+
+

नेपालका हात्तीलाई आहार र वासस्थानको अभाव

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज ४ गते १८:४९

४ असोज, काठमाडौं । नेपालमा हात्ती संरक्षणका लागि सरोकार पक्षले तत्काल आवश्यक रणनीति र कार्यक्रम नबनाउने हो भने छिट्टै लोप हुनसक्ने चेतावनी विज्ञहरुले दिएका छन् । वासस्थान घट्दै जानु र आहारको कमीले हात्तीको संख्या घट्ने विज्ञहरु बताउँछन् । वासस्थान र आहारको कमीले मान्छे र हात्तीबीच द्वन्द्व बढाउने उनीहरुको भनाइ छ ।

विज्ञहरुका अनुसार नेपालको तराई क्षेत्रमा रहेको सबै निकुञ्ज आरक्षमा हात्तीको वासस्थान र आवतजावत हुने गरेको पाइन्छ । एउटा हात्तीलाई कम्तिमा २५० वर्गकिमिको क्षेत्र आवश्यक पर्ने हुन्छ । त्यो क्षेत्र घट्दै जाँदा र सानो क्षेत्रफलमा धेरै हात्ती बस्ने बाध्यताले नजिकै रहेको मानव बस्तीमा हात्ती पस्न थालेको उनीहरुको बुझाइ छ ।

विज्ञहरु भन्छन्, ‘हात्तीले खानाको लागि, प्रजानन् समागमका लागि र पुर्खा हिँड्ने बाटो भए त्यसलाई पहिल्याउँदै हिँड्ने गर्दछ । यसरी हिँड्ने क्रममा बाटोमा भएको मानव बस्ती, खेत खलियान बिगार्दै हिँडेको पाइन्छ । पूर्वको कोही टप्पु आरक्षमा अर्नासँगै १९ वटा जंगली हात्ती रहेको तथ्यांक छ । कुल १७५ वर्ग किलोमिटर क्षेत्रफल रहेको कोही टप्पुमा १९ वटा हात्ती हुनु भनेको मानव–वन्यजन्तुको द्वन्द्वको मुल कारण हो । यस्तो द्वन्द्वमा मानवीय क्षति मात्र होइन, वन्यजन्तु पनि दुर्घटनामा पर्ने, मारिने– मर्ने जोखिम हुन्छ । मानव–हात्ती द्वन्द्व कम गराइ आरक्ष क्षेत्रको दिगो विकास गर्न सरकारले तुरुन्त रणनैतिक योजना बनाएर काम गर्न आवश्यक छ ।’

कोशी टप्पु वन्यजन्तु आरक्षका प्रमुख संरक्षण अधिकृत अशोक रामले कोशी टप्पुको संरक्षण, विस्तार र विकाशको लागि स्थानीय सरकार र प्रदेश सरकारले पनि भूमिका खेल्नुपर्ने बताए ।

राष्ट्रिय प्रकृति संरक्षण कोषका अध्यक्ष डा. कृष्णप्रसाद ओलीले नेपालमा रहेका संरक्षण क्षेत्रको संख्या र स्थानबारे अध्ययन हुन आवश्यक रहेको बताए ।

संरक्षित क्षेत्रलाई मानवबस्ती र खेतीगर्ने जमिन घेर्दै जाने र अनावश्यक घुसपैठले मानव–वन्यजन्तु द्वन्द्व बढाइरहेको डा. ओलीले बताए । संरक्षित क्षेत्रको क्षमता तथा विस्तार र वन्यजन्तु स्थानान्तरणबारे विद्यमान कानूनी व्यवस्थालाई संसोधन गरेर अगाडि बढ्नुपर्ने आवश्यक्ता रहेको डा. ओलीको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?