+
+

अफगानिस्तानको मानवीय संकट आउन नदिन ६० करोड डलर उठाउँदै राष्ट्रसंघ

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ २८ गते १३:१८

२८ भदौ, काठमाडौं । संयुक्त राष्ट्रसंघ (यूएन)ले अफगानिस्तानमा मानवीय संकट आउन नदिन ६० करोड डलर उठाउने भएको छ ।

राष्ट्रसंघले सोमबार त्यसका सहयोग सम्मेलन आयोजना गरेको छ । अफगानिस्तानलाई तालिबानले आफ्नो नियन्त्रणमा लिएसँगै अब त्यहाँ मानवीय संकट उत्पन्न हुन सक्ने यूएनको आशंका छ ।

तालिबानले अफगानिस्तानलाई कब्जामा लिनुभन्दा पहिला नै अफगानिस्तानका करिब एक करोड ८० लाख मानिसहरु सहयोगमा आश्रित थिए । पछिल्लो समय अफगानिस्तानमा परेको खडेरी र नगद तथा खाद्यान्न अभावको कारण सहयोगमा आश्रित हुनेको संखया बढ्न सक्ने राष्ट्रसंघका अधिकारीहरुले चेतावनी दिँदै आएका छन् ।

तालिबानले अफगानिस्तानलाई नियन्त्रणमा लिएसँगै अफगानिस्तानलाई अन्य विभिन्न क्षेत्रबाट आउने अनुदान पनि बन्द भएको छ । यस्तोमा राष्ट्रसंघको सहयोग कार्यक्रममा अफगानिस्तानका मानिसको निर्भरता अझै बढ्ने अधिकारीहरुले बताएका छन् ।

राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसले राष्ट्रसंघ अहिले वित्तीय सहयोग उठाउन संघर्ष गरिरहेको बताएका छन् । उनले आफ्ना कर्मचारीहरुलाई नै तलब खुवाउन समस्या भइरहेको बताएका छन् ।

अफगानिस्तानको लागि उठाउन लागिएको रकममध्ये करिब एक तिहाइ राष्ट्रसंघको विश्व खाद्य कार्यक्रम (डब्ल्यूएफपी)मार्फत् प्रयोग हुनेछ । केही समयअघि गरिएको एक सर्वेक्षणमा करिब ९३ प्रतिशत अफगान नागरिकले पर्याप्त खाना नपाएको पाइएको छ । जसमध्ये अधिकांशसँग खानाको लागि पैसा थिएन ।

एजेन्सीहरुको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?