+
+

सीपमूलक सरकारी तालिमलाई एकीकृत रुपमा सञ्चालन गर्न सुझाव

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ २० गते २०:०७

२० भदौ, काठमाडौं । विभिन्न मन्त्रालय र निकायहरुमार्फत अलग अलग ढंगले कार्यन्वयन हुँदै आएका सीप तथा रोजगारमूलक कार्यक्रमलाई एकीकृत ढंगले सञ्चालन गर्दा प्रभावकारी हुने सरोकारवालाले बताएका छन् ।

आइतबार अर्थ मन्त्रालयमा आयोजित छलफलमा राष्ट्रिय योजना आयोगसहित सरोकारवाला मन्त्रालय तथा निकायका उच्च पदस्थ अधिकारीले एकै प्रकृतिका तालिम कार्यक्रमलाई एकीकृत रुपले सञ्चालन गर्नुपर्नेमा जोड दिए । श्रम, शिक्षा, कृषि तथा पशुपन्छी, सहकारी, युवालगायतका मन्त्रालय र मातहतका निकायहरुबाट हुने गरेका सीपमूलक तथा रोजगारमूलक तालिमलाई विषयगत रुपले एकीकृत गरी एकद्वार प्रणालीबाट सञ्चालन गर्नुपर्ने निचोड निकालिएको हो ।

कार्यक्रममा अर्थमन्त्री जनार्दन शर्माले एकै प्रकृतिको तालिम कार्यक्रमहरुलाई एकीकृत रुपले सञ्चालन गर्ने गरी नीतिगत तयारी गर्न निर्देशन दिए । एकै प्रकृतिका कार्यक्रम धेरै निकायबाट भइरहेको भन्दै यसले काममा प्रभावकारिता नआउने उनले बताए । तिनलाई केन्द्रिकृत गर्ने गरी तयारी गर्नु समेत उनले निर्देशन दिए । हरेक वर्ष एउटै व्यक्तिलाई एकै प्रकृतिको तालिम मात्र दिइरहने तर उक्त व्यक्ति स्वरोजगार भएको नदेखिने समस्या भएको समेत अर्थमन्त्रीको भनाइ छ । उनले तालिम लिएको व्यक्ति स्वरोजगार हुने वा रोजगारीमा लाग्नसक्ने खालको तालिम सञ्चालन गर्नुपर्नेमा जोड दिए । ‘हामीले गर्दै आएको वृक्षारोपण र तालीम उस्तै उस्तै भयो, खासै परिणाममुखी भएनन् । अब यसलाई सच्याउने गरी नीति, कार्यक्रम बनाउनुपर्छ,’ उनले भने ।

कार्यक्रममा राष्ट्रिय योजना आयोगका सदस्य सचिव केवल प्रसाद भण्डारीले सीपमूलक तालिम एकद्वार प्रणालीबाट संचालन गनुपर्ने प्रस्ताव आवश्यक र सान्दर्भिक रहेको उल्लेख गर्दै यसलाई विषयगत हिसावले दुई समूहमा विभाजन गरी सञ्चालन गर्न उपयुक्त हुने सुझाव दिए ।

अर्थसचिव मधुकुमार मरासिनीले एकीकृत प्रणालीबाट तालिम सञ्चालन गर्ने विषय सकेसम्म प्रतिस्थापन विधेयकमा समेट्ने गरी तयारी गर्न सम्बद्ध मन्त्रालय तथा निकायहरुलाई आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?