+
+

मेरो सम्पत्तिबारे म आफैं कन्फ्युज छु : मनाङे

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ २७ गते २०:२८

२८ भदौ, पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री र अरु मन्त्रीले सम्पत्ति विवरण सार्वजनिक गरे, तर युवा तथा खेलकुदमन्त्री दीपक मनाङेले गरेका छैनन् । भ्रष्टाचार निवारणसम्बन्धी ऐन, २०५९ अनुसार पदभार सम्हालेको २ महिनाभित्र सम्पत्ति विवरण बुझाउनुपर्ने हो, तर मनाङले अझै बुझाएका छैनन् ।

मन्त्री नियुक्त भएको ९० दिन पुगेको अवसरमा खेलकुदमन्त्री मनाङले आइतबार पत्रकार सम्मेलन गरेर आफूले गरेको कामका साथै आगामी योजनाबारे सुनाए ।

कार्यक्रमको अन्तिममा उनलाई सोधियो, ‘सबै मन्त्रीले सम्पत्ति विवरण बुझाइसके, तपाईंले किन बुझाउनु भएन ? मन्त्री मनाङले भने आफूसँग के छ ? के छैन भन्ने नै प्रष्ट नभएको बताए । ‘मेरो सम्पत्तिबारे म आफैं कन्फ्युज छु,’ उनले भने, ‘जम्मै पहिलेको छोराछोरी, श्रीमतीको नाममा राखिदिइसकेको छु । मेरो भनौं भने मलाई एक आना जग्गा दिने पनि होइनन् ।’

कुनै समय गुण्डा नाइके भनेर समेत चिनिएका मनाङेले ‘केटा’हरुलाई थुप्रै लगानी गरिदिएको तर, त्यताबाट फिर्ता नआएको उनले बताए । ‘पहिले बिजनेस गर्दा केटाहरुलाई लगानी गर्देको छु । धेरै यस्तो पैसा छ, जुन मसँग आएको छैन,’ उनले भने, ‘मेरो नाममा केही छैन । आउनेवाला छ भनेर लेख्न पनि गाह्रो !’

२०५६ सालभन्दा अगाडि जोडेको केही सम्पत्ति रहेको, तर त्यसमा पनि मुद्दा मामिला परेको उनले बताए । ‘जसलाई मैले बैना हान्यो, बैना गर्ने मान्छे पनि ठगै रैछ, त्यस्तो मुद्दावाला ३/४ वटा प्रोपर्टी छ,’ उनले भने, ‘त्यो प्रोपर्टी पनि अहिलेको होइन, पहिलेकै दामवाला हो । एक–डेढ लाखवाला ।’

मनाङेले २०७० सालमा अवैध सम्पत्ति जोडेको आरोपमा सम्पत्ति शुद्धीकरणको मुद्दा खोपेका थिए । २०७४ सालमा विशेष अदालतबाट सफाइ पाएका उनी प्रहरीले ‘रिस’ गरेर मुद्दा हालेको बताउँछन् ।

चिया खान पनि पुग्दैन

युवा तथा खेलकुदमन्त्री मनाङेले मन्त्रीको तलब भत्ताले चिया खान समेत नपुग्ने गरेको बताए । त्यसैले अब व्यापार गर्ने सोच बनाएको उनले सुनाए । ५८ सालदेखि व्यापार छाडेको भन्दै उनले भने, ‘अब फेरि व्यापार गर्ने ट्राइ गरिरा’छु । भात त खानुपर्‍यो हेर्नुस् । यो पैसाले त चिया खान पनि पुग्दैन ।’

तर सम्पत्ति विवरण कहिले सार्वजनिक गर्ने भन्ने प्रश्नको प्रष्ट जवाफ भने दिएनन् । ‘म त गइहालें । तपाईंहरु एकैछिन बस्दै गर्नुस्’ भन्दै उनी बाहिरिएका थिए ।

मनाङबाट प्रत्यक्ष निर्वाचित प्रदेशसभा सदस्य मनाङे १६ वैशाखमा पहिलो पटक मन्त्री बनेका थिए । सरकार परिवर्तन गर्ने दलहरुको प्रयास असफल पार्न मद्दत गरेको गुन तिर्न पृथ्वीसुब्बा गुरुङ नेतृत्वको सरकारमा मनाङेलाई सामाजिक विकास मन्त्रालय टुक्र्याउँदै मनाङेलाई युवा तथा खेलकुद मन्त्री बनाएको थियो ।

मन्त्री नियुक्त गरेको १० दिनमै राजीनामा दिए । जेठ ९ मा फेरि गुरुङ त्यही मन्त्रालयमा दोहोरिए । तर मुख्यमन्त्री गुरुङले विश्वासको मत लिने क्रममा उनले क्याम्प परिवर्तन गरे । कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेलको नेतृत्वमा नयाँ सरकार बनाउन निर्णायक बनेका उनी २९ जेठमा मन्त्री बने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?