Comments Add Comment

प्रत्येक प्रदेशमा जलाशययुक्त विद्युत आयोजना अघि बढाइनेछ : ऊर्जामन्त्री भुसाल

२७ साउन, काठमाडौं । सरकारले प्रत्येक प्रदेशमा अर्धजलाशय र जलाशययुक्त विद्युत आयोजना अघि बढाउने भएको छ । बुधबार ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा भएको पत्रकार सम्मेलनमा मन्त्री पम्फा भुसालले प्रत्येक प्रदेशमा अर्धजलाशय र जलाशययुक्त आयोजना अघि बढाउने जानकारी दिइन् ।

प्रदेश १ मा दूधकोशी र तमोर आयोजना अघि बढाउन लागेको उनले बताइन् । यस्तै प्रदेश २ मा ऊर्जाबाट विद्युत उत्पादन तयारी गरिएको, बागमतीमा कुलेखानी र सुनकोसी–३, गण्डकी प्रदेशमा बुढीगण्डकी आयोजना अघि बढाइने उनको भनाइ छ ।

यसैगरी लुम्बिनी प्रदेशमा नौमुरे, माडी, कर्णालीमा नलगाड र सुदुरपश्चिममा सेती जलविद्युत आयोजना उत्पादनको काम अगाडि बढाउने मन्त्री भुसालले बताइन् ।

निर्माणाधिन आयोजना समयमै सम्पन्न गर्ने, निजी क्षेत्रबाट निर्माणाधीन आयोजनाहरु छिटो सम्पन्न गर्न आवश्यक समन्वय, सहजीकरण र अनुगमनको कार्यलाई प्रभावकारी बनाउने, निर्माणाधीन प्रसारण लाइनहरु तोकिएको समयमा सम्पन्न गर्न आवश्यक संयन्त्र बनाएर अनुगमनको कामलाई अगाडि बढाउने पनि उनले बताइन् ।

मन्त्री भुसालले कालीगण्डकी, मस्र्याङ्दी, कोशी, दोर्दी, चिलिमे, खिम्ती–काठमाडौं, मर्स्याङ्दी–काठमाडौं आदि करिडोरका प्रसारण लाइनहरु सम्पन्न गर्ने, इनरुवा–ढल्केवर–हेटौंडा ४०० केभी लाइनलाई निर्माण सम्पन्न गर्ने, बुटवल–गोरखपुर, बुटवल–अत्तरिया, कर्णाली करिडोर, भेरी करिडोर, सेती करिडोर र कोशी करिडोरको ४०० केभी प्रसारण लाइन निर्माण अगाडि बढाउने जानकारी दिइन् । सबै जिल्लामा २ वर्षभित्र पूर्ण रुपमा विद्युतीकरण गर्ने, राष्ट्रिय प्रसारण लाइन भौगोलिक कारणले पुग्न नसकेका ठाउँमा वैकल्पिक ऊर्जाद्वारा विद्युतीकरण गर्ने पनि उनले बताइन् ।

हाल १६.९३ प्रतिशत विद्युत चुहावट रहेकोमा त्यसलाई १४ प्रतिशतमा झार्ने कार्यक्रम अघि सारेको पनि मन्त्री भुसालले उल्लेख गरिन् ।

उनले जल तथा मौसम विज्ञान विभागले विश्वसनीय र भरपर्दो जल तथा मौसम सेवा उपलब्ध गराउने, स्यालो ट्युवेल सीमान्तकृत र साना किसानहरुको जीवनस्तर उठाउने माध्यम भएको बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment