Comments Add Comment

पालुङटार नगरपालिकामा कुमाल समुदायको संग्रहालय बन्ने

३० साउन, गोरखा । पालुङटार नगरपालिका–७ कोलडाँडामा कुमाल समुदायको संग्रहालय बन्ने भएको छ । कुमाल समुदायको भेषभुषा र संस्कृति झल्कने गरी संग्रहालय निर्माण गर्न लागिएको नगरपालिकाले जनाएको छ ।

गोलघर निर्माण गरेर कुमाल समुदायको भेषभूषा र संस्कृति झल्कने परम्परागत सामानहरु राखिने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तेजराज शर्माले बताए ।

संग्रहालयमा राख्ने सामानहरु कुमाल समुदायबाट संकलन गरिने उनले जानकारी दिए । ‘कुमाल समुदायको घरमा भएका परम्परागत सामानहरु जो प्रयोगमा छैनन् त्यो सामानहरु संग्रहालयमा राख्ने योजना बनाएका छौं,’ उनले भने ।

संग्रहालय निर्माणका लागि नगरपालिकाले गत बर्ष नै २० लाख रकम विनियोजन गरिसकेको छ । तर कोभिड–१९ महामारीका कारण काम शुरु गर्न नसकिएको नगर प्रमुख दीपकबाबु कँडेलले बताए ।

‘संग्रहालय बनाउने भन्ने हाम्रो तीन बर्ष देखिको योजना हो,’ उनले भने, ‘पहिलो बर्ष जग्गा विवादका कारण काम शुरु गर्न सकिएन, दोस्रो बर्ष कोभिड भयो, यो बर्ष बल्ल काम शुरु गरेका छौं ।’

चालु आर्थिक बर्ष पनि रकम विनियोजन गरिएको उनले बताए । पालुङटार नगरपालिकाको कुल जनसंख्यामध्ये १२ प्रतिशत कुमाल समुदायको बसोबास रहेको छ । ‘कुमाल समुदायको बसोबास बाक्लै भएकाले उनीहरुको भाषा र संस्कृति संरक्षण गर्ने उदेश्यले संग्रहालय निर्माण गर्न लागेका हौ‌ं ।’

संग्रहालयको शुक्रबार नगर प्रमुख कँडेलले शिलन्यास गरेका छन् । स्थानीय कुमाल समुदायले उपलब्ध गराएको आठ आना जग्गामा संग्रहालय बनाउन लागिएको हो ।

‘जग्गा स्थानीय कुमाल समुदाय आफैंले पैसा उठाएर किन्नुभएको हो,’ कँडेलले भने, ‘संग्रहालय निर्माणका लागि भनेर हामीलाई निशुल्क उपलब्ध गराउनुभएको छ ।’

सँगै रहेको सार्वजनिक जग्गालाइ समेटेर पार्क समेत निर्माण गर्ने लक्ष्य रहेको उनले जानकारी गराए । उनका अनुसार यो कामका लागि गण्डकी प्रदेश सरकारले पनि ५० लाख रुपैयाँ उपलब्ध गराउने प्रतिवद्धता गरेको छ ।

संग्रहालय निर्माणका लागि सनद निर्माण सेवासँग ठेक्का सम्झौता भएको छ । पुष मासन्तसम्ममा काम सक्नुपर्ने गरी ठेक्का लगाइएको इन्जिनियर सन्दीप मरहट्टाले बताए ।

संग्रहालय निर्माण भएसँगै कुमाल समुदायको इतिहास बुझ्नका लागि शैक्षिक भ्रमण आउने विद्यार्थीको संख्या बढ्ने अपेक्षा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment