 
																			१९ भदौ, धनगढी । कैलालीको चुरे गाउँपालिकाका पहिरो प्रभावित राजमार्ग क्षेत्रको सार्वजनिक जग्गामा बसोबास गर्न आइपुगेका छन् ।
गत वर्ष पहिरोबाट विस्थापित भएका जिल्लाको चुरे गाउँपालिका– १, ४, ५ र ६ का पहिरो प्रभावित परिवार भीमदत्त राजमार्गको खानीडाँडा क्षेत्रमा अस्थायी आवास बनाएर बस्न थालेका हुन् ।
चुरे गाउँपालिकाका अध्यक्ष धनबहादुर रोकामगरले लगातारको वर्षापछि आएको पहिरोले पूर्ण र आशिंक रुपमा विस्थापित भएका वडा नम्बर ५ का परिवारलाई राजमार्ग क्षेत्रमा व्यवस्थापन गरिएको बताए ।
‘अर्को विकल्प नभएसम्मका लागि भनेर अहिले उहाँहरुलाई भीमदत्त राजमार्ग क्षेत्रमा व्यवस्थापन गरेर राखेका छौँ,’ अध्यक्ष रोकामगरले भने, ‘सुरुमा पूर्ण रुपमा विस्थापित भएका १२ परिवारलाई टेन्टको व्यवस्था गरेर त्यहाँ राखेका थियौँ । तर अहिले पहिरोको जोखिममा रहेका अन्य परिवार पनि जान थालेका छन् ।’
उनकाअनुसार अहिले चुरे गाउँपालिका–५ का करिब २८÷३० पहिरो विस्थापित परिवार राजमार्ग क्षेत्रमा बसेका छन् । वडा नम्बर ५ का अध्यक्ष नरबहादुर तामाङले प्रहरीको मुचुल्का बनाएर पूर्ण रुपमा विस्थापित भएका १२ परिवारलाई राजमार्ग क्षेत्रमा सारिएको बताउँदै अहिले त्यहाँ फर्जी पीडित परिवार पनि बस्नलाई जान थालेको गुनासो बढेको जनाए ।
‘हामीले अहिले राजमार्गको छेउमा बसिरहेका १२ परिवारलाई वडा कार्यालय क्षेत्रमा बस्नुस भनेका थियौँ तर उहाँहरुले मान्नुभएन,’ वडाध्यक्ष तामाङले भने, ‘त्यहाँ अहिले वास्तविक पहिरो पीडित मात्र नभएर अरु पनि बस्नलाई जान थालेको गुनासो आएको छ । उनीहरुका कारण पीडितलाई समस्या हुने देखिन्छ ।’
एक वर्षसम्म व्यवस्थापन भएन
लगातारको वर्षापछि गत वर्ष दुई सय ११ परिवार पहिरोबाट विस्थापित भएको तथ्यांक चुरे गाउँपालिकासँग छ । सिमलगैरा, मल्लो सिमलगैरा, राजवन,तितिरे, गौजना लगायतका गाउँका पहिरो विस्थापित ती परिवार केही महिनासम्म अहिलेका जस्तै भीमदत्त राजमार्ग क्षेत्रमा बसेका थिए ।
गाउँपालिका कार्यालयले तत्काल उनीहरुलाई वडा नम्बर ४ को टाङ्कगडा क्षेत्रमा राखेपनि अहिलेसम्म व्यवस्थापन गर्न सकेको छैन । चुरे गाउँपालिकाका जनप्रतिनिधिले नै पहिरोबाट विस्थापित भएका ती परिवारलाई क्षतिपूर्तिसहित उचित व्यवस्थापन गर्न माग गर्दै दुई पटकसम्म सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टलाई ज्ञापन पत्र बुझाइसकेका छन् ।
त्यस्तै जिल्ला प्रशासन कार्यालय कैलालीमार्फत लगत गृह मन्त्रालयमा समेत पठाइएको छ । तर हालसम्म कुनै सुनवाइ हुन नसक्दा पहिरो विस्थापित परिवार सोही क्षेत्रमा बस्न बाध्य भएको गाउँपालिकाका अध्यक्ष धनबहदुर रोका मगर बताउँछन् ।
‘हामीले त्यतिबेला अर्को व्यवस्था नभएसम्मका लागि भनेर पहिरोबाट विस्थापित भएका दुई सय ११ परिवारलाई गौरीगंगा नगरपालिका र चुरे गाउँपालिकाको सीमा नजिकैको स्थानमा राखेका थियौँ,’ रोका मगर अनलाइनखबरसँग भन्छन्, ‘दुई पटकसम्म मुख्यमन्त्रीज्यूलाई दिगो व्यवस्थापन गरिदिन माग गर्दै ज्ञापन पत्र बुझायौँ । जिल्ला प्रशासन मार्फत उनीहरुको विवरण संघीय सरकारलाई पठाएका छौँ । तर अहिलेसम्म कुनै सुनवाइ भएको छैन ।’
उनले पहिरो विस्थापितको कुनै सुनवाइ नभएपछि पुनः संघीय सरकारको ध्यानाकर्षण गराइने बताए । कैलालीका सहायक प्रमुख जिल्ला अधिकारी हिरालाल चौधरीले गाउँपालिकाले उपलब्ध गराएको विवरण सबै गत वर्ष नै गृह मन्त्रालय पठाएको तर हालसम्म कुनै राहत तथा क्षतिपूर्तिका कार्यत्रम नआएको बताएका छन् ।
‘हामीले उहाँहरुले दिएको विवरण जस्ताको त्यस्तै गृह मन्त्रालयलाई गत वर्ष पठाएका थियौँ,’ सप्रजिअ चौधरीले भने, ‘तर हालसम्म कुनै खालको निर्देशन प्राप्त भएको छैन ।’
 
                









 
                     
                                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4