
३१ भदौ, काठमाडौं । अफगानिस्तानको जुनियर महिला फुटबल टोली पाकिस्तान आइपुगेका छन् ।
गत महिना तालिबानले अफगानिस्तानमा कब्जा जमाएसँगै महिला जुनियर टोलीका खेलाडीहरु अफगानिस्तानमा लुकेर बस्दै आएका थिए । उनीहरुसँग पासपोर्ट र अन्य कागजात नभएको कारण उनीहरुले मुलुक छाड्न पाएका थिएनन् ।
‘फुटबल फर पिस’ नामक च्यारिटीको सहयोगमा ३२ खेलाडी र उनीहरुका परिवारले पाकिस्तानको भिसा पाएका हुन् । पाकिस्तानको फुटबल फेडेरेसनका अधिकारीले समग्रमा ८१ जना मानिसहरु पाकिस्तान आइपुगेको र उनीहरुलाई लाहोरमा फेडेरेसनको मुख्यालयमा राखिएको बताएका छन् । उनका अनुसार थप ३४ जना मानिसहरु बिहीबार आइपुग्नेछन् ।
खेलाडीहरुलाई ३० दिनसम्म कडा सुरक्षाका बीच राखिनेछ । त्यसपछि उनीहरुले आश्रयको लागि तेस्रो मुलुकमा आवेदन दिन सक्नेछन् ।
हालै मात्र अफगानिस्तानका युवा खेलाडीले पाकिस्तानी प्रधानमन्त्री इमरान खानलाई पत्र लेख्दै तत्काल मुलुक प्रवेशको लागि अनुमति दिन आग्रह गरेका थिए । पत्रमा उनीहरुले तालिबानबाट आफूहरुलाई निकै ठूलो जोखिम रहेको उल्लेख गरिएको थियो ।
एजेन्सीहरुको सहयोगमा
प्रतिक्रिया 4