Comments Add Comment

सप्तरीमा चोरी भएको एउटा मोटरसाइकल खोज्ने क्रममा पाँच मोटरसाइकल फेला

प्रतीकात्मक तस्वीर

३१ साउन, सप्तरी । सप्तरीमा चोरी भएको एउटा मोटरसाइकल खोज्न शुरु गरेको प्रहरीले थप चारवटा चोरीका मोटरसाइकल फेला पारेको छ ।

गत साउन २९ गते सप्तकोशी नगरपालिका–६ स्थित त्रियुगा सहकारी संस्था अगाडिबाट प्रदेश १०५–००४ प ०४८४ नम्बरको मोटरसाइकल चोरी भएको थियो । चोरिएको मोटरसाइकलको खोजी गर्ने क्रममा हनुमाननगर–कंकालिनी नगरपालिका–१ भारदहस्थित भलुवा नजिकबाट आइतबार यो मोटरसाइकल फेला परेको छ ।

मोटरसाइकल चलाउने उदयपुरको बेलका नगरपालिका–१० बस्ने २२ वर्षीय रामहरि श्रेष्ठलाई नियन्त्रणमा लिएर सोधपुछ एवं अनुसन्धान गर्दा चोरी भएका ५ मोटरसाइकल फेला पार्दै उनीसहित चार जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

पक्राउ पर्नेमा श्रेष्ठसहित सुनसरीको कोशी गाउँपालिका–८ का २३ वर्षीय मोहम्मद मासुम मियाँ, सोही ठाउँका २१ वर्षीय मोहम्मद अकबर र सप्तरीको कञ्चनरुप नगरपालिका–१२ का ३५ वर्षीय पोष्टराज खत्री छन् ।

उनीहरुको साथबाट प्रदेश १–०५–००४ प ०४८४ नम्बरको पल्सर, प्रदेश १–०२–०४१ प ३४१८ नम्बरको बुलेट, बा ९० प ३२७४ नम्बरको होण्डा एक्स आर, प्रदेश २–०३–०१३ प २०५७ नम्बरको आपाची र स.७ प ९२५७ नम्बरको यामाहा मोटरसाइकल बरामद भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता एवं डीएसपी माधवप्रसाद काफ्लेले जानकारी दिए ।

फेला परेका मोटरसाइकल विभिन्न मितिमा उनीहरुले चोरी गरेको पाइएको प्रहरीको भनाइ छ । फेला परेका चोरीका मोटरसाइकलसहित पक्राउ परेका चारैजना विरुद्ध जिल्ला अदालतबाट म्याद थपको अनुमति लिई अनुसन्धान कार्य भइरहेको काफ्लेले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment