Comments Add Comment

सहकारीले उत्पादशील क्षेत्रमा लगानी बढाएर ब्याज घटाउनुपर्छ : अर्थमन्त्री

३२ साउन, काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले लगानीको ६० प्रतिशत हिस्सा उत्पादनको क्षेत्रमा लगाउन बचत तथा ऋण सहकारलाई आग्रह गरेका छन् ।

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कुन) को ३४औं स्थापना दिवसका अवसरमा मन्त्री शर्माले यस्तो आग्रह गरेका हुन् ।

बचत तथा ऋण सहकारीहरुले घर जग्गा वा अन्य यस्तै अनुत्पादक क्षेत्रमा लगानी गरिरहेको भन्दै मन्त्री शर्माले भने, ‘तपाईहरुको लगानी केमा केन्द्रित छ ? घर जग्गा वा गाडी खरिदमा हो भने त्यसको कुनै अर्थ छैन ।’

उपभोगमुखी अर्थतन्त्रलाई उत्पादनमुखी अर्थतन्त्रमा बदल्ने योजना आफूले बनाएको भन्दै मन्त्री शर्माले त्यसमा सहयोग गर्न सहकारीहरुहरुलाई आग्रह गरे ।

‘तपाईहरुका कुनै समस्या छन र मैले निर्णय गरेर हुन्छ भने त्यसको लागि म तयार छु,’ मन्त्री शर्माले भने । उनले कम्तिमा लगानीको ६० प्रतिशत हिस्सा उत्पादनमा लगाउन समेत आहृवान गरेका छन् ।

गरिवी निवारणमा सहयोग गर्न समेत उनले आग्रह गरेका छन् । सहकारीले गरिब जनताले लिएको ऋणमा १८ प्रतिशतसम्म व्याज लिने गरेको भन्दै त्यसलाई घटाउनुपर्ने बताए ।

कतिपय सहकारीहरुले जनताको पैंसा ठगेर उठिबास लगाएका घटना देखिएको भन्दै मन्त्री शर्माले त्यसतर्फ नेफ्स्कुनले ध्यान दिन आग्रह गरे ।

उनले सहकारीका संस्थापकहरुले नै जनताको सम्पत्ति हिनामिना गर्ने क्रमलाई रोक्न नेफ्स्कुनले भूमिका खेल्ने विश्वास व्यक्त गरे । अहिलेसम्म स्थिरीकरण कोष खडा नभएकोप्रति असन्तुष्टि व्यक्त गर्दै उनले एक महिनाभित्र खडा गरेर आफूलाई जानकारी गराउन आग्रह गरे ।

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघमा ४ हजार प्रारम्भिक संस्थाहरु तथा प्रदेश र जिल्ला बचत संघहरुमार्फत ७ हजारभन्दा बढी बचत तथा ऋण सहकारी संस्थाहरु आवद्ध रहेका छन् । देशका ७६ जिल्लामा पहुँच रहेको सहकारीहरुमा ३४ लाख व्यक्तिगत सदस्यहरु आवद्ध रहेको नेफ्स्कुनले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment