७ साउन, विराटनगर । मोरङको कानेपोखरी गाउँपालिका–७ स्थित जङ्गलमा पैदल यात्रीलाई ठक्कर दिएर फरार भएको सवारी साधन सरकारी भएको खुलेको छ ।
आइतबार पूर्व-पश्चिम राजमार्गमा बा २ झ २२२६ नम्बरको गाडीले ठक्कर दिँदा पथरीशनिश्चरे–१० का ६० वर्षीय गोविन्द लिम्बू गम्भीर घाइते भएका थिए । उपचारका क्रममा उनको मृत्यु भएको थियो ।
जङ्गल क्षेत्रमा दुर्घटना भएका कारण प्रहरीले तत्कालै ठक्कर दिने सवारी भेट्टाउन सकेन् । चारदिनको अनुसन्धानपछि ‘हिट एन्ड रन’ घटनामा संलग्न सवारी र चालक पक्राउ परेको मोरङ प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) मकेन्द्रकुमार मिश्रले जानकारी दिए ।
प्रहरीका अनुसार दुर्घटनापछि भागेको गाडीको अगाडिपट्टीको भाइजरको टुक्रा सडकमा भेटिएको थियो । दुर्घटनास्थलमा भेटिएको पाटपुर्जाका आधारमा प्रहरीले राजमार्गको सीसी क्यामेरा अध्ययन गरेको थियो । सोही क्रममा उक्त गाडी सुनसरीको इटहरीस्थित ‘हेभी इक्विपमेन्ट सडक विभाग’ को रहेको पुष्टि भयो ।
त्यसपछि प्रहरी टोली बुधबार राति १० बजे इटहरीस्थित विभागकै कार्यालयमा पुगेको थियो । खानतलासी गर्दा कार्यालय परिसरमा लुकाइराखेको अवस्थामा सरकारी गाडी फेला पारेको हो ।
दुर्घटना गराएर फरार रहेका चालक सिराहा सुखीपुर–८ का ४४ वर्षीय राम उद्गार मण्डललाई पनि प्रहरीले नियन्त्रणमा लिएको प्रहरी प्रवक्ता मिश्रले जानकारी दिए ।
पक्राउ परेका चालक मण्डलविरुद्ध सवारी ज्यान मुद्दाअन्तर्गत कानुनी प्रक्रिया अघि बढाइएको मोरङ प्रहरीले जनाएको छ ।
प्रतिक्रिया 4