
१७ भदौ, गोरखा । कोभिड–१९ महामारीका कारण लामो समयदेखि बन्द रहेका जिल्लाका बिद्यालय खोल्ने निर्णय स्थानीय तहले गर्न पाउने भएकाा छन् ।
बिहीबार बसेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको वैठकले विद्यालय सञ्चालनसम्बन्धी निर्णय गर्ने अधिकार स्थानीय तहलाई दिएको छ ।
‘आफ्नो पालिकाभित्र रहेका विद्यालयहरु खोल्ने नखोल्ने निर्णय गर्ने जिम्मेवारी स्थानीय तहलाई दिएका छौ,’ निमित्त प्रमुख जिल्ला अधिकारी कमलराज भण्डारीले भने, ‘सञ्चालन गर्न परेमा जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रसँग आवश्यक समन्वय गर्न पनि भनेका छौं ।’
निजी तथा सार्वजनिक सवारीमा लागू गरिएको जोर बिजोर प्रणाली पनि हट्ने उनले बताए । भदौ १९ गतेदेखि गोरखामा सबै खालका सवारी साधन सञ्चालन हुनेछन् ।
पसल तथा होटल व्यवसाय सञ्चालनको अवधि पनि थप गरिएको छ । होटल वाहेकका अन्य व्यवसाय बिहान ५ देखि साँझ ७ बजेसम्म सञ्चालन गर्न पाइनेछ । होटलहरु भने बिहान ५ देखि साँझ ८ बजेसम्म सञ्चालन गर्न पाइने जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
हाल दैनिक उपभोग्य खाद्यान्न, तरकारी, फलफुल, कृषिजन्य विउविजन, निर्माण सामग्री, स्टेशनरी, कपडा तथा फेन्सी पसल, सुनचाँदी, टेलरिङ, फोटो स्टुडियो, भाडा तथा कस्मेटिक पसलहरु बिहान ५ देखि दिउँसो २ बजेसम्म र खाजा घर, रेष्टुरेष्ट र मिठाइ पसलहरु बिहान ५ देखि साँझ ५ बजेसम्म खुल्दै आएका छन् ।
मनकामना मन्दिरमा पूजा सञ्चालन गर्न योजना बनाउन समिति बनाइएको छ । जनप्रतिनिधि, मनकामना क्षेत्र विकास समितिका पदाधिकारी लगायत अन्य स्थानीय सरोकारवालाको समिति बनाउन र एक हप्ताभित्र योजना बनाएर प्रशासन कार्यालयमा बुझाउन भनिएको निमित्त प्रजिअ भण्डारीले बताए ।
सोही आधारमा पूजा सञ्चालनका लागि प्रशासनले आवश्यक निर्णय गर्ने उनले जानकारी दिए ।
प्रतिक्रिया 4