+
+

सिसडोलमा सडक सुधार्न १ करोड ७० लाख बजेट

सडक डिभिजन भन्छ- स्थायी समाधान हुन्न 

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ १६ गते २०:२७

१६ भदौ, काठमाडौं । नुवाकोटको ओखरपौवास्थित सिसडोलको ल्यान्डफिल साइट पुग्ने सडक मर्मतका लागि अर्थ मन्त्रालयले १ करोड ७० लाख खर्च गर्ने सहमति दिएको छ । सडक विभागलाई विशेष परिस्थितिका लागि भन्दै अर्थले तत्काल काम अघि बढाउने गरी यस्तो सहमति दिएको हो ।

महानगरपालिकाले बुधबारदेखि फोहोर उठाउन शुरु गरेको छ । तर, सडकको अवस्था राम्रो नभएकाले फोहोर बोकेर गएका सवारीलाई ल्याण्डफिल साइटमा पुगेर फोहोर खन्याएर फर्किन कठिन छ ।

काठमाडौं सडक डिभिजन कार्यालयले तत्कालै ल्याण्डफिल साइट जाने फोहोरको थुप्रो हुँदै बनेको सडक मर्मत शुरु गरिने बताएको छ । तर, यसले स्थायी समाधान भने नदिने डिभिजन प्रमुख कुबेर नेपाली बताउँछन् ।

‘तार जाली राखेर गाडी जानसक्ने गरी सडक मर्मत गर्छौं,’ उनले भने, ‘तर, फोहोरमाथि बन्ने सडक भएकाले त्यहाँ जुनसुकै बेला समस्या पर्न सक्छ ।’

डिभिजनले यसअघि पनि सिसडोलबाट नयाँ ल्यान्डफिल साइट बनिरहेको बञ्चरेडाँडासम्म जाने सडक मर्मत गरेको थियो । तर, वर्षायाम शुरु हुनासाथै सडक भासिने समस्या देखिएको थियो ।

फोहोरको थुप्रोमाथि सडक बनाइएको र माथिबाट लिच्चडसहितको फोहोर पानी बगिरहने भएकाले सो ठाउँ हुँदै बनाइएको सडकले स्थायी समाधान नदिने नेपाली बताउँछन् ।

‘हामीले महानगरपालिकालाई बेलिब्रिज राखेर भए पनि फोहोरको थुप्रो छलेर पारिपट्टीबाट सडक बनाएर बञ्चरेडाँडा जाने सडक बनाउन अनुरोध गरेका थियौं,’ नेपालीले भने, ‘तर, महानगरपालिकाले सुनेन, हामीले अहिले गर्ने कामले पनि यो समस्या पूर्ण रुपमा हट्दैन ।’

डिभिजन प्रमुख नेपालीले ल्याण्डफिल साइटसम्मको सडक व्यवस्थापनको काम महानगरपालिकाको भए पनि आफूहरुले सिसडोलबाट बञ्चरेडाँडासम्म जाने विशेष जिम्मेवारी मात्रै लिएको दाबी गरे ।

आफूहरुले पाएको जिम्मेवारी अनुसार यसअघि नै सडक बनाएर महानगरपालिकालाई हस्तान्तरण गरिसकेकाले सडकलाई कसरी अस्थिर राखेर सहज रुपमा चलाउने भन्ने जिम्मा महानगरकै हुने उनी बताउँछन् ।

‘हामीले मुड्कुभन्ज्याङ, रातोमाटे हुँदै बञ्चरेडाँडासम्म जाने सडक मार्ग पनि फोहोर लैजाने सडकको विकल्पका रुपमा प्रयोग गर्न सुझाव दिएका थियौं,’ उनले भने, ‘अरु पनि सडकहरु पनि मर्मत गर्ने हो भने प्रयोग गर्न सकिने अवस्था छ । तर मूल रुपमा महानगरले चासो दिनुपर्‍यो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?