+
+

गोदावरी नगरपालिकामा सिसी क्यामेरा जडान

रासस रासस
२०७८ भदौ २८ गते १८:२६

२८ भदौ, ललितपुर। गोदावरी नगरपालिकाले सिसी क्यामेरा जडान गर्ने काम अघि बढाएको छ । विभिन्न किसिमका गतिविधिबारे जानकारी लिन सो काम थालिएको हो ।

गोदावरीको थेचो, चापागाउँ, ठैब र गोदावरीसम्म सिसिटिभी क्यामेरा जडान गर्न थालिएको नगरपालिकाका सूचना अधिकारी निश्चल महर्जनले जानकारी दिए । उनले भने, ‘जानकारी लिन बाडेगाउँ प्रहरी चौकी र महानगरीय प्रहरी वृत्त चापागाउँमा हेर्ने व्यवस्था मिलाइने छ ।’

गोदावरीमा ३२ क्यामेरा जडान गर्न लागिएको छ । सो कार्यका लागि नगरपालिकाले रु ५० लाख विनियोजन गरेको छ । लेलेमा समेत क्यामेरा जडान गर्ने योजना रहेको महर्जनले बताए ।

यसअघि गोदावरी-४, ५, ११ र १४ वडामा क्यामेरा जडान भइसकेको छ । यस्तै वडा नं ३ गोदावरीको बस बिसौनीदेखि कुण्डसम्म व्यक्तिगत खर्चमा ३० थान सडक बत्ती जडानको काम भइरहेको गोदावरी ज्येष्ठ नागरिक दिवा सेवा केन्द्रका अध्यक्ष राज घिमिरेले बताए ।

उनले भने, ‘कोरोना सङ्क्रमण घटेसँगै चहलपहल बढेकाले बत्ती जडान गर्न लागिएको हो ।’ कुण्ड नजिकै राष्ट्रिय वनस्पति उद्यान रहेको छ । सो क्षेत्रमा पर्यटकको चहलपहल बढ्दै जाँदा बत्ती जडान आवश्यक छ ।

गोदावरी जैविक विविधताले भरिपूर्ण पर्यटकीयस्थल हो । नेपालको मृग अध्ययन केन्द्रसमेत गोदावरीमा छ । सो क्षेत्रमा चार नारायणमध्ये माइला विशङ्खुनारायण र सतीदेवीको माथिल्लो ओठ पतन भएर उत्पति भएको सन्तानेश्वर महादेवको मन्दिरसमेत छ ।

गोदावरीमा हालै सनराइज सम्मेलन केन्द्र निर्माण गरिएको छ । यहाँ बज्रबाराही र स्वेतबाराहीको मन्दिर पनि छ । तिलेश्वर धाम, गोदावरी कुण्डका साथै सिद्धेश्वर महादेवको मन्दिरसमेत यहीँ अवस्थित छ ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?