनः सञ्चालन गर्नु पनि मनोसामाजिक उपचारको एउटा माध्यम बन्न सक्छ। साथीहरूसँग भेटघाट हुनु, खेल्न पाउनु, शिक्षकसँग कुरा गर्न पाउनु, नियमित दिनचर्यामा फर्कन पाउनु— यी सबैले बालबालिकाको मनलाई स्थिर बनाउन सहयोग गर्छ।

पीडित मात्र होइन, उद्धारकर्मी पनि प्रभावित

विपद्मा पीडित हुने मानिस मात्र हुँदैनन्; उद्धारमा खटिएका सुरक्षाकर्मी पनि प्रभावित हुन्छन्। स्वास्थ्यकर्मी प्रभावित हुन्छन्। पत्रकार प्रभावित हुन्छन्। स्वयंसेवक प्रभावित हुन्छन्। उनीहरूले घाइते मानिस देख्छन्। मृत शरीर देख्छन्। आफन्त रोइरहेको देख्छन्।

कहिलेकाहीँ आफ्नै चिनजानका मानिसको शव उठाउनुपर्छ। यस्ता अनुभवले उनीहरूको मनमा पनि गहिरो असर पार्न सक्छ। त्यसैले उद्धारमा खटिएका व्यक्तिलाई पनि आराम चाहिन्छ, परामर्श चाहिन्छ। आफ्नो अनुभव सुनाउने अवसर चाहिन्छ। ‘तिमी त उद्धारकर्मी हौं, तिमी बलियो हुनुपर्छ’- यस्तो सोच सधैं सही हुँदैन। उद्धारकर्मी पनि मानिस नै हुन्। उनीहरूलाई पनि पीडा हुन्छ।

पत्रकारका लागि पनि मनोपरामर्श आवश्यक

विपद्को रिपोर्टिङ गर्ने पत्रकार पनि जोखिममा हुन्छन्। पत्रकार घटनास्थलमा पुग्छ। मृत्यु देख्छ। घाइते देख्छ। आफन्तको रोदन सुन्छ। कहिलेकाहीँ लगातार धेरै दिनसम्म त्यही दृश्यमा रहनुपर्छ। समाचार तयार गर्नुपर्ने दबाब हुन्छ। तस्बिर लिनुपर्ने दबाब हुन्छ। भिडियो बनाउनुपर्ने हुन्छ। प्रत्यक्षदर्शीसँग कुरा गर्नुपर्ने हुन्छ।

मनोसामाजिक सहयोग विपद् आएपछि मात्र सुरु गर्ने कार्यक्रम हुनुहुँदैन; विपद् आउनुअघि नै योजना हुनुपर्छ।

तर रिपोर्टिङ सकिएपछि पत्रकारको मनमा के भयो भन्ने प्रश्न कमै सोधिन्छ। उसलाई पनि डर लाग्न सक्छ। निद्रा बिग्रन सक्छ। घटना सम्झिरहन सक्छ। ध्यान विचलित हुन सक्छ। पत्रकारको पनि आफन्त र प्रियजनले ज्यान गुमाएको हुन सक्छ। बेपत्ता तथा घाइते भएको हुन सक्छ। त्यसैले सञ्चारमाध्यमले आफ्ना पत्रकारका लागि पनि मनोसामाजिक सहयोगको व्यवस्था गर्नुपर्छ।

मनोपरामर्श : डर होइन, उपचार

नेपालमा मानसिक स्वास्थ्यबारे अझै गलत धारणा छ। ‘मनोपरामर्श लिनु भनेको मानसिक रोगी हुनु हो’ भन्ने सोच पाइन्छ। यो सोच बदल्न आवश्यक छ। विपद्पछि मनोपरामर्श लिनु सामान्य प्रक्रिया हो। यसले मानिसलाई आफ्नो भावना बुझ्न सहयोग गर्छ। डर व्यवस्थापन गर्न सहयोग गर्छ। आघात सामना गर्न सहयोग गर्छ। सबैलाई औषधि आवश्यक पर्दैन। सबैलाई मनोचिकित्सक नै आवश्यक पर्दैन।

पहिलो चरणमा सुरक्षित वातावरण आवश्यक हुन्छ। सुन्ने मानिस आवश्यक हुन्छ। सामाजिक सहयोग आवश्यक हुन्छ। तर समस्या लामो समयसम्म रह्यो भने विशेषज्ञको सहयोग लिनुपर्छ।

समयले सबै ठीक गर्छ’ मात्र पर्याप्त छैन

विपद्पछि एउटा भनाइ धेरै सुनिन्छ- ‘समयसँगै सबै ठीक हुन्छ।’

समयले धेरै कुरा सहज बनाउन सक्छ। तर सबै समस्या आफैं समाधान हुँदैनन्। २०७२ को भूकम्पपछि गरिएको अध्ययनले पनि मानसिक स्वास्थ्य समस्याको ठूलो मात्रा देखाएको थियो। त्यसैले पीडितलाई समयसँगै विशेषज्ञ सहयोग पनि आवश्यक पर्न सक्छ। विशेषगरी लामो समयसम्म डर रहने, निद्रा नलाग्ने, घटना बारम्बार सम्झिने, अत्यधिक चिन्ता हुने, सामान्य काम गर्न नसक्ने, एक्लोपन बढ्ने, निराशा बढ्नेजस्ता सङ्केतलाई बेवास्ता गर्नुहुँदैन।

राहतको परिभाषा बदल्नुपर्छ

विपद्पछि राहतको अर्थ धेरैले खाद्यान्न सम्झन्छन्। कपडा सम्झन्छन्। टेन्ट सम्झन्छन्। औषधि सम्झन्छन्। यी सबै आवश्यक छन्। तर राहतको अर्को पाटो पनि छ- मनको राहत।

पीडितलाई सुरक्षित महसुस गराउनु, उसको कुरा सुन्नु, आफन्त गुमाएको शोकमा साथ दिनु, बेपत्ताको परिवारलाई मनोसामाजिक सहयोग दिनु, बालबालिकाको डर कम गर्नु, उद्धारकर्मीलाई परामर्श दिनु— यी सबै राहतका हिस्सा हुन्।

मनोसामाजिक योजना अनिवार्य

२०७२ को अनुभवले नेपाललाई ठूलो पाठ दिएको थियो। विभिन्न अध्ययनले त्यतिबेला ‘नेपालमा मानसिक स्वास्थ्य तथा मनोसामाजिक सहयोगको तयारी र समन्वय पर्याप्त नभएको’ उल्लेख गरेका थिए। भूकम्पपछि एक महिनामा मनोसामाजिक सहयोगका लागि छुट्टै समन्वय संरचना बनाइएको थियो। तर धेरै काम तत्कालीन र अस्थायी ढङ्गले अघि बढेको अध्ययनले देखाएको थियो।

विपद्पीडितको घर पुनर्निर्माण गर्नु आवश्यक छ। तर घरसँगै उसको जीवन पनि पुनर्निर्माण गर्नुपर्छ।

मनोसामाजिक सहयोग विपद् आएपछि मात्र सुरु गर्ने कार्यक्रम हुनुहुँदैन; विपद् आउनुअघि नै योजना हुनुपर्छ। हरेक जिल्लामा प्रशिक्षित जनशक्ति हुनुपर्छ। स्थानीय तहमा मनोसामाजिक टोली हुनुपर्छ। स्वास्थ्य संस्था तयार हुनुपर्छ। विद्यालयसँग समन्वय हुनुपर्छ। सुरक्षाकर्मीका लागि पनि व्यवस्था हुनुपर्छ। स्थानीय स्वयंसेवकलाई आधारभूत मनोसामाजिक सहयोगको तालिम दिन सकिन्छ।

पीडापछि पुनर्जीवन

विपद्पीडितको घर पुनर्निर्माण गर्नु आवश्यक छ। तर घरसँगै उसको जीवन पनि पुनर्निर्माण गर्नुपर्छ। उसलाई काममा फर्काउनुपर्छ। बालबालिकालाई विद्यालयमा फर्काउनुपर्छ। परिवारलाई सामाजिक सम्बन्धमा फर्काउनुपर्छ। समुदायलाई सामान्य जीवनतर्फ लैजानुपर्छ। यसैलाई वास्तविक पुनःस्थापना भन्न सकिन्छ।

विपद्पछि सडक बनाउनु पुनर्निर्माण हो, घर बनाउनु पुनर्निर्माण हो। तर डराएको मानिसलाई फेरि निर्धक्क बनाउनु पनि पुनर्निर्माण हो।

विपद्को क्षति प्रायः अङ्कमा गरिन्छ— कति मानिस मरे ? कति घाइते भए ? कति घर भत्किए ? कति सडक बगे ? कति पुल बगे ?

यी तथ्याङ्क आवश्यक छन्। तर एउटा तथ्याङ्क कहिलेकाहीँ कुनै रिपोर्टमा आउँदैन— कति मानिसको मन भाँचियो ? यसको गणना गर्न कठिन हुन्छ। तर यसको पीडा वास्तविक हुन्छ।

२०७२ को भूकम्पले नेपाललाई यो पाठ दिएको थियो। २०८३ भदौ १० गतेको भोटेकोसी बाढीले फेरि त्यही पाठ सम्झाएको छ। विपद्पछि घाउमा मलम लगाउनुपर्छ, घरमा छानो हाल्नुपर्छ, खाना दिनुपर्छ। सँगसँगै मनमा बसेको डर पनि सुन्नुपर्छ। किनकि विपद्को अन्त्य पानी घटेपछि हुँदैन। पहिरो रोकिएपछि हुँदैन। उद्धार सकिएपछि हुँदैन। विपद्को वास्तविक अन्त्य त्यतिबेला हुन्छ, जब पीडित मानिस फेरि सुरक्षित महसुस गर्न थाल्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?