+
+

नियमित मासु खान्छु, ढिँडो असाध्यै मनपर्छ : दुर्गेश थापा

सुशील नेपाल सुशील नेपाल
२०७८ असोज ३ गते १८:३२

‘हामी पनि नाच्नुपर्छ बिच्च-बिच्चमा’, ‘डन आयो’, ‘ख्यास्स पुतली’ जस्ता गीतबाट केही वर्षयता उनी चर्चाको उत्कर्षमा छन् । चर्चा मात्र होइन, उनी उत्तिकै विवादित पनि छन् । गीत सार्वजनिक गर्दा होस् वा कुनै अन्तर्वार्तामा, उनी विवादमा पर्ने गर्छन् । यद्यपि आफ्नो संगीत-सिर्जनामा अटुट लागिरहेका छन् ।

खासमा दुर्गेशले मोडलिङबाट करिअर शुरुवात गरेका हुन् । मोडलिङमै ख्याति कमाएका उनी गायकीबाट भने चर्चामा आए । सुकिला-मुकिला दुर्गेश पहिरनप्रति उत्तिकै सचेत छन् । सधै हँसिलो देखिन्छन् । स्वस्थ र तन्दुरुस्त पनि । उनको दिनचर्या, खानपान र जीवनशैलीबारे अनलाइनखबरले कुराकानी गरेको छ ।

बिहान कतिबजे उठ्नुहुन्छ ? उठ्ने समय एउटै हो वा फरक हुन्छ ?

म बिहान ५ बजे उठ्छु । यो मेरो नियमित उठने समय हो । म रातिको २ बजे सुते पनि ५ बजे उठेकै हुन्छु ।

उठ्नसाथ के गर्नुहुन्छ ? मोबाइल चलाउनुहुन्छ वा पूजापाठ गर्नुहुन्छ ?

पहिला तातोपानी पिउँछु । त्यसपछि फ्रेस हुन्छु ।

फ्रेस भइसकेपछि के गर्नुहुन्छ ?

हल्का ब्रेकफास्ट गर्छु । बोइल अण्डा-चना खाएपछि जिम जान्छु ।

जिम नियमित जानुहुन्छ ?

सुटिङ जानुपर्ने छ भने घरमै वर्कआउट गर्छु । नत्र नियमित १ घण्टा जिममा बिताउँछु ।

बिहानको खाना कति बजे खानुहुन्छ ?

बिहान ११ बजेदेखि १२ बजेभित्र ।

कस्तो खाना खान रुचाउनुहुन्छ ?

खानामा दाल, भात, तरकारी मनपर्छ । खाना खाँदा मलाई चिकेन चाहिं नियमित चाहिन्छ । धेरै नभए पनि नियमित चिकेन खान्छु ।  ढिंडो पनि असाध्यै मनपर्छ ।

घरमा खाना कसले बनाउनुहुन्छ ?

प्रायः श्रीमतीले बनाउँछिन् । कहिलेकाहीं म आफैं पनि बनाउँछु ।

तपाईंलाई खाना बनाउने जाँगर चल्छ ?

मलाई खाना एकदमै मीठो बनाउन आउँछ । जाँगर पनि चल्छ । दाल, भात, तरकारी, मासु, रोटी प्रायः सबै खानेकुरा पकाउन आउँछ ।

आफैंले बनाएको मीठो लाग्ने खानेकुरा चाहिं कुन हो ?

मलाई आफैंले बनाएको मासु सबैभन्दा मीठो लाग्छ ।

बाहिर रेष्टुरेन्टमा मीठो कि घरमा बनाएको ?

घरकै मीठो लाग्छ ।

एकदमै भोक लागेको तर खाना खाने अनुकूलता नमिलेको त्यस्तो क्षण छ ?

संघर्षको समयमा त त्यस्ता क्षण धेरै छन् । कोरस नाच्दाखेरि चाउचाउ, चिउरा खाएर धेरै गीतहरुमा काम गरेको क्षण प्रशस्त छन् । त्यो आर्थिक स्थितिले गाह्रो अवस्था थियो । अहिले सुटिङ, स्टेजतिर जाँदा भोक लागे पनि खाने अनुकूलता नमिलिरहेको क्षण धेरै हुन्छ ।

घरमा अरु काम जस्तो, कुचो लगाउने, सरसफाइ गर्ने, भाँडा माझ्ने, लुगा धुने काम कत्तिको गर्नुहुन्छ ?

ती कामहरु पनि गरिरहेको हुन्छु । श्रीमती सुत्केरी हुँदा लुगा धुनेदेखि खाना पकाउने, भाँडा माझ्ने, पोछा लगाउने लगायतका सबै कामहरु आफैं गरेको हुँ ।

घरबाट बाहिर निस्कनुअघि ड्रेसअपमा कति समय लाग्छ ?

१० मिनेटमा तयार हुन्छु ।

 बाहिर हिँडडुल गर्दा कस्तो लुगाफाटो सहज लाग्छ ?

सामान्य हिसाबले हिँडदा खुल्लाखाले टिसर्ट, ट्राउजरमा कन्फर्टेबल लाग्छ । रेकर्डिङ स्टुडियोमा पनि त्यस्तै कपडामा गइरहेको हुन्छु । कार्यक्रम, अवार्डहरुमा कपडाको पाइन्ट, सर्ट, कोट, पार्टी सुज लगाउने गर्छु ।

कस्तो रंगको कपडा बढी लगाउनुहुन्छ ?

ठ्याक्कै यस्तो भन्ने छैन । रातो, कालो, नीलो रंगको कपडा बढी लगाउँछु ।

कपडामा कति सौखिन हुनुहुन्छ ?

नयाँ-नयाँ कपडा लगाउनमा सौखिन छु । चाहे त्यो फुटपाथ होस्, चाहे ब्राण्डेड पाइने ठाउँ, मलाई राम्रो देख्यो कि किनिहाल्ने बानी छ । आफूलाई सुहाउँछ भने जहाँ पनि किन्छु ।

तपाईं कस्तो सवारी साधन प्रयोग गर्नुहुन्छ ?

कलाकारितामा लागेर केही कमाउने भएपछि शुरुमा पल्सर बाइक चढें । त्यसपछि सुजुकी कार किनें । विगत तीन वषदेखि क्रेटाको कार चढदै आएको छु ।

दिन कसरी बित्छ ?

प्रायः सुटिङ परिरहेको हुन्छ । कहिले रेकर्डिङ, कहिले मिटिङमै दिन बितिरहेको हुन्छ ।

गीत त प्रायः आफ्नो मात्र गाउनुहुन्छ । भिडियोमा भने अरुकोमा पनि मोडलिङ गरिरहनुभएको हुन्छ ? दिनमा बढीमा कतिवटासम्म भिडियोमा अभिनय गर्नुभएको छ ?

केही वर्ष पहिले तीजको बेला दिनमै ३ वटासम्म भिडियोमा अभिनय गरेको छु । अहिले त त्यसरी काम गर्न मन लाग्दैन । अहिले क्वान्टिटीभन्दा क्वालिटीमा ध्यान दिऔं भन्ने लाग्छ । अहिले २ दिनसम्म लम्बिएको बरु हुन्छ, एक दिनमा एउटाभन्दा भिडियो गरेको छैन ।

एउटा भिडियो खेलेको पारिश्रमिक कति लिनुहुन्छ ?

१ लाख रुपैयाँ भन्दा बढी लिन्छु । कुनैमा गीतको क्वालिटी, कलाकार, टीमले भने अर्थ राख्छ । कुनै लगानीकर्ताहरुको अवस्था हेरेर केही सस्तोमा समेत काम गर्नुपर्ने हुन्छ । ठ्याक्कै यति भन्ने चाहिं हुँदैन ।

दिनमा कति रुपैयाँ खर्च हुन्छ ?

२–३ हजार हरेक दिनजसो भइरहेको हुन्छ ।

बढी केमा खर्च हुन्छ ?

पेट्रोलमा बढी खर्च भइरहेको हुन्छ ।

साँझ कति बजे घर फर्कनुहुन्छ ?

९ देखि १० बजेभित्र फर्किसकेको हुन्छ । बाबु सानो भएकाले काम चाँडो सकियो भने बेलुका चाँडो घर जाउँ जस्तो लाग्छ ।

मदिरापान कत्तिको गर्नुहुन्छ ?

नभई नहुने होइन । साथीहरु बसेर पिऔं भन्‍यो भने पिउँछु । मदिरामा लत नै चाहिं छैन ।

रातिको खाना कति बजे खानुहुन्छ ?

रातिमा खाना म खासै खाँदिन । फलफूलहरु खाइरहेको हुन्छ । दाल चाहिं एक कचौरा पिउँछु ।

कति बजे सुत्नुहुन्छ ?

घर फर्किसकेपछि केही समय इन्टरनेटमा बिताउँछु । फेसबुक, युट्युब, टिकटक साँझ सुत्नु अगाडि हेरेकै हुन्छु । सुत्दा त्यही रातिको ११ बज्छ ।

लेखकको बारेमा
सुशील नेपाल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?