Comments Add Comment

नारायणहिटी संग्रहालयमा राष्ट्रपतिको सवा दुई घण्टे अनौपचारिक भ्रमण (फोटो फिचर)

३० साउन, काठमाडौं । सरकारले जारी गरेको निषेधाज्ञाका कारण करिब-करिब साढे तीन महीनादेखि बन्द रहेको नारायणहिटी दरबार यतिबेला सुनसान छ । बन्द अवस्थामा संग्रहालयका कर्मचारीहरु आन्तरिक साजसज्जा र बन्द कोठा खोल्ने तयारीमा व्यस्त छन् ।

अहिले दरबारभित्रको रंगरोगन सकिएको छ । बाहिरको फोहोरा बगैँचाको साजसज्जाको काम चलिरहेको नारायणहिटी दरबार संग्रहालय तथा गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालन विकास समितिका कार्यकारी निर्देशक भेषनारायण दाहालले जानकारी दिए ।

यही काम चलिरहेकै बेलामा शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीले नारायणहिटी दरबार संग्रहालयको अवलोकन भ्रमण गर्ने कार्यतालिका रहेको जानकारी संग्रहालयका अधिकारीहरुलाई आयो ।

राष्ट्रपतिको यो भ्रमण औपचारिक थिएन । त्यसैले धेरै बन्दोबस्त गरिरहन आवश्यक थिएन । अनौपचारिक रुपमा नारायणहिटी दरबारको अहिलेको अवस्थाको अवलोकन गर्न राष्ट्रपति आएकी थिइन् । शुक्रबारको भ्रमणमा अरु बेलामा जस्तो बढी तामझाम थिएन । उनी एउटा अवलोकनकर्ताको रुपमा संग्रहालयको सबै कोठा हेरेर अपराहृन ५ बजे मात्रै शीतल निवास फर्किइन् ।

करिब सवा २ घण्टा नारायणहिटीमा बिताएकी भण्डारीले सर्वसाधारणले अवलोकन गर्ने रुटबाट मूल दरबारको अवलोकन गरी श्री सदनको पनि भ्रमण गरेकी थिइन् । भ्रमणको क्रममा उनले राजारानीले चलचित्र हेर्ने फिल्महलको समेत अवलोकन गरेकी थिइन् ।

भ्रमणको क्रममा संग्रहालयमा रहेका समस्याको बारेमा पनि संग्रहालयका अधिकारीहरुले बि्रफिङ गरेका थिए । तर राष्ट्रपति भण्डारीले बि्रफिङ सुने पनि कुनै प्रतिकि्रया नदिई फर्किएको संग्रहालयका अधिकारीहरुले बताए ।

नारायणहिटी दरबार संग्रहालय तथा गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालन विकास समितिका कार्यकारी निर्देशक दाहाल भन्छन् ‘यो उहाँको अनौपचारिक भ्रमण थियो । तर हामीले भ्रमणपछि आफूहरुको समस्या पनि सुनायौं ।’

अहिले नारायणहिटी संग्रहालय बन्द रहेका कक्षहरु खोल्ने काम धमाधम चलिरहेको दाहाल बताउँछन् । यही क्रममा गत आर्थिक वर्षको अन्तिममा संग्रहालयले राजारानीले चलचित्र हेर्ने फिल्महलको प्रविधि खरिद गरेको छ । चालु आर्थिक वर्षभित्रै यो सञ्चालनमा ल्याउने संग्रहालयको तयारी छ ।

त्यस्तै, दाहालका अनुसार अझै पनि राजाको सैलुन कक्ष, पुस्तकालय जस्ता कक्षहरु खुला गर्न सकिएको छैन । यो पनि छिट्टै खुला गर्ने तयारी संग्रहालयले गरिरहेको छ । त्यही बन्द कक्ष खुला गर्न परेको समस्या लगायतको विषयमा राष्ट्रपति समक्ष समस्या सुनाएको दाहालले जानकारी दिए ।

तस्वीर सौजन्य  : नारायणहिटी संग्रहालय

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Author Info
सुदर्शन अर्याल

ट्रेन्डिङ

Advertisment