+
+

अफगानिस्तान : तालिबानको सरकारमा आन्तरिक विवाद

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ ३० गते १२:२९

३० भदौ, काठमाडौं । अफगानिस्तानमा हालै मात्र सरकार बनाएको तालिबानभित्रै आन्तरिक विवाद देखिएको छ । बीबीसीका अनुसार नयाँ सरकारबारे तालिबानका सह संस्थापक मुल्लाह अब्दुल बरादर र मन्त्रिपरिषद्का सदस्यबीच राष्ट्रपति भवनमा विवाद भएको हो ।

यसअघि नै बरादर सार्वजनिकरुपमा देखिन छाडेसँगै तालिबानभित्रै विवाद भएको अनुमान गरिएको थियो । तर, तालिबानले भने यसलाई अस्वीकार गर्दै आएको थियो ।

तालिबानले गत महिना अफगानिस्तानलाई आफ्नो नियन्त्रणमा लिएको थियो । हालै मात्र उसले अफगानिस्तानमा नयाँ सरकारको घोषणा गरेको थियो । उसको सरकारमा सबै पुरुष मात्र सामेल छन् र अधिकांश सदस्य तालिबानसँग निकट मानिसहरु मात्र छन् ।

तालिबानका एक स्रोतले दिएको जानकारीअनुसार बरादर र शरणार्थी मन्त्री खलिल उर-रहमान हक्कानीबीच विवाद भएको हो । उनीहरुका समर्थकहरु पनि एकअर्कामाथि खनिएका थिए । कतारस्थित तालिबानको कार्यालयका एक सदस्यले पनि गत साता अफगानिस्तानको राष्ट्रपति कार्यालयमा विवाद भएको पुष्टि गरेका छन् ।

स्रोतका अनुसार नयाँ सरकारको उपप्रधानमन्त्रीसमेत रहेका बरादर सरकारको संरचनाप्रति खुसी थिएनन् । त्यसैले यो विवाद निस्किएको हो । यो विवादपछि बरादर काबुल छाडेर कन्दाहार गएका छन् । सोमबार सार्वजनिक भएको एक अडियो रेकर्डिङमा उनी यात्राको क्रममा टाढा पुगेको बताइएको थियो । ‘अहिले म जहाँ भए पनि हामी सबै कुशल छौं’, बरादरले भनेका थिए । यद्यपि यो रेकर्डिङ उनकै हो भन्ने पुष्टि हुन सकेको छैन ।

तालिबानले आधिकारिकरुपमा भने बरादरसँग कुनै किसिमको विवाद नभएको बताउँदै आएको छ । यद्यपि उनी अहिले के गरिरहेका छन् भन्ने विषयमा भने स्पष्ट जवाफ दिएको छैन । तालिबानका प्रवक्ताले उनी सर्वोच्च नेतालाई भेट्न कन्दाहार गएको बताएका छन् । तर, पुनः बोली फेर्दै उनले थकित भएकाले केही समय आराम गर्न कान्दाहार गएको बताएका छन् ।

एजेन्सीहरुको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?