+
+

डाक्टर पदपूर्ति प्रक्रियामा हदै ढिलासुस्ती

सुशील थापा, स्वास्थ्य गुणस्तर विशेषज्ञ सुशील थापा, स्वास्थ्य गुणस्तर विशेषज्ञ
२०७८ भदौ २१ गते ९:३५

नागरिकको शारीरिक र मानसिक स्वास्थ्यको तन्दुरुस्तीबाट मात्रै देशमा एउटा सभ्य समाजको कल्पना गर्न सकिन्छ । राज्यको स्वास्थ्य विकास अवधारणाको जगमा प्रमुख रूपमा रहने निम्न कारक तत्वलाई बेवास्ता गरेर बनाइने योजनाहरूले अपेक्षित परिणाम ल्याउन सक्दैनन् –

(क) स्वास्थ्य प्रविधिको प्रतिस्थापन
(ख) पूर्वाधार विकासमा एकीकृत दृष्टिकोण
(ग) मानव संसाधनको दिगो विकास र स्थायित्व
(घ) जनसंख्या वितरण परिवर्तनको सूक्ष्म अध्ययन
(ङ) आपूर्तिको सहजता
(च) नयाँ र उदीयमान रोगबारे ज्ञान
(छ) महामारी र अन्य स्वास्थ्य संकट अवस्थाको पूर्वतयारी

यद्यपि नेपालमा बलियो संवैधानिक प्रावधान, राष्ट्रिय स्वास्थ्य सेवा ऐन, नीतिनियम, निर्देशिका, मापदण्ड र स्वास्थ्यमा अनवरत चलिरहेका ठूला-ठूला कार्यक्रमले मूलभूत रूपमा राज्यले स्वास्थ्यलाई महत्व दिइरहेको भान हुन्छ । तर लगानीको हिसाबले यसका उपलब्धिहरू अत्यन्त कम हुनुमा मूल-कारण पत्ता लगाई निराकरण गर्न ढिलो गर्न हुन्न भनेर यस क्षेत्रका जानिफकारहरूले बेला-बेलामा आवाज उठाइरहेकै छन् ।

नेपालमा विगत ४० वर्षदेखि सरकारी तवरबाट आधुनिक स्वास्थ्य प्रणालीको विकासका लागि गरिएको पहल स्वागतयोग्य छ । यसका सकारात्मक परिणामहरूको सानो उदाहरण हालसालै ‘सीईओ वल्र्ड म्यागाजिन’ को अपि्रल २०२१ को अंकमा प्रकाशित एक लेखमा स्वास्थ्य सेवामा राम्रो व्यवस्थापन गर्ने ८९ राष्ट्रको सूचीमा नेपाल ६१ स्थानमा पर्नु सकारात्मक कुरा हो । तर, यो सँगसँगै प्रगतिका असीम सम्भावना रहेको तथ्य समेत यसले प्रष्ट पारेको छ ।

दक्षिणकोरिया, ताइवान र डेनमार्क अग्र तीन स्थानमा रहेको भनिएको रिपोर्टमा स्वास्थ्य सेवाको अनुक्रमणिकामा क्रमशः स्वास्थ्य सेवाको पूर्वाधार, मानव संसाधनको सम्वर्द्धन, स्वास्थ्यको शुल्क, औषधिको सहज उपलब्धता तथा सरकारी तदारुकतालाई प्रमुख सूचकका रूपमा तुलना गरेको छ ।

नेपालको बारेमा यसरी गरिएको तुलनामा स्वास्थ्य सेवामा समर्पित सेवा प्रवाहलाई विश्वासिलो र सर्वसुलभ बनाउन निम्न अनुक्रमणिकामा क्रमशः जोड दिनुपर्ने देखिन्छ :

(क) मानव संसाधनको विकास र वितरण
(ख) स्वास्थ्य सेवा शुल्कमा लगाम
(ग) स्वास्थ्य पूर्वाधारमा लगानी
(घ) औषधिको उत्पादन र वितरणमा कुशल व्यवस्थापन
(ङ) सरकारी बजेट, नीति र बलियो अनुगमनमा तीक्ष्णता

यसरी हेर्दा नेपालको स्वास्थ्य सेवा प्रवाहमा उल्लेखनीय व्यवधान मानव संसाधनको विकास र वितरणमा सामञ्जस्यको कमीले गर्दा भइरहेको कुरा मनन गर्न ढिला हुन लागेको आभास हुन्छ । ‘एचआरएच- हृयुमन रिसोर्स इन हेल्थ केयर’ स्वास्थ्य सेवामा मानव संसाधन भन्नाले यस पेशामा सम्बद्ध सम्पूर्ण पेशाकर्मी भनेर बुझ्नुपर्ने हुन्छ । डाक्टर, परिचारिका, दन्तचिकित्सक, वायोमेडिकल इन्जिनियर, सामुदायिक स्वास्थ्यकर्मी, सामाजिक स्वास्थ्य कर्मचारी र अन्य सेवा प्रदायकहरू । यति मात्रै होइन यस भित्र व्यवस्थापन र सहयोगी कर्मचारी लगायत स्वास्थ्य मन्त्रालयभित्रका कर्मचारी र योजना आयोगसम्मका विचार प्रवर्द्धकहरू पर्दछन् ।

राज्यको तर्फबाट भएका प्रयास र बाहृय विकासका साझेदारहरूबाट भएका लगानीको प्रतिफलको अपेक्षित परिणाम नआउनुमा निम्न कारणहरूको प्रमुख हिस्सा रहेको कुरा हाल समाजमा छरपस्ट उदाहरणबाट स्पष्ट हुन्छ ।

(क) कार्यान्वयन गर्ने कार्यकारी शक्ति भएका स्वास्थ्यका अधिकारीहरूमा अक्षमहरूको पदबहाली निरन्तर रूपमा चलिरहनु । उक्त दुष्चक्रमा सक्षमहरूको मनोबल निर्बल भइरहने क्रम अब रोकिनुपर्ने ।

(ख) भ्रष्टाचारजन्य क्रियाकलापले स्वास्थ्य क्षेत्र विक्षिप्त भइरहेकोले त्यसबाट यसलाई जोगाउनुपर्ने ।

(ग) नियुक्तिमा व्यावसायिकताको भन्दा अन्य गुणको खोजी हुनु र रिक्त रहेका पदहरू आवश्यकताको आधारमा भन्दा व्यक्तिगत चाहनाको आधारमा पदपूर्ति गर्ने प्रक्रिया हदै ढिलासुस्तीले अघि बढाइनु । यस परम्परामा सुधारको पहल गर्नुपर्ने ।

तुरून्तै रोकिहाल्नु र सुधार गरिहाल्नुपर्ने मानव संसाधनको पक्षमा के छ भने बाहिर सेवा प्रवाह नगर्ने शर्तमा सरकारी सेवामा प्रवेश गरेका स्वास्थ्यकर्मीको हकमा एउटा स्पष्ट र कडा नियम कार्यान्वयन छिट्टै गर्‍यो भने सबै तहमा अन्तर विश्लेषण गर्न सजिलो भई विशेषज्ञको व्यवस्थापन गर्न सजिलो हुन्छ । यसबाट ‘छ’ तर ‘खोज्दा’ नभेटिने आम समस्याबाट मुक्ति मिल्ने देखिन्छ ।

त्यसैगरी बायोमेडिकल्स इन्जिनियरको हकमा कामको विवरण स्पष्ट पारी सेवामा लिनुपर्नेमा हाल अधिकारीको चाहना बमोजिम खरीददारीमा तारतम्य मिलाउने, ‘अन्यथा’ नदेखिने गरी उपकरणको विशिष्टता, त्यसको बनोट, सुविधा र फाइदाको फेहरिस्त तयार गर्ने काममा मात्र सीमित छ । अब उप्रान्त विशिष्ट प्रशिक्षण दिई उपकरणलाई चुस्तदुरुस्त राख्ने र उपकरणको मर्मतसंभारमा आत्मनिर्भर बनाउने तर्फ अग्रसर गराइनुपर्ने देखिन्छ ।

विश्व स्वास्थ्य संगठनको प्रक्षेपणले विश्वभर पचासौं लाख स्वास्थ्यकर्मीको अभाव छ भनेकोमा नेपाल पनि त्यस परिस्थितिबाट टाढा छैन । तर, यसको चलाखीपूर्ण व्यवस्थापन र विचारशील योजनामा आधारित पेशेवर स्वास्थ्यकर्मीको उत्पादनले मात्रै हामी यो समस्यालाई विकराल हुन नदिन सफल हुन सक्छौं ।

कमजोर व्यवस्थापनले देशमा उपलब्ध हजारौंको संख्यामा रहेका राष्ट्रिय/अन्तर्राष्ट्रिय, सहकारी, सामुदायिक र निजी स्वास्थ्य संस्थाको उपस्थितिलाई गजबको तालमेल मिलाएर यस सेवालाई लयमा फर्काउने अवसर खेर गइरहेको प्रतीत हुन्छ । दक्ष र सिपालुहरूको पलायन रोक्ने व्यवस्थाको खोजी अपरिहार्य भइसकेको यथार्थ बुझ्न ढिलो गर्नुहुन्न ।

विश्वभरिमै अभावमा रुमलिएको मानसिक स्वास्थ्य सेवाकर्मी, बच्चा र पाको उमेरको बिरामी अनि सुत्केरी स्याहारमा आवश्यक परिचारिकाहरूको व्यवस्थापनमा चरम अभावको लक्षण देखिनु अघि नै निराकरण गर्नु बुद्धिमानी हुन्छ । स्वास्थ्य सेवाकर्मीको उत्पादन र प्रशिक्षण लामो समय लाग्ने प्रक्रिया हो भन्ने कुरा सर्वविदितै छ ।

सन २०१७ मा सकिएको २० वषर्ीय दीर्घकालीन योजनापछि नेपालमा योजना तर्जुमा र त्यसको कार्यान्वयनको पक्ष अति नै फितलो हुँदै गएको छ । हाल आएर दरबन्दीको प्रक्षेपण, वाषिर्क समायोजन र दक्षताको पहिचान र आवश्यकताको आधारमा मानव संसाधनको वितरणमा ठूलो खाडल देखिएको र अनपेक्षित परिणामहरू आउने क्रम बढेको देखिन्छ ।

मानव संसाधनको पुनरावलोकन, समायोजन र दरबन्दीको परिपूर्तिमा ढिलो नगरी स्वास्थ्यमा विश्वव्यापी पहलहरूले निर्दिष्ट गरेका लक्ष्य हासिल गर्न राज्यका तर्फबाट गरिएका प्रतिज्ञाहरूको परिपूर्तिप्रति हाम्रो निष्ठाभाव छ भन्ने प्रमाण पेश गर्नुपर्छ । यसो भए मात्र विश्वलाई हाम्रो प्रतिबद्धतामा शंका गर्ने ठाउँ रहँदैन ।

र अन्त्यमा ! नेपालको स्वास्थ्य सेवाको अविरल विकासमा टेवा पुर्‍याउन एकीकृत दृष्टिकोणको महत्वपूर्ण भूमिका रहन्छ । स्वास्थ्य मन्त्रालय अन्तर्गतका सम्पूर्ण शिक्षण संस्था र अस्पताल, विभागका साथै सैनिक र प्रहरी संगठनले चलाएका शिक्षण संस्था र अस्पताल, राष्ट्रिय/बाहृय गैरसरकारी, सामुदायिक र निजी क्षेत्रबाट संचालित सम्पूर्ण स्वास्थ्य क्षेत्रका लगानी र उपलब्धिहरूको मूल्याङ्कन जरूरी छ । यसरी समग्र स्वास्थ्य क्षेत्रको सूचकको बृहत्तर उन्नतिको लागि एकीकृत दृष्टिकोणका साथ हातेमालो हुने गरी योजना तर्जुमा र त्यसको अक्षरशः पालना नै एकमात्र उपयुक्त मार्गचित्र हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?