+
+

भित्रिएको एक वर्षसम्म पार्किङमै थन्कियो रेल

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज २ गते २०:१०

२ असोज, काठमाडौं । जनकपुरको कुर्थाबाट जयनगरसम्म चलाउन भनेर नेपालमा रेलभित्र भित्र्याएको शनिबार एक वर्ष पुगेको छ । भारतले विस्तार गरिदिएको ब्रोडगेज रेलमार्गको हाइ स्पिड (उच्च गति) परीक्षण भइसक्दा पनि करिब एक अर्बमा किनेर ल्याएको रेल चलाउन सरकारले चासो दिएको छैन ।

२०७७ असोज २ गते नेपाल आएका रेलहरु अहिले धनुषाको इनर्वामा खुला आकाशमुनि पार्किङमा छ । रेललाई सुरक्षित गर्न लगाइएको त्रिपाल फटेर धुजा-धुजा भइसक्दा पनि रेलले सेवा दिन थालेको छैन ।

नेपाल रेल्वे कम्पनीले जिम्मा पाएपनि कहिले कर्मचरी त कहिले कानुनको अभावको कारण देखाएर रेल चलाइएको छैन । पार्किङमा राख्दा रँखै नयाँ रेलमा खयिा लाग्न थालिसकेको छ ।

करसहित करिब १ अर्ब बढी रकम खर्चेर ल्याएको रेल तत्कालकै अवस्थामा चल्न नसक्ने भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका अधिकारीहरु बताउँछन् ।

सरकारले ल्याएको रेल्वे अध्यादेश संसदमा टेबल भएपनि पास नहुँदै निष्क्रिय बनेको छ । केपी ओली नेतृत्वको तत्कालीन सरकारले रेल चलाउने वातावरण बनाउन राष्ट्रियसभाले संशोधन गरेको रेल्वे विधेयकको मस्यौदालाई रेल्वे अध्यादेशका रुपमा ल्याएको थियो ।

कानुनको अभावमा रेल चलाउन नसकिने भएपछि संसद विघटनपछि ओली नेतृत्वको सरकारले संसदमा पेश भएकै विधेयकलाई कानूनमा रुपमा अध्यादेश बनाएर जारी गरेको थियो ।

रेल चलाउन नेपाल रेल्वे कम्पनीले भारतबाट प्राविधिक जनशक्ति ल्याउन समझदारी गरिसकेका । ज्यालादारीमा करिब २०० कर्मचारी भर्ना गरिए पनि तत्काल रेल चल्ने अवस्था नहरेको भन्दै कम्पनीले ती ज्यालादारी कर्मचारीलाई हाजिरीमा रोक लगाएर सेवाबाट हटाएको छ ।

अन्तरदेशीय रेलमार्ग भएकाले भारत पनि रेल चलाउन सहमत हुनुपर्छ । स्पिड टेस्ट सकिएकाले अब भारतले विस्तारित रेलमार्गको हस्तान्तरण गर्नुपर्ने हो । रेल सञ्चालनका लागि स्टान्डर्ड अपरेटिङ प्रोसिड्योर पनि दुई देशबीच आदानप्रदान हुनुपर्छ । महामारीकालमा रेल चलाउने प्रोटोकल पनि आवश्यक पर्ने अवस्था छ ।

भौतिक पूर्वाधार मन्त्रालयका सचिव रवीन्द्रकुमार श्रेष्ठ रेल चलाउन सकिने अवस्था भ्एपनि केही तयारीको काम बाँकी रहेको बताउँछन् । ‘मन्त्रालयमा मन्त्रीज्यु नियुक्त भएर आउनुभएपछि आवश्यक कानुनी व्यवस्थासहितका तयारी अघि बढाउँछौं,’ उनले भने,‘अहिले पनि कम्पनीले आपनो तवरबाट काम गरिरहेको छ ।’ उनले भाडा तय गर्ने सहितका काम सकिएको बताए ।

भारत सरकारले करिब ९ अर्ब रुपैयाँको लगानीमा जनगरबाट बर्दिबाससम्म रेलमार्ग बनाउने जिम्म लिएको छ । जनकपुरसम्मको ब्रोडगेज रेलमार्ग तयार भएको तीन वर्ष बितिसक्यो । तर, किनेको रेल समेत चलाउन सकस परेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?