+
+
पुस्तक अंश :

नेपाल भारतको ‘भाइ’ होइन

रन्जीत रे रन्जीत रे
२०७८ भदौ ३० गते १७:३७

कुराकानी गर्न मन पराउने आफ्नो बानी भएर पनि होला मैले नेपालका सबै राजनीतिक दलका शीर्षस्थ नेतालाई अनौपचारिक रुपमा नियमित भेट्ने गर्थेँ ।

राजदूत भएलगत्तै नेपाल कम्युनिष्ट पार्टी (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपाललाई कोटेश्वरस्थित उहाँको निवासमा भेटघाट गर्दै थिएँ । हामीले बनारसको लाङ्ग्रा आँस जस्तै स्वाद हुने रसिलो माल्दह आँप खाँदै थियौं र हिन्दीमा कुराकानी भइरहेको थियो ।

माधव नेपालले मलाई हेर्नु भयो र दुबै मुलुकबीचको सम्बन्धलाई भारतले भाइ-भाइको सम्बन्धको रुपमा व्याख्या गर्नुको कारण सोध्नुभयो । यस्तो सम्बन्धमा एउटा ठूल्दाई र अर्को सानो भाइ हुने गर्छन् । नेपाल सानो भाइ हुन चाहँदैनथ्यो । नेपाल भारतको मित्र मात्रै हुन चाहन्थ्यो, समान साझेदार हुन चाहन्थ्यो, न घटी न बढी ।

पक्कै पनि उहाँको मनमा तत्कालीन विदेशमन्त्री स्वर्गीय सुस्मा स्वराजले भनेको कुरा खेलिरहेको थियो । स्वराजले भारत बिग ब्रदर होइन, आफ्नो सानो भाइको ख्याल गर्ने ठूल्दाई (elder brother) हो भन्न मन पराउनुहुन्थ्यो । नेपालप्रति उहाँले देखाउनुभएको मायामा कुनै खोट थिएन तर नेपालीहरुले यसलाई संरक्षक बन्न खोजेको (patronizing) भनेर बुझे ।

काठमाडौंस्थित दशरथ रंगशालामा एउटा फुटबल प्रतियोगिता भइरहेको थियो । फुटबल भनेपछि नेपालीहरू हुरुक्कै हुन्छन् तर युवामाझ क्रिकेटको लोकप्रियता पनि बढिरहेको पाइन्छ । सन् २०१३ को सेप्टेम्बरमा भएको उक्त खेलमा भारत र अफगानिस्तान भिडिरहेका थिए । भारतीय टोली नजिकै रहेको दर्शकको भीडले धोती भन्दै भारतविरुद्ध होहल्ला र विरोध गरिरहेको थियो ।

त्यतिबेला धोती शब्द सुनेपछि भारतीय खेलाडीहरू पक्कै पनि तीनछक परे होलान् । धोती भनेको भारतीय मैदानी क्षेत्रमा बस्ने पुरुषले लगाउने पोशाक हो र यो साँस्कृतिक एवं जातीय हिसाबले पहाडी समुदायभन्दा पृथक तराईमा बस्ने मधेशी समुदायलाई अपमान गर्नका लागि प्रयोग हुने आम शब्द पनि हो ।

मधेशीहरू उत्तर प्रदेश र बिहारका मानिस जस्ता देखिन्छन् । यदि भारत र अन्य तेस्रो मुलक (पाकिस्तान नै किन नहोस्) बीच खेल भएमा तेस्रो मुलुकलाई समर्थन गर्ने उपत्यकाको आम प्रचलन नै बनेको छ ।

म आफ्नो कार्यकालको सुरूमा काठमाडौंको मुटुमा अवस्थित हनुमान ढोकातर्फ झण्डासहितको गाडीमा जाँदै थिएँ । हामीले न्यूरोड नजिकै पुगेपछि ‘बुद्ध वाज बर्न इन नेपाल’ लेखिएका टि-शर्ट लगाएका युवायुवतीहरूको भिड देख्यौं । नेपालको लुम्बिनीमा बुद्ध जन्मेको कुरा ऐतिहासिक तथ्य हो । प्रदर्शन नजिकै पुग्न लागेपछि मेरा सुरक्षा अधिकारी केही आत्तिए । हामी तत्कालै फर्कनु पर्ने नत्र अवस्था खराब हुन सक्ने उनको भनाइ थियो । र हामीहरू फर्कियौं ।

बुद्ध लुम्बिनी (नेपाल) मा जन्मेको तथ्यलाई जन प्रदर्शनमार्फत् नेपालले किन जोड दिइरहेको छ भनेर म निकैबेर घोत्लिएँ । यो विषय नेपालमा किन संवेदनशील विषय बनिरहेको छ ? यदि कुनै भारतीयले भारत नै बुद्ध भूमि हो र भारतमै बुद्ध जन्मेको भन्यो भने नेपालमा विरोध प्रदर्शन हुन्छ ।

सन् २०२० को अगस्टमा विदेशमन्त्री एस. जयशंकरले कन्फेडेरेशन अफ इन्डियन इन्डष्ट्रीद्वारा आयोजित वेबिनारमा भारतका दुई महान व्यक्तित्वमध्ये बुद्ध एक भएको एउटा (निर्दोष) टिप्पणीपछि नेपालमा ठूलै प्रदर्शन भएको थियो । बुद्ध भारतीय नभएको नेपालीहरूको दाबी थियो ।

बौद्धिक, पूर्व-कर्मचारी र पूर्व प्रधानमन्त्रीले समेत उक्त टिप्पणी गलत भएको बताए । नेपालको परराष्ट्र मन्त्रालयले ‘नेपालको लुम्बिनीमा गौतम बुद्ध जन्मेको कुरा स्थापित र अखण्डनीय तथ्य भएको’ भन्दै आधिकारिक वक्तव्य जारी गर्‍यो । उक्त वक्तव्यमा लुम्बिनी बुद्ध धर्मको जग भएको उल्लेख थियो । वक्तव्यले सन् २०१४ मा नेपालको संविधानसभामा प्रधानमन्त्री नरेन्द्र मोदीले विश्व शान्तिका प्रणेता बुद्ध नेपालमा जन्मिएको भनेर गरेको भाषणतर्फ समेत संकेत गरेको थियो ।

भारतीय विदेश मन्त्रालयले गौतम बुद्ध नेपालमा जन्मेको कुरामा कुनै शंका नभएको र विदेशमन्त्रीले भारत र नेपालबीच रहेको बुद्ध धर्मको साझा विरासत/सम्पदालाई औंल्याउन खोजेको भन्दै उत्पन्न परिस्थितिलाई थप चर्किन दिएन ।

बुद्ध नेपालमा जन्मिएको भनेर नेपालले निकै गौरव गर्छ र यो राष्ट्रिय पहिचानसँग जोडिएको छ । भारतले यो विरासतलाई छिन्ने/कब्जा गर्ने प्रयास गरेको बुझाइका कारण नेपालले यसको कडा विरोध गर्दै आएको छ ।

हालैको एउटा घटनाले समेत आफ्नो साँस्कृतिक पहिचान भारतको भन्दा फरक रहेको भनेर जोड दिने वा देखाउने नेपालको आकांक्षा प्रस्ट रूपमा प्रतिबिम्बित गर्छ । गत वर्ष प्रधानमन्त्री केपी शर्मा ओलीले रामायणलाई नेपालीमा अनुवाद गरेका आदिकवि भानुभक्तको जन्मजयन्तीका अवसरमा बोल्दै भारतले आफ्नो भूमिमा नक्कली अयोध्या खडा गर्न ऐतिहासिक र साँस्कृतिक तथ्य बङ्ग्याउन खोजेको बताएका थिए । वास्तविक अयोध्या नेपालको वीरगंजमा रहेको उनको दाबी थियो ।

‘हामी अहिले पनि भ्रममा छौं- हामीले भारतका राजकुमार रामलाई सीता दियौं भनेर’, ओलीले भनेका थिए, ‘तर, भारतका राजकुमारलाई होइन, सीता अयोध्याका रामलाई दिएका हौं ।’ त्यतिबेला सञ्चार र यातायातको कुनै साधन नभएकाले निकै टाढा रहेको भारतको अयोध्याका राजकुमार जनकपुर आउन नसक्ने उनको तर्क थियो ।

नेपालका कैयौं नेताले उनको अभिव्यक्तिको आलोचना गरे । तर ओलीको भनाइले अति राष्ट्रवादी सोचको प्रतिनिधित्व गर्छ र यही सोचमार्फत् उनले नेपाल र भारतलाई जोड्ने प्राचीन साँस्कृति एवं ऐतिहासिक सम्बन्धलाई इन्कार गरिरहेका छन् ।

त्यसैगरी, अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा यसै वर्षको जुन २१ मा ओलीले भारतबाट नभई नेपालबाट योगको सुरुवात भएको दाबी गरे । अर्को कुरा, ओलीका पुर्खा कुमाइ ब्राह्मण उत्तराखण्डको काली कुमाऊ क्षेत्रबाट आएका हुन सक्ने सम्भावना धेरै देखिन्छ ।

मैले उल्लेख गरेका यी किस्साले नेपालको सत्तासीन सम्भ्रान्त वर्ग बस्ने काठमाडौं उपत्यकाको मनोविज्ञानलाई झल्काउँछन् । नेपालको राजनीतिमा यही उपत्यकाको वर्चश्व/प्रभाव बढी छ । विगतमा/कुनै समय यही उपत्यकालाई नै नेपाल भनेर चिनिन्थ्यो ।

यो मनोविज्ञान वामपन्थी तथा कम्युनिष्ट शक्तिभित्र बढी व्याप्त देखिन्छ भने नेपाली काँग्रेस जस्ता लोकतान्त्रिक शक्तिमा कम छ । तराईकेन्द्रित शक्तिभित्र यस्तो मनोविज्ञान कत्ति पनि देखिँदैन । तर, यस्तो मनोविज्ञान नेपाली युवायुवतीमाझ पनि बढिरहेको छ र यसप्रति भारत संवेदनशील हुनुपर्छ ।

कुनै पनि दुई मुलुकबीच कायम हुने सम्बन्धमध्ये नेपाल-भारत सम्बन्ध सबैभन्दा घनिष्ट र जटिल सम्बन्ध पनि हो । हामीलाई जोड्ने हरेक कुरा (जस्तै- धर्म, सँस्कृति, परम्परा, भाषा, पारिपारिक सम्बन्ध) ले तनाव समेत निम्त्याउँछन् । हरेक हिन्दूले पूजापाठपूर्व गर्ने धार्मिक संकल्पमा समेत नेपाललाई भारतखण्ड भनेर उल्लेख गरिएको छ ।

भारतीयहरूले साँस्कृतिक समानता रहेको भन्दा नेपालीहरू आक्रोशित हुन्छन् वा यस्तो कुरा मन पराउँदैनन् । र, यी विषयलाई बारम्बार उठाइरहँदा/गिजोलिरहँदा प्रत्युत्पादक बन्न सक्छ ।

आफ्नो मौलिक पहिचानसम्बन्धी नेपालको धारणा के हो ? यो कसरी भारतभन्दा भिन्न छ ? आकार तथा जनसंख्या निकै फरक भएको र तीनतिरबाट भारतले घेरिएको अवस्थाका कारण रक्षात्मक/त्रसित मानसिकता (siege mentality) र यसबाट मुक्त हुने आकांक्षा जन्मिएको हो/हुन सक्छ ।

साथै, नेपालीहरूले भारतमाथिको अत्यधिक निर्भरतालाई मन पराउँदैनन् । यही कारण, उनीहरूले भूगोलको कुरा उठाउँछन् वा आफ्नो भूगोलमाथि गर्व गर्छन् ।

नेपालले आफ्नो राष्ट्रिय पहिचानका लागि दाबी गर्ने दुईवटा अद्वितीय कुरामा बुद्धको जन्मस्थल र विश्वकै सर्वोच्च शिखर सगरमाथाको देश हुन् । तर दुबै सम्पदा साझा हुन्- बुद्धको जन्मस्थल साझा बौद्ध विरासतले गर्दा भारतसँग र सगरमाथा भूगोलका कारण चीनसँग जोडिएको छ ।

(नेपालका लागि पूर्व भारतीय राजदूत रन्जीत रेको किताब ‘काठमाण्डु डिलेमा: रिसेटिङ इन्डिया-नेपाल टाइज’ बाट साभार गरिएको । द प्रिन्टमा प्रकाशित उक्त अंशलाई अनलाइनखबरले भावानुवाद गरेको हो ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?