+
+
विचार :

किन सेतो हात्ती बन्दैछन् सामुदायिक क्याम्पस ?

सन्तोष गौतम सन्तोष गौतम
२०७८ भदौ २४ गते १८:२८

विश्वका सामुदायिक क्याम्पसहरूको इतिहासलाई केलाउँदा सामुदायिक क्याम्पसहरू अवसर र पहुँचको विस्तारद्वारा शिक्षा र खासगरी उच्च शिक्षाको स्थानीयकरण र प्रजातन्त्रीकरणको प्रयासका परिणामस्वरूप स्थापित भएको पाइन्छ । उच्च शिक्षालाई उच्च वर्गीय शिक्षा र सम्भ्रान्त शिक्षाको रूपमा लिने सोचलाई सामुदायिक क्याम्पसको अवधारणाले चुनौती दिएको छ । हरेक व्यक्तिको ज्ञान आर्जन गर्ने, सम्भावनाको गगनमा विचरण गर्ने, प्राज्ञिक अभ्यास गर्ने र ज्ञानको भण्डार र प्रणालीमा योगदान दिने क्षमताको कदर हुनुपर्छ । सामुदायिक क्याम्पसको अवधारणा यही मान्यतामा आधारित छ ।

समुदायले आफ्नो समुदायका नागरिकहरूलाई आवश्यक पर्ने र सबैभन्दा उपयुक्त हुने खालको शिक्षाको खाका आफैं तयार गरी लागू गर्न सक्छ भन्ने विकेन्द्रीकृत सोचमा आधारित छन् सामुदायिक क्याम्पसहरू । यिनीहरू समुदायका विभिन्न क्षेत्रमा आवश्यक पर्ने दक्ष जनशक्तिको आपूर्ति गर्ने केन्द्रको रुपमा रहेका छन् ।

शैक्षिक संस्थाहरूले भेदभाव, दमन, उत्पीडन, दुर्व्यसनी, घरेलु हिंसा, अन्धविश्वास, यौन दुर्व्यवहार, बेरोजगारी, गरीबी लगायत समुदायका विविध समस्याको समाधान गर्नमा महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छन् भन्ने सोचले विभिन्न देशका विद्यालयहरूले आफूलाई जुनिअर क्याम्पसको रूपमा अगाडि बढाएका हुन् ।

वर्तमान भूमण्डलीकरणको युगका युगीन जिम्मेवारी बहन गर्न सक्ने योग्य नागरिक उत्पादन गर्न आवश्यक पर्ने संरचना नहुँदा अधिकांश क्याम्पस आकर्षणको केन्द्र बन्न सकेका छैनन् । केही सामुदायिक क्याम्पसहरूमा भने प्राज्ञिक भन्दा आर्थिक र भौतिक गतिविधिहरूमा जोड दिइनु अर्को विडम्बनापूर्ण छ ।

एकातिर स्थानीय रोजगारदाताको आवश्यकतालाई सम्बोधन गर्ने, अर्कोतिर उच्चतम योग्यता आर्जनको आधार बन्ने लक्ष्यका साथ यी संस्थाहरू सञ्चालित छन् । यसरी अन्तर्राष्ट्रिय सन्दर्भमा यी क्याम्पसहरू विद्यालय शिक्षालाई विश्वविद्यालय शिक्षासँग जोड्ने सेतुको रूपमा रहेको देखिन्छ ।

सामुदायिक क्याम्पसका विशेषता

एशियन विकास बैंक लगायतका संस्थाहरूद्वारा प्रकाशित प्रतिवेदनहरूका अनुसार सामुदायिक क्याम्पसका विशेषता: पहुँच, समावेशिता र विविधता, स्थानीय रोजगारदाताहरूको आवश्यकताबारे खुलापन, स्थानीय समुदायसँग निकट सम्बन्ध, क्याम्पसको सीप विकास कार्यक्रममा रोजगारदाताहरूको संलग्नता स्थानीय प्रतिष्ठान, सामुदायिक संगठन, क्याम्पसका फ्याकल्टी र स्टाफ अनि विद्यार्थी प्रतिनिधिहरू समेत रहने गरी बहु-साझेदारी स्वरूपमा क्याम्पसको व्यवस्थापन, संस्थागत विकेन्द्रीकरणको परिणामस्वरूप कार्यकारी स्वायत्तता र लचिलोपना, आधुनिक कार्यसम्पादनमा आधारित जवाफदेहिताका संयन्त्रहरू, आधारभूत सीपहरूलाई पहिलो प्राथमिकतामा राखिएको र प्राविधिक र पेशागत लगायत उद्दमशीलता सम्बन्धी सीपहरूलाई पनि समावेश गरिएको पाठ्यक्रम, लचिलो समय प्रबन्धसहित विभिन्न अवधिका विविध कार्यक्रम लगायत देखिन्छन् ।

नेपालका सामुदायिक क्याम्पस

हाम्रो देशमा पनि विभिन्न समयमा सञ्चालन अनुमति प्राप्त गरी सञ्चालनमा रहेका हाम्रा धेरै सामुदायिक क्याम्पसहरूले समुदायको शैक्षिक आवश्यकतालाई सम्बोधन गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेका छन् । उच्च शिक्षाको विकेन्द्रीकरणद्वारा विभिन्न समुदायमा बस्ने मानिसहरूलाई सहज पहुँच उपलब्ध गराई घरबाटै माथिल्लो तहको शिक्षा आर्जन गर्ने अवसर प्रदान गरेर यिनीहरूले समुदाय र राष्ट्रकै शिक्षा र चौतर्फी विकासमा महत्वपूर्ण योगदान दिएका छन् । तर सामुदायिक क्याम्पसबारे राज्यको निश्चित नीति र योजनाको अभावमा वर्तमानमा यी क्याम्पसहरू कुहिरोको काग जस्तो बन्दैछन् ।

विश्वका धेरै देशका सामुदायिक क्याम्पसहरूसँग तुलना गर्दा हाम्रा सामुदायिक क्याम्पसहरू पूर्ण रुपमा सामुदायिक चरित्र र विशेषताका छैनन् । यिनीहरू विभिन्न विश्वविद्यालयको पाठ्यक्रम र कार्यक्रमका आधारमा सञ्चालित छन् । पूर्ण रूपमा स्थानीय माग र आवश्यकताको आधारमा होइन ।

अर्कोतर्फ दिगो आर्थिक व्यवस्थापनको अभावमा, अझ भनौं राज्यको प्रभावकारी नीतिको अभावमा नेपालका अधिकांश सामुदायिक क्याम्पसहरू निरीह र संकटपूर्ण अवस्थामा रहेका छन् । नेताका व्यक्तिगत र दलगत स्वार्थ पूरा गर्न र अन्य केही पेशाकर्मीहरूलाई सजिलै कमाइखाने भाँडो बनाउन सम्भाव्यता र आवश्यकताको वस्तुपरक अध्ययन विना हचुवाको भरमा विभिन्न समयमा सञ्चालन स्वीकृति दिंदा र प्रभावकारी नियमन, अनुगमन, मूल्याङ्कन र व्यवस्थापन नहुँदा यी क्याम्पसहरूको अहिलेको दयनीय अवस्था आएको हो ।

त्यसैगरी राजनीतिको अनावश्यक हस्तक्षेपले आक्रान्त छन् सामुदायिक क्याम्पसहरू । अर्को शब्दमा धेरै सामुदायिक क्याम्पसहरू राजनैतिक दलका कब्जामा रहेको देखिएको छ । यतिसम्म कि क्याम्पसका जिम्मेवार र निर्णायक पदमा रहेका व्यक्तिहरू समेत पार्टीको जिम्मेवार पदाधिकारीको रूपमा रहेर सदाचार र प्राज्ञिक तटस्थता, आचरण र गरिमालाई तिलाञ्जली दिएको अनि बौध्दिक संस्कार र नैतिकताको खिल्ली उडाइरहेको अवस्था छ । हरेक कार्यक्रम, नियुक्ति, बढुवा, ठेक्कापट्टा, खरीद तथा अन्य विविध अवसरहरूको बाँडफाँडमा र त्यस्तै विभिन्न निर्णयहरूमा राजनैतिक रङ्गको प्रभाव प्रष्ट रूपमा देख्न सकिन्छ ।

धेरै सामुदायिक क्याम्पसहरू उपयुक्त भौतिक पूर्वाधारको अभावमा दयनीय अवस्थामा देखिन्छन् । वर्तमान भूमण्डलीकरणको युगका युगीन जिम्मेवारी बहन गर्न सक्ने योग्य नागरिक उत्पादन गर्न आवश्यक पर्ने संरचना नहुँदा अधिकांश क्याम्पस आकर्षणको केन्द्र बन्न सकेका छैनन् । केही सामुदायिक क्याम्पसहरूमा भने प्राज्ञिक भन्दा आर्थिक र भौतिक गतिविधिहरूमा जोड दिइनु अर्को विडम्बनापूर्ण छ ।

समुदायका जनताले आफ्नो गाँस काटेर दिएको चन्दा समेतबाट प्राप्त सहयोगलाई क्याम्पसका आकर्षक शैक्षिक कार्यक्रम, अनुसन्धान, फ्याकल्टी र कर्मचारीको स्तरोन्नति र उत्प्रेरणामा, विद्यार्थीको बहुआयामिक विकासमा भन्दा अनावश्यक निर्माण र खरीदमा खर्च गर्ने गरेको पाइन्छ ।

शिक्षक र कर्मचारीको सेवासुविधा र हकहितका सवालमा पनि प्रश्नै प्रश्न गर्ने ठाउँहरू देखिएका छन् । भोको पेटमा रहेका कर्मचारीबाट गुणस्तरीय सेवाको अपेक्षा गर्नु मूर्खता सिवाय के हो र ? प्रभावकारी शैक्षिक नीति, नियम, कार्यक्रम र सुधारात्मक अनुगमन र मूल्यांकन, उत्प्रेरणा, दण्ड र पुरस्कारको अभावमा सामुदायिक क्याम्पसहरू उत्कृष्टताका केन्द्र बन्न सकेका छैनन् र प्राध्यापक र कर्मचारीको पूर्ण क्षमता, ज्ञान, सीप, सृजनशीलताले यिनीहरू सिञ्चित भएको पाइँदैन ।

यी क्याम्पसहरूको अपनत्व समुदायले पनि प्रभावकारी र व्यवस्थित रुपमा लिएको देखिंदैन । त्यसैगरी सस्ता, पुराना र म्याद गुज्रेका शैक्षिक कार्यक्रम कर्मकाण्डी रूपमा सञ्चालन गरिरहेको कारण यी क्याम्पसहरू विद्यार्थीको आकर्षणको केन्द्र बन्न सकेका छैनन् । गैरसरकारी र गैरव्यावसायिक चरित्रका कारण आर्थिक व्यवस्थापन साँच्चै जटिल बन्दै गैरहेको छ । दिगो आर्थिक स्रोत व्यवस्थापन हुने गरी नीतिगत व्यवस्था नभएमा यी क्याम्पसहरू प्रभावकारी रूपमा चल्न गाह्रो छ । विद्यार्थीको शुल्कले मात्र त अहिले सामुदायिक क्याम्पसको प्रभावकारी सञ्चालन सम्भव देखिंदैन ।

न त सरकारी नियन्त्रण, नियमन र व्यवस्थापन न निजी क्षेत्रको व्यावसायिक उत्कृष्टता । त्यसैको उपज एक्काइसौं शताब्दीको युगसापेक्ष कार्यक्रम र गुणस्तर कायम हुन नसक्दा यिनीहरू समुदाय र राष्ट्रका बोझ बन्ने अवस्था आउँदैछ ।

यी क्याम्पसहरूको अपनत्व समुदायले पनि प्रभावकारी र व्यवस्थित रुपमा लिएको देखिंदैन । त्यसैगरी सस्ता, पुराना र म्याद गुज्रेका शैक्षिक कार्यक्रम कर्मकाण्डी रूपमा सञ्चालन गरिरहेको कारण सामुदायिक क्याम्पसहरू विद्यार्थीको आकर्षणको केन्द्र बन्न सकेका छैनन् ।

सामुदायिक क्याम्पसको सुधारका उपाय

  • सामुदायिक क्याम्पसलाई समुदायको स्रोत केन्द्रको रूपमा विकास गरी आवश्यक ज्ञान, सीप, क्षमता र सुझबुझसहितका युगीन जिम्मेवारी बहन गर्न सक्ने दक्ष जनशक्ति उत्पादनका केन्द्र बनाउने ।
  • स्थानीय निकाय र संघसंस्थाहरूसँग सामुदायिक क्याम्पसको सहकार्य र साझेदारी आपसी विश्वास, आपसी स्वार्थ र आपसी फाइदाका आधारमा अगाडि बढाउने ।
  • राज्यले जिम्मेवारी लिने वा स्थानीय सरकारसँगको सहकार्यमा दिगो आर्थिक व्यवस्थापनको व्यवस्था मिलाउने ।
  • खुल्ला प्रतिस्पर्धा र पारदर्शी विधिद्वारा कर्मचारी, प्राध्यापक, प्रशासनिक नेतृत्व र व्यवस्थापन चयन गर्ने ।
  • विद्यालयसँगको सहकार्य बढाउने र विद्यालयहरूको सशक्तीकरणका कार्यक्रमहरूमा सामुदायिक क्याम्पसको क्षमताको प्रयोग गर्ने ।
  • निजी क्षेत्रसँगको सहकार्यलाई दिगो, व्यवस्थित र प्रभावकारी रुपमा अगाडि बढाउने ।
  • सामुदायिक सशक्तीकरण र समृद्धिका कार्यक्रममा श्रोतकेन्द्रको भूमिका निर्वाह गर्ने ।
  • रुपान्तरणकारी अनुसन्धानलाई शैक्षिक कार्यक्रमको अभिन्न अंगको रुपमा अगाडि बढाउने र यसबाट सामुदायिक समस्या समाधानमा पनि सहयोगी भूमिका निर्वाह गर्ने ।
  • विभिन्न तहका विशिष्ट सिकाइ सूचकहरू निर्धारण गर्ने र शैक्षिक उन्नयनका अतिरिक्त कार्यक्रमहरू सञ्चालन गर्ने ।
  • अनावश्यक राजनीतिकरण बन्द गरेर शैक्षिक/प्राज्ञिक वातावरण निर्माणमा जोड दिने ।
  • विभिन्न अन्तर्राष्ट्रिय शैक्षिक संस्थाहरूसँग आपसी सहयोग र सहकार्यको सम्बन्ध विस्तार गर्ने ।
  • प्रवासी नेपाली विज्ञहरूसँग विभिन्न खालका सहयोग र सहकार्यको लागि पहल गर्ने ।
  • सेमिनार संस्कृति, अनुसन्धान र प्रकाशनमा जोड दिने, फ्याकल्टी अनुसन्धान, सशक्तीकरण कोष निर्माण गरी प्रयोग गर्ने ।
  • पूर्व विद्यार्थी मञ्चहरूको गठन गरी प्रभावकारी बनाउन पहल गर्ने ।
  • सबै पदाधिकारी, शिक्षक र कर्मचारीको कार्य सम्पादन सम्झौता गर्ने र आचारसंहिता निर्माण गरी कडाइका साथ लागू गर्ने ।
  • प्राध्यापक कर्मचारीको समयसापेक्ष सेवासुविधाको ग्यारेन्टी गर्ने र उच्च मनोबल र उत्प्रेरणाका साथ काम गर्ने वातावरण बनाउने ।

हाम्रो सन्दर्भमा सामुदायिक क्याम्पसहरूलाई वास्तविक रूपमा समुदायको स्रोत केन्द्रको रुपमा विकास गर्दै अहिलेको युगका प्रतिस्पर्धी जनशक्ति उत्पादनका निकाय बनाउनु आवश्यक छ । स्थानीय निकायको संलग्नतामा दिगो आर्थिक सबलीकरण, युगसापेक्ष शैक्षिक कार्यक्रम, प्राज्ञिक वातावरण र संस्कृतिको विकास, प्रभावकारी व्यवस्थापन विना त्यो सम्भव देखिंदैन ।

संस्थागत जवाफदेहिता स्थापित गरी यी संस्थाहरूलाई ‘विचरा’ बन्न दिनुहुँदैन । गुणस्तरीय अवसर र पहुँचको विस्तारद्वारा साँचो अर्थमा शिक्षाको र खास गरी उच्च शिक्षाको स्थानीयकरण र प्रजातन्त्रीकरणको अभ्यासलाई सार्थक बनाउन सामुदायिक क्याम्पसहरूको सबलीकरणमा सम्बन्धित निकायले विशेष ध्यान दिनु र सरोकारवालाहरूले हातेमालो गर्नु आवश्यक छ । त्यसको लागि सामुदायिक क्याम्पसहरूले पनि सबैको विश्वास जित्ने काम गर्नु आवश्यक छ ।

(गौतम शिक्षा विज्ञ हुन् ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?