+
+
पौडेल समूहको प्रतिवद्धता :

‘सहमतिमै सभापतिको उम्मेदवार छान्छौं’

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ १७ गते २२:३२

१७ भदौ, काठमाडौं । नेपाली कांग्रेसको नेतृत्वका लागि दाबी गरिरहेका संस्थापन इतर समूहमा रहेका चार नेताले केन्द्रीय सभापतिमा एउटै उम्मेदवार दिने प्रतिवद्धता जनाएका छन् ।

वडा अधिवेशनको अघिल्लो दिन वरिष्ठ नेता रामचन्द्र पौडेलसँगै महामन्त्री डा. शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह र केन्द्रीय सदस्य शेखर कोइराला संयुक्त पत्रकार सम्मेलनमा उपस्थित भए, जहाँ पौडेलले आसन्न १४औं महाधिवेशनमा आफ्नो समूहबाट सभापतिका लागि एउटै उम्मेदवार दिने बताएका छन् ।

नेताहरुका अनुसार पौडेल समूहमा रहेका जिल्ला सभापतिहरुले १८ भदौ अर्थात् वडा अधिवेशन शुरु हुनु अगाडि नै सभापतिको उम्मेदवार टुंगो लगाउन दबाब दिएका थिए ।

अर्जुननरसिंह केसी, बलबहादुर केसी लगायतको पहलमा पछिल्ला दिनमा सभापतिका आकांक्षीहरुबीच छलफल पनि भएको थियो, तर सहमति जुटेन । चारै जना आफैं उम्मेदवार हुने प्रयासमा भएकाले सहमति जुट्न सजिलो पनि थिएन ।

जिल्ला सभापतिहरुले विकल्प दिए, नाममा सहमति नजुटे एउटै उम्मेदवार दिने प्रतिवद्धता जनाउनुस् ।

सोमबार महामन्त्री डा. शशांक कोइराला निवास, महाराजगञ्जमा भएको छलफलमा नेताहरुले मंगलबार पत्रकार सम्मेलन गरी साझा उम्मेदवार दिने प्रतिवद्धता  गर्ने प्रस्ताव अघि सारे । तर पौडेलले आफूलाई नै सभापतिको उम्मेदवार घोषणा गर्नुपर्ने बताएपछि सहमति जुटेन ।

मंगलबार पौडेल निवासमा छलफल भयो, त्यहाँ पनि सहमति जुटेन । बुधबार फेरि बत्तीसपुतलीमा नेताहरूले झण्डै तीन घण्टा छलफल गरे । त्यहाँ पनि नाममा सहमति जुट्न सकेन ।

तर साझा उम्मेदवार दिन्छौं भन्ने प्रतिवद्धता जनाउन वरिष्ठ नेता पौडेल सहमत भए । त्यसअनुसार बिहीबार पार्टी कार्यालय, सानेपामा पत्रकार सम्मेलन भयो ।

पौडेल बोले, अरु सुनिरहे

पत्रकार सम्मेलनको अगुवाइ गरेका वरिष्ठ नेता पौडेलले कुन नेता कहाँ बस्ने समेत आफैं मिलाएका थिए । दायाँतिर क्रमशः महामन्त्री डा. कोइराला, अर्जुननरसिंह केसी, सुजाता कोइरालालाई राखेका उनले बायाँतिर पूर्व महामन्त्री प्रकाशमान सिंह, डा. शेखर कोइराला, बलबहादुर केसी लगायतलाई राखे ।

विचार मिल्नेहरुको एकतामा जोड दिएको र सामूहिक नेतृत्वमा विश्वास गर्ने भन्दै उनले कसलाई के जिम्मेवारी दिने भन्नेमा आफूहरुबीच छलफल भइरहेको बताए । उनले भने, ‘वडा अधिवेशनअघि पूर्वमेचीदेखि पश्चिम महाकालीसम्मका पार्टी साथीहरुलाई एउटा सन्देश दिन चाहन्छौं कि हामी भोलिको निर्वाचनमा एउटै सभापतिको उम्मेदवार बनाएर सहमतिमै प्यानल बनाउँछौं ।’

कांग्रेसको १४ औं महाधिवेशन मंसिर ९ देखि १३ गतेसम्म काठमाडौंमा हुने तय भएको छ । अधिवेशनको सुरुवात भने भोलि शुक्रबार (१८ गते) वडाबाट हुनेछ । वडा अधिवेशनबाट निर्वाचित क्षेत्रीय प्रतिनिधिले माथिल्लो तहका कमिटी चयन गर्नुका साथै केन्द्रीय महाधिवेशन प्रतिनिधि पनि चुन्ने छन् ।

नेताहरुका अनुसार संस्थापन इतरको समूह एक ढिक्का हुने हो भने पार्टीमा  ५५/६० प्रतिशत पकड कायम गर्न सक्छ । तर १३औं महाधिवेशनमा पौडेल र कृष्ण सिटौला समूहमा बाँडिएको यो मत अहिले सभापतिका आकांक्षी धेरै हुँदा थप विभाजित भएको छ ।

यसको सबभन्दा मार संस्थापन इतर रहेका जिल्ला सभापति आकांक्षीहरुलाई पर्ने देखिन्छ । एक केन्द्रीय सदस्य भन्छन्, ‘महाधिवेशन प्रतिनिधिहरु एकभन्दा धेरै छान्न पाइने भएकाले एडजस्ट हुनसक्छ । तर जिल्ला सभापति एक जना छान्नुपर्ने भएकाले केन्द्रमा नमिले परिणाम तलमाथि हुने अवस्था आउँछ ।’

त्यही कारण पौडेल समूहका जिल्ला सभापतिहरुले सके केन्द्रीय सभापतिको उम्मेदवार तोक्न, नभए साझा उम्मेदवार दिने प्रतिवद्धता जनाउन नेतृत्वलाई निरन्तर दबाब दिंदै आएका थिए ।

उनीहरुलाई आश्वस्त पार्दै पौडेलले भने, ‘१४औं महाधिवेशनसम्म हाम्रो एकता अटुट रहन्छ । सहमतिमै सभापतिको उम्मेदवार दिन्छौं । देशभरका साथीहरु ढुक्क हुनुहोला ।’

पत्रकार सम्मेलनमा पौडेल मात्र बोले, सभापतिका अरु आकांक्षीले भने आफ्नो धारणा राखेनन् ।

सिटौला अनुपस्थित

पौडेल समूहको पत्रकार सम्मेलनमा महामन्त्रीमा उम्मेदवारी दिने घोषणा गरेका गगनकुमार थापा पनि देखिए ।

१३औं महाधिवेशनमा उनी कृष्णप्रसाद सिटौला प्यानलबाट महामन्त्री लडेका थिए । शुक्रबार पौडेल समूहको पत्रकार सम्मेलनमा गगन देखिंदा सिटौला भने अनुपस्थित रहे ।

असार २५ मा संस्थापन इतरका सभापति आकांक्षीहरुको बैठकमा सिटौला पनि सहभागी भएका थिए । त्यसयता उनी यस्ता छलफलहरुमा नआएको नेताहरु बताउँछन् । उनले पौडेल समूहका नेताहरु १० भदौ अर्थात् महाधिवेशन प्रतिनिधिहरु चयन भइसकेपछि मात्र छलफल गरौंला भनेको एक नेताले सुनाए ।

नेता बलबहादुर केसीले पनि पौडेल समूहको साझा उम्मेदवार तय गरेपछि सिटौलासँग छलफल गर्ने बताउँछन् । ‘पहिला हामीहरु (पौडेल समूह) मा एउटा समझदारी गर्छाैं, त्यसपछि सिटौलाजीलाई सहमतिमा ल्याएर साझा उम्मेदवार बनाउँछौं’, उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?