
२० भदौ, काठमाडौं । न्युजिल्याण्डले आतंकवादविरुद्धको कानुन थप कडा बनाउने निर्णय गरेको छ । शुक्रबार अकल्याण्डमा भएको चक्कु आक्रमणपछि प्रधानमन्त्री ज्यासिन्डा अर्डनले आतंकवादविरुद्धको कानुन थप कडा बनाइने बताएकी हुन् ।
सञ्चारकर्मीहरुसँग बोल्दै अर्डनले यस किसिमको परिवर्तनले इतिहास परिवर्तन नहुने भए पनि भविष्यको परिवर्तनको लागि नयाँ कानुन निकै महत्वपूर्ण हुने बताइन् ।
गत शुक्रबार अकल्याण्डको सुपरमार्केटमा एक श्रीलंकाली नागरिकले सात जना मानिसमाथि चक्कु आक्रमण गरेका थिए । उनीहरुमध्ये तीनजनाको अवस्था गम्भीर छ ।
इस्लामिक स्टेट (आईएस)को समर्थक रहेको बताइएका ती व्यक्ति प्रहरीको कारबाहीमा मारिएका छन् । उनको नाम अहमद अथिल मोहम्मद सामसुदीन रहेको र उनी २०११ मा शरणार्थीको रुपमा न्युजिल्याण्ड आएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले बताएका छन् ।
चक्कु आक्रमणलाई ‘आतंकवादी आक्रमण’ भएको बताएकी अर्डनले नयाँ कानुनले आगामी दिनमा आतंकवादी आक्रमणको योजना बनाएकालाई समयमा नै नियन्त्रण गर्न सहज हुने विश्वास व्यक्त गरेकी छिन् ।
शुक्रबार मारिएका सामसुदीनलाई पनि यसअघि नै प्रहरीले धेरैपटक पक्राउ गरेको थियो । उनी २०१६ देखि नै न्युजिल्याण्डको सुरक्षाको लागि चुनौती बन्दै आएको बताइएको छ ।
एजेन्सीहरुको सहयोगमा
प्रतिक्रिया 4