+
+
Shares

‘कृष्णप्रसाद’लाई मात चढेपछि…

मात चढेपछि कृष्णप्रसाद अहिले शारीरिक रूपमा दुब्लो र निकै कमजोर देखिएको छ । उसको स्याहारका लागि तीन जना माहुते खटिएका छन् ।

सुवास पण्डित सुवास पण्डित
२०८३ साउन ७ गते १३:३७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • चितवन राष्ट्रिय निकुञ्जको भाले हात्ती कृष्णप्रसादलाई ‘मात’ चढेपछि सुरक्षा सावधानीस्वरूप पूर्वी नवलपरासीको दिव्यपुरी पोस्टमा खुट्टामा बाँधेर विशेष निगरानीमा राखिएको छ ।
  • निकुञ्जका पशु प्राविधिक तीर्थ लामाका अनुसार टेस्टोस्टेरोन हर्मोनको मात्रा अत्यधिक बढ्दा हात्ती आक्रामक र हिंस्रक बन्ने भएकाले उसलाई टाढैबाट खाना र पानी खुवाउने व्यवस्था गरिएको छ ।
  • २२ वर्षीय कृष्णप्रसाद नेपालको पहिलो जुम्ल्याहा हात्ती रामगज र लक्ष्मणगजको दाइ हो र यसको ‘मात’ सामान्यतया १० देखि १५ दिनसम्म रहने गर्दछ ।

७ साउन, चितवन । चितवन राष्ट्रिय निकुञ्जमा निकुञ्जका कर्मचारी तथा प्राविधिकहरूलाई ओसारपसार गर्ने भाले हात्ती कृष्णप्रसादलाई ‘मात’ चढेपछि खुट्टामा बाँधेर राखिएको छ । निकुञ्जको पूर्वी नवलपरासीस्थित दिव्यपुरी पोस्टमा कृष्णप्रसादलाई बाँधेर विशेष निगरानीमा राखिएको हो ।

निकुञ्जका पशु प्राविधिक तीर्थ लामाका अनुसार भाले हात्तीमा ‘मात’ आउने बेला टाउकोको दुवैपट्टि रहेको टेम्पोरल ग्रन्थीबाट विशेष प्रकारको तरल पदार्थ निस्कन्छ । यस अवधिमा शरीरमा टेस्टोस्टेरोन हर्मोनको मात्रा अत्यधिक बढ्ने भएकाले हात्ती निकै आक्रामक बन्ने गर्छ । यस्तो अवस्थामा उसले पोथी हात्ती खोज्दै भौतारिने, अगाडि जे पर्छ त्यसलाई आक्रमण गर्ने तथा विध्वंस मच्चाउने व्यवहार देखाउँछ ।

करिब एक साताअघि मात आएको कृष्णप्रसादले आफ्नै माहुतेमाथि आक्रमण गर्न थालेपछि सुरक्षा सावधानीस्वरूप बाँधेर राखिएको निकुञ्जका पशु प्राविधिक लामाले बताए । उनका अनुसार मात आएको बेला भाले हात्तीहरू निकै चिडचिडे, आक्रामक र हिंस्रक बन्छन् । यस अवधिमा लिंगबाट निरन्तरजस्तै पिसाब चुहिने पनि गर्छ ।

‘यसको नजिक कोही जान सक्दैन । खाना खुवाउन जानसमेत मुस्किल छ । आफ्नो स्याहार गर्नेहरूलाई त हानेर मार्लाजस्तो गर्छ, अरूलाई त देख्न पनि सक्दैन,’ लामा भन्छन्, ‘मात नसकिञ्जेल यसलाई यसरी नै राख्नुपर्ने हुन्छ ।’

उनका अनुसार भाले हात्तीमा सामान्यतया १० देखि १५ दिनसम्म मात रहन्छ । यस अवधिमा उनीहरूले खासै खाना खान रुचाउँदैनन्, शारीरिक रूपमा कमजोर देखिन्छन् र उनीहरूको मुख्य खोजी पोथी हात्ती नै हुन्छ । भाले हात्तीमा वर्षमा एक–दुई पटक मात आउने गर्दछ ।

लामाका अनुसार कृष्णप्रसादलाई यसअघि पनि मात आएको थियो, तर यसपटकजस्तो आक्रामक व्यवहार देखिएको थिएन ।

‘ऊ धेरै समझदार हात्ती हो । मैले धेरै पटक यसलाई लिएर बाघ र गैँडाको अनुसन्धान तथा डार्टिङमा गएको छु । अग्लो, निडर र भरपर्दो हात्ती हो,’ उनले भने ।

मात आएपछि कृष्णप्रसाद अहिले शारीरिक रूपमा दुब्लो र निकै कमजोर देखिएको छ । उसको स्याहारका लागि तीन जना माहुते खटिएका छन् । तर उनीहरूलाई नजिक पर्न दिँदैन । माहुतेको आदेशसमेत मान्दैन । त्यसैले टाढैबाट खाना दिने र पाइपमार्फत पानी खुवाउने व्यवस्था गरिएको छ ।

२३ साउन २०६१ सालमा जन्मिएको कृष्णप्रसाद अहिले २२ वर्षको पूर्ण वयस्क हात्ती हो । यो नेपालकै इतिहासमा जन्मिएका दुर्लभ जुम्ल्याहा हात्तीका छावा रामगज र लक्ष्मणगजको दाइ हो । नेपाल राष्ट्र बैंकले जारी गरेको एक हजार रुपैयाँको नोटमा रामगज र लक्ष्मणगजको तस्बिर छापिएको छ ।

कृष्णप्रसाद, रामगज र लक्ष्मणगजकी आमा देवीकली हुन् भने बुबा प्रसिद्ध जंगली हात्ती रोमियो हो ।

लेखक
सुवास पण्डित

पण्डित अनलाइनखबर डटकमका चितवन संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?