Comments Add Comment

अनलाइनबाट परीक्षा सञ्चालन गर्न माग गर्दै हेटौंडाको वन विज्ञान क्याम्पसमा तालाबन्दी

२६ साउन, काठमाडौं । अनलाइनबाट परीक्षा सञ्चालन गर्न माग गर्दै वन विज्ञान अध्ययन संस्थान हेटौंडाको डिन कार्यालयमा विद्यार्थी संगठनहरुले तालाबन्दी गरेका छन् ।

परीक्षाको तयारी गरिरहेका विद्यार्थीमा कोरोना संक्रमण देखिने क्रम बढ्दै गएकाले भौतिक उपस्थितिमा परीक्षा सञ्चालन नगर्न माग गर्दै अनेरास्ववियू, नेपाल विद्यार्थी संघ र अनेरास्ववियू (क्रान्तिकारी) ले  डीन कार्यालयमा मंगलबारबाट अनिश्चितकालका लागि तालाबन्दी गरेका हुन् ।

साउन १४ र १५ गते संयुक्त विद्यार्थी संगठनद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएका आधारभूतमाग क्याम्पस प्रशासनले सम्बोधन नगरेको र अहिलेको विषम परिस्थितिमा भौतिक उपस्थितिमा परीक्षा सञ्चालन गर्ने वातावरण नरहेको संयुक्त विद्यार्थी संगठनले जनाएका छन् ।

संयुक्त विद्यार्थी संगठनले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘हालसालै १० जनाभन्दा बढी विद्यार्थीमा कोरोना संक्रमण देखिएको र सो दर बढ्ने क्रममा रहेका परिवेशमा म्याम्पस प्रशासन आफ्नो जिम्मेवारीबाट पन्छिएको र डिन कार्यालयले यस्तो भयावह अवस्थामा विद्यार्थीको स्वास्थ्य अवस्था बेवास्ता गरी भौतिक उपस्थितिमा परीक्षा जस्तोसुकै अवस्थामा गराउने अभिव्यक्ति दिएकोमा हाम्रो घोर आपत्ति रहेको छ ।’

उनीहरुले लिखित सम्झौता गरेर माग पूरा नभएसम्म डिन कार्यालयमा तालाबन्दी गरिने बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment