Comments Add Comment

त्रिविको परीक्षा वैकल्पिक माध्यमबाट गर्न माग

२६ साउन, काठमाडौं । त्रिभुवन विश्वविद्यालयका विद्यार्थीले वैकल्पिक माध्यमबाट परीक्षा गराउन माग गर्दै अभियान थालेका छन् । यो अभियानमा सहभागी केही विद्यार्थीले मंगलबार पद्य कन्या क्याम्पस अगाडि प्रदर्शन गरेको भिडियो समाजिक सञ्जालमा भाइरल भएको छ ।

व्यवस्थापन संकायको डिन कार्यलयले लिने स्नातक तहको सेमेष्टर तर्फको परीक्षा मंगलबारदेखि शुरु भएको छ । दोस्रो, चौथो र छैटौं समेष्टरको परीक्षा भौतिक उपस्थितिमा नभई वैकल्पिक माध्यमबाट हुनुपर्ने विद्यार्थीहरुको माग छ ।

भिडभाडपूर्ण विद्यार्थीहरुको आन्दोलनको भिडियो सार्वजनिक भएपछि उनीहरुको आलोचना पनि हुन थालेको छ । तर विद्यार्थीहरुले भने शान्तिपूर्ण प्रर्दशन गरिरहेको बेला प्रहरीले हस्तक्षेप गरेपछि भिडभाडको स्थिति आएको बताउँछन् ।

‘ह्यास ट्याग क्यान्सिल टियु एक्जाम’ अभियानमा संलग्न सगुन कँडेलले आफ्नो लागि आफैं बोलौं भन्ने लागेर यो अभियानमा सहभागी भएको बताउँछिन् । सामाजिक सञ्जालमार्फत सहभागिता जनाइरहेकी उनी प्रर्दशनको पक्षमा भने नभएको बताइन् ।

‘म प्रर्दशनको पक्षमा छैन । तर केही साथीहरुले सामाजिक सञ्जालबाट आवाज नसुनेको भनेर प्रर्दशन गर्नुभएछ । शान्तिपूर्ण प्रदर्शन गरिरहेका साथीको प्रवेश पत्र प्रहरीले खोसेर च्यातेपछि त्यस्तो स्थिति सिर्जना भएको हो’ उनले भनिन् ।

पद्य कन्या क्याम्पस परीक्षा केन्द्रमा नै सहभागी भएकी विद्यार्थी दीपिका गुरागाईंले भने परीक्षा हल व्यवस्थित भए पनि बाहिर भिडभाड हुने बताइन् । ‘हलभित्र त ठीकै छ । तर परीक्षा शुरु हुन अघि र सकिएपछि एकदमै भिड हुन्छ’ उनले भनिन् ‘विद्यार्थी आफै सचेत हुनुपर्छ भन्नुहुन्छ । एक घन्टा अगाडी आएर एक घन्टा पछाडी जानुपर्ने होर !’

वैकल्पिक माध्यामबाट हुँदैन : शर्मा

त्रिवि व्यवस्थापन संकायका डिन प्रा.डा. डिल्लीराज शर्माले भने प्रदर्शनकारी विद्यार्थीको स्पष्ट पहिचान नखुलेको बताएका छन् । अनलाइनखबरसँग कुरा गर्दै उनले भने ‘जानकारी पाएपछि म र सहायक डिन सर पुगेका थियौं । त्यसबेला सबै विद्यार्थी परीक्षा हलभित्र प्रवेश गरिसकेका थिए । विद्यार्थीले शान्त वातावरणमा परीक्षा दिइरहेका थिए । प्रदर्शन गर्ने को कहाँका विद्यार्थी थिए स्पष्ट जानकारी भएन ।’

डिन शर्माले परीक्षामा सहभागी विद्यार्थीले कुनै असहज महसुस नगरेको, स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरिएको दाबी गरे । उनी लगायत सहायक डिनहरुले उपत्यकाका विभिन्न परीक्षा केन्द्रको अनुगमन गर्दा स्वास्थ्य सुरक्षाको मापदण्ड सहित शान्तिपूर्ण तरिकाले परीक्षा भएको बताए ।

उनले भने ‘मैले विद्यार्थीलाई सोधे केही अप्ठ्यारो अथवा समस्या छ भन्दा केही विद्यार्थीले केही समस्या नभएको बताए । अधिकांश त लेख्नमा नै व्यस्त थिए । त्यस्तो अवस्थामा सीमित विद्यार्थीको माग अनुसार परीक्षा वैकल्पिक माध्यामबाट हुँदैन ।’

डिन कार्यलयले अहिले ३८ परीक्षा केन्द्रमा परीक्षा सञ्चालन भइरहेको जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment