Comments Add Comment

अझै उकालो लाग्दैछ कोरोना संक्रमण

निषेधाज्ञा खुकुलको भएपछिको हेलचेक्र्याइँ प्रमुख कारण

कोरोना भाइरसको खोप लगाउन लाइन लागेका सर्वसाधारण ।

२६ साउन, काठमाडौं । वैशाख २८ गते एकैदिन ९,४८३ जनामा संक्रमण पुष्टि भएपछि कोरोना संक्रमितको संख्या विस्तारै घट्दै गएको थियो । यो संख्या असार २० मा १,६०३ जनामा झर्‍यो । त्यसयता केही समय स्थिर र त्यसपछि क्रमश संक्रमितको संख्या बढ्दै मंगलबार ४९०४ मा पुगेको छ ।

पछिल्लो २४ घण्टामा १९,१२३ नमुना (पीसीआर र एन्टिजेन) परीक्षण गर्दा ४,९०४ जनामा संक्रमण पुष्टि भएको छ । यो भनेको प्रत्येक चार जनामा गरेको परीक्षणमा एक जना संक्रमित हुनु हो । मंगलबार थपिएको यो संक्रमित संख्या दोस्रो लहरको न्युनतम विन्दुमा फेला परेको संक्रमित संख्याभन्दा तीन गुणाले बढी हो भने जेठ २६ गतेयताकै उच्च संख्या पनि हो ।

जेठ २६ गतेको अघिल्लो दिन १७,६७६ नमुना परीक्षण गर्दा ५,१५३ जनामा संक्रमण पुष्टि भएको थियो । वैशाख २८ गतेयता लामो समय संक्रमण स्थिर रह्यो । त्यसको झण्डै दुई महिना पछि असार २० गते १,६०३ संक्रमित फेला परेको थियो ।

संक्रमण दर २० प्रतिशतभन्दा माथि नै कायम रहेको अवस्थामा निषेधाज्ञामा खुकुलो बनाइएको र नागरिकले जनस्वास्थ्य मापदण्ड पालनामा हेलचेक्र्याइँ गरेकाले संक्रमण घट्नुको साटो बढ्दै गएको संक्रामक रोग विशेषज्ञ डा. प्रभात अधिकारी बताउँछन् ।

असार २० गतेयता १५ दिनसम्म संक्रमितको संख्या दुई देखि तीन हजारबीचमा रहेकामा साउन ५ गते ३,१२३ संक्रमित फेला परे । त्यसयता तीन दिन लगातार कोरोना संक्रमण ३ हजार नजिक भेटियो । तर साउन ९ गतेपछि भने संक्रमितको संख्या तीन हजार माथि छ ।

साउन २० गते ४,१०७ संक्रमित फेला परेकोमा त्यसको ५ दिनपछि मंगलबार ४९०४ जना संक्रमित थपिएका हुन् ।

पहिलो लहरकै उच्च विन्दुनजिक

पछिल्लो २४ घण्टामा थपिएका कोरोना संक्रमित संख्या पहिलो लहरकै उच्च विन्दु नजिक छ ।

पहिलो लहर उत्कर्षमा पुग्दा २०७७ कात्तिक १० गते एकैदिन ५,७४३ जना संक्रमित थपिएका थिए । लकडाउन खुकुलो भएको दुई हप्तापछि संक्रमण उच्च विन्दुमा पुगेको थियो । प्रतिशतको हिसाबमा पहिलो लहर उत्कर्षमा पुग्दा संक्रमण दर ३५ प्रतिशत थियो । पहिलो लहरमा सबैभन्दा कम संक्रमित २०७७ चैत्र १ गते ५३ जना मात्रै संक्रमित फेला परेका थिए ।

के भन्छन् विज्ञ ?

बढी संक्रामक डेल्टा भेरियन्ट समुदायभित्र यथावत रहेको अवस्थामा निषेधाज्ञा खुकुलो भएकाले संक्रमण बढ्न पुगेको संक्रामक रोग विशेषज्ञ डा. प्रभात अधिकारी बताउँछन् ।

संक्रमण दर २० प्रतिशतभन्दा माथि नै कायम रहेको अवस्थामा निषेधाज्ञामा खुकुलो बनाइएको र नागरिकले जनस्वास्थ्य मापदण्ड पालनामा हेलचेक्र्याइँ गरेकाले संक्रमण घट्नुको साटो बढ्दै गएको उनको भनाइ छ ।

निषेधाज्ञाको समयमा सोचे जति संक्रमण घटाउन नसकिएको उनी बताउँछन् । ‘निषेधाज्ञाको समयमा संक्रमण दर ५ प्रतिशतमा झारेर खुकुलो बनाउन पाएको भए अहिले सहज हुन सक्थ्यो । तर संक्रमण समुदायभित्रै कायम रहेको अवस्थामा खुकुलो पारियो । जनस्वास्थ्यको मापदण्ड कडाइका साथ पालना हुन सकेन । जसले गर्दा संक्रमण घट्नुका साटो बढी रहेको छ’ डा. अधिकारीले भने ।

संक्रमण कसरी घटाउन सकिन्छ ?

पहिलो लहरमा भेटिएको भाइरसभन्दा दोस्रो लहरमा भेटिएको डेल्टा भेरियन्ट तीन गुणा बढी संक्रामक रहेको उनी बताउँछन् ।

‘यो भेरियन्टबाट एकजना संक्रमितले ९/१० जनासम्मलाई संक्रमण फैलाउन सक्छ । बढी भीडभाड भएको ठाउँमा यसले ४० जनाभन्दा बढीलाई पनि संक्रमण फैलाउन सक्छ । त्यसैले यसको रोकथाम तथा नियन्त्रणमा जति इफोर्ट लगाउनुपर्ने हो त्यो हुन सकेन । जसले संक्रमण उकालो लागिरहेको छ’ डा. अधिकारीले भने ।

बढ्दो क्रममा रहेको संक्रमण घटाउनका लागि उनको चारवटा सुझाव छ ।

पहिलो, छिटोभन्दा छिटो सबै नागरिकलाई कोभिड–१९ विरुद्धको खोप लगाउने व्यवस्था मिलाउने ।

दोस्रो, जोखिम क्षेत्रको पहिचान गरी स्मार्ट लकडाउन गर्ने । दैनिक संक्रमित पहिचान हुने संख्या, संक्रमण दर, भौतिक पूर्वाधार एवं जनशक्तिको क्षमतालाई पहिचान गरी जोखिम क्षेत्रमा मात्रै स्मार्ट लकडाउन गर्नुपर्ने उनको सुझाव छ ।
तेस्रो, समुदायमा पहिचान भएका संक्रमितलाई आइसोलेट गरी कन्ट्याक्ट ट्रेसिङको आधारमा परीक्षणको दायरा फराकिलो पार्ने ।

चौथो, सर्वसाधारण नागरिकमाझ जनेचताना फैलाउने । जनस्वास्थ्यका मापदण्ड पालना लगायत संक्रमितको क्लोज कन्ट्याक्टमा परेको अवस्थामा आफैं आएर परीक्षण गराउन योग्य बनाउन सके समुदायमा संक्रमण फैलनबाट जोगाउन सकिन्छ ।

कुन–कुन प्रदेशमा बढे संक्रमण ?

पछिल्लो २४ घण्टामा बागमती प्रदेशमा सबैभन्दा बढी संक्रमित थपिएका छन् । बागमतीमा ८९४३ पीसीआर पीरीक्षण गर्दा १,८८६ नयाँ संक्रमित थपिएका छन् ।

प्रदेश १ मा १९३१ पीसीआर परीक्षण गर्दा ६३० नयाँ संक्रमित थपिएका छन् । साउन २० गते प्रदेश १ मा ५४२ संक्रमित थपिएका थिए ।

यस्तै गण्डकी प्रदेशमा मंगलबार १२३६ जनाको पीसीआर परीक्षण गर्दा ४६९ संक्रमित थपिएका छन् । साउन २० गतेको तुलनामा गण्डकीमा १७४ जना बढी नयाँ संक्रमित थपिएका हुन् ।

सुदूरपश्चिम प्रदेशमा साउन २० गतेको तुलनामा मंगलबार १३ जना बढी नयाँ संक्रमित थपिएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।

लुम्बिनी र कर्णाली प्रदेशमा भने साउन २० गतेको तुलनामा मंगलबार नयाँ संक्रमित घटेको तथ्यांकमा उल्लेख छ । लुम्बिनीमा साउन २० गते १४१ संक्रमित फेला परेकोमा मंगलबार ९६ जना मात्रै थपिएका छन् ।

यस्तै कर्णालीमा साउन २० गते ७५ संक्रमित थपिएकामा मंगलबार ४७ जना मात्रै नयाँ संक्रमित थपिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Author Info
प्रेम लामा

ट्रेन्डिङ

Advertisment