+
+

सुदूरपश्चिम सरकारलाई एकीकृत समाजवादीको समर्थन

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ २८ गते १७:१३
एकीकृत समाजवादी सुदूरपश्चिम प्रदेशसभा सदस्य दुर्गा विक

२८ भदौ, धनगढी । नेकपा एकीकृत समाजवादीले सुदूरपश्चिम प्रदेश सरकारलाई समर्थन दिने निर्णय गरेको छ । नेकपा एमाले विभाजन भएपछि पहिलो पटक सोमबार धनगढीमा बसेको संसदीय दलको बैठकले माओवादी केन्द्रको नेतृत्वमा रहेको प्रदेश सरकारलाई समर्थन दिने निर्णय गरेको हो ।

प्रदेशसभा सदस्य दुर्गा विकले ज्येष्ठ सदस्य बलबहादुर सोडारीको अध्यक्षतामा बसेको पहिलो बैठकले प्रदेश सरकारलाई समर्थन दिने निर्णय गरेको जानकारी दिइन् । विकले संसदीय दलको विधान बनाउनका लागि तीन सदस्यीय समिति समेत गठन गरिएको पनि बताइन् ।

यसैगरी एकीकृत समाजवादीलाई प्रदेशसभाको सबैभन्दा ठूलो दल बनाउन भूमिका खेल्ने सबैलाई धन्यवाद दिएको छ । संसदीय दलको नेता चयनका सम्बन्धमा बैठकमा सामान्य छलफल भए पनि टुङ्गोमा पुग्न नसकेको बताइएको छ । संसदीय दलको विधानलाई पूर्णता दिएपछि मात्र दलको नेता, प्रमुख सचेतक, सचेतक र संसदीय दलका पदाधिकारी चयन गर्ने समझदारी भएको सांसद विकले बताइन् ।

एकीकृत समाजवादीको संसदीय दलको नेताका लागि भौतिक पूर्वाधार विकास मन्त्री दीर्घबहादुर सोडारी, आन्तरिक मामिला तथा कानून मन्त्री पूर्णा जोशी, तत्कालीन नेकपा एमालेका प्रमुख सचेतक तारा लामा तामाङ लगायतका आकांक्षी छन् । सोमबारको बैठकमा दलको नेता चयन गर्ने विषयमा छलफल भए पनि आकांक्षीबीच सहमति नहुँदा प्रक्रिया अघि नबढेको स्रोतले बताएको छ ।

एकीकृत समाजवादी सुदूरपश्चिम प्रदेश संसदीय दलको बैठक मंगलबार दिउँसो पनि बस्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?