+
+

समाज लघुवित्तका सीईओ महतोले तोडे स्वस्तिकसँगको मर्जर

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ १७ गते १५:४८
फाइल तस्वीर : मर्जर सम्झौता गर्दै दुबै संस्थाका प्रतिनिधि ।

१७ भदौ, काठमाडौं । समाज लघुवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत किशोरी महतोले स्वस्तिक लघुवित्त वित्तीय संस्थासँगको मर्जर एकतर्फी रुपमा तोडेका छन् । मर्जर सहमति भएको करिब एक वर्षपछि सीईओ महतोले मर्जर गर्न नसक्ने भन्दै नेपाल राष्ट्र बैंकमा पत्राचार गरेका हुन् ।

गत वर्ष असोजमा यी दुई संस्थाहरुबीच मर्जर सहमति भएको थियो । समाजका सीईओ महतो मर्जरको विषयमा शुरु देखि नै सकारात्मक थिएनन् । संस्थाको सीईओ भएपनि सञ्चालक समितिमा समेत महतो निकै बलिया छन् । आफू र श्रीमती सावित्री महतोको नाममा कुल पुँजीको १५ प्रतिशत हिस्सा सेयर लिएका उनले आफ्नै नातेदारहरुलाई नै सञ्चालक समितिमा राखेका छन् ।

संस्थाको सञ्चालक रहेका सरोजकुमार महतो उनकै भान्जा नाता पर्ने हुन् । सञ्चालक समितिमा बलिया देखिएका उनले स्वस्तिकसँग मर्जरमा गएपछि भने आफू कमजोर हुने भन्दै मर्जरका विषयमा सकारात्मक थिएनन् ।

बिहीबार राष्ट्र बैंकलाई पत्राचार गर्दै उनले आफू मर्जरमा जान नसक्ने बताएका छन् । उनले मर्जर तोड्नुको खास कारण प्रधान कार्यालयको विषय भएको राष्ट्र बैंकलाई बताएका छन् । मर्जर पछि संस्थाको कार्यालय सिरहाको लहानमा राख्ने समझदारी पत्रमा उल्लेख छ । आफ्ना शेयर सदस्यहरुले भने महोत्तरीको बर्दिबासमा राख्नुपर्ने भनेकाले आफूले मर्जर तोड्न चाहेको उनले पत्रमा उल्लेख गरेका छन् ।

कार्यालयकै विषयलाई मर्जर तोड्ने बहाना बनाउनु गलत भएको समाजकै अधिकारीहरु बताउँछन् । ‘सञ्चालक समितिमा राजनीति गर्न नपाउने जस्तो देखिएपछि किशोरीले बहाना बनाउनु भएको हो,’ समाज लघुवित्तका एक संस्थापकले भने, ‘कार्यालय कहाँ राख्ने भन्ने छ छलफलबाट टुंगिहाल्थ्यो, तर यहाँ कुरो अर्कै छ ।’

यो विषयमा अब राष्ट्र बैंकको निर्देशन के आउँछ भन्नेमा भर पर्छ । तर पछिल्लो समय लघुवित्तका विषयमा राष्ट्र बैंकको नियम समेत फितलो छ । संस्थाहरुले जे गरेपनि राष्ट्र बैंक मुक दर्शक बन्ने गरेकाले लघुवित्त संस्थाहरुले मनपरी गरिरहेका छन् । राष्ट्र बैंकले सञ्चालक समिति र व्यवस्थापन प्रमुख एकै व्यत्तिः हुन नसक्ने गरी निर्देशन जारी गरे पनि कालिका लघुवित्त र नेष्डो समृद्ध लघुवित्तले खुलेआम राष्ट्र बैंकको निर्देशन उलंघन गर्दै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?